जय गहना ! जय वस्त्र !! जय वर्तन !!!
नमस्कार हजुर। जय मनाएँ।
हो हजुर, हजुर मेरो रोलमोडल। कलियुगकी देवी, साक्षत लक्ष्मी हजुर। साक्षत सरस्वती हजुर। मैले हजुरका राम्रा गहना देखेँ। धेरै र ठूला ठूला गहना पनि देखेँ। एउटै गहना दुईदुई तीनतीनवटा पनि देखेँ। आज यहाँलाई भेटेर उत्पात खुसी लागेको छ। यहाँलाई देखेर झन उत्पात भएको छ। यहाँको बौद्धिकताको चाहिँ कुरा नगरुँ। बरु गहनाकै कुरा गरुँ। मान्छे ठूलो र राम्रो बनाउने त गहना नै हो नि है। अरू कुरा त जोसँग पनि भइहाल्छ नि। हजुरले जस्तो गहना लाउने हैसियत कहाँ सबैसँग हुन्छ र ! यतिको गहना लाउने हैसियत भएपछि नाथे कला, प्रतिभा, सेवा, आविष्कार अनि बनाउने हैसियत पनि बनाइराख्नुपर्छ र ? कला साहित्यको अलङ्कार पनि त गहनै हो नि। अलङ्कार पण्डितका पालामा हजुरको जस्तो गहना लाउने चलनै थिएन र पो। नत्र त त्यसैबेला हजुरलाई अलङ्कारको उपमा बनाइदिन्थे।
मैले भनेँ नि हजुर। म यहाँलाई देखेर र भेटेर उत्पात खुसी छु। यहाँलाई चिनेदेखि नै धन्य भएकी छु। अहा ! यहाँका गहना कति राम्रा ? कति पनि राम्रा गहना ! कति ठूला गहना ! कति पनि ठूला गहना ? कति धेरै गहना ! कति पनि हुन सकेका गहना ? हजुर जति भाग्यमानी त संसारमै कोही नहोला है। हजुरका सिर्जना र समाजसेवाको कुरा त यी गहनाले नै गरिहाले नि। मैले के गरिरहनू र ?, हैन त हजुर। अरूको सेवा गर्नुहुन्छ र पो यतिका गहना जुर्छन्। त्यसै जुर्ने भए हरेकले लाइहाल्थे नि। आफूलाई एउटा फुली त जुरेन, कि कसो ?
म के भनूँ हजुरलाई। म गहना लाउन नसक्ने मान्छे। हजुरसँग बोल्न सङ्कोच लागेर पनि बोल्न खोज्ने मान्छे। आफू यस्ता गहना देख्न नपाएको मान्छे ! गहना किन्न त के चिन्न नि नसकेको मान्छे ! दुःखमा पनि हजुरका गहना देखेर सन्तुष्ट मान्छे। हजुर गहना लाउन सक्ने मान्छे। यहाँसँग अरू विषयको कुरा के गर्नू ? म हजुरको फ्यान। पहिलादेखिको फ्यान। मेरा भाग्यमा लेखेको रहेछ र पो हजुरलाई देख्न पाएँ। हजुरलाई देख्न पाउनाले यतिका गहना, हिराका गहना, मोतीका गहना, मणि माणिक्यका गहना। सुनै सुनका गहना। यसरी गहना देख्न पाउनु पनि भाग्य पो त है हजुर। यतिका राम्रा र मूल्यवान् गहना त लक्ष्मीका पनि थिएनन् होला। यहाँ कति भाग्यमानी। यहाँको साथी बन्न पाउने म कति भाग्यमानी।
हजुरका गहना मात्र हो र ? हजुरले लगाएको सारी राम्रो। मुगाको चोली राम्रो। हजुरले लगाएको हिलवाल सेन्डल राम्रो। त्यस सेन्डलमा पनि मोती जडिएको गाँठे। हजुरको कपालको रङ राम्रो; मजुरको जस्तै। हजुरको आँखीभौँको डोरो राम्रो; कलाकारले चित्र बनाए जस्तै। हजुरको गालाको लाली राम्रो, वनमा फुलेको गुराँस जस्तै। ओठको लाली झन् राम्रो गुलाफ फुले जस्तै। आँखाको गाजल राम्रो आँखा चम्कँदा तारा जस्तै। नङको पालिस झन् राम्रो। यतिका कुरा राम्रो भएपछि अरू कुरा के गरिरहनू ? अरू कुरा त नगर्नु नै राम्रो। समाज सुधार र चेतनाका कुरा त जसले पनि गरिहाल्छ नि है हजुर। यतिको गहना र वस्त्र लाउने हैसियत भएपछि त आफ्ना कृति पनि त्यसै राम्रा भइहाल्छन् नि है।
एउटै कुरा हजुर ! मान्छेभन्दा छायाँ अग्लो नराम्रो भन्छन्। आधा गाग्रो छछल्किन्छ भन्छन्। म नजिकको मान्छे भएर भनेको। जब हजुर बोल्न थाल्नुहुन्छ नि त्यस बेला राम्रो भन्न अलि गाह्रो। जब हजुर अरूका बीचमा पुग्नुहुन्छ नि। भनूँ कि नभनूँ त्यसबेला हजुरको बसाइ राम्रो भन्न गाह्रो। हजुरको हाउभाउ अरूका अगाडि जब मच्चिन्छ नि तब राम्रो भन्न अलि गाह्रो । जब हजुर हात चलाउन खोज्नुहुन्छ नि तब सीपमा पनि राम्रो भन्न गाह्रो। हजुरलाई वरिपरि बसेकाले आँखा सन्काएका बेला नि हजुर त्यसो होइन भन्न गाह्रो । अरूले कुरा काटेका बेला पनि नि हजुर त्यो होइन भन्न गाह्रो। म यहाँ आएर अलमल पर्छु। गहना राम्रो कि चरित्र राम्रो ? गहना राम्रो कि चेतना राम्रो ? तर नि हजुर मेरा लागि पनि त हजुरको गहनै राम्रो। जसले जे भनून् मेरो भोट हजुरको गहना र शृङ्गारलाई।
जे भए पनि हजुर राम्रो। हजुरको गहना त राम्रो भइहाल्यो। हजुरले भिरेको झोला राम्रो। हजुरले भिरेको झोलाको उजिन्डो राम्रो। त्यसको डिजायन पनि राम्रो। त्यसको चेन झन् राम्रो। त्यसको गोजी राम्रो। त्यस गोजीमा राखेको पैसा अझ राम्रो। हजुरको कपालको स्टायल राम्रो। त्यो कपाल हल्लिएको राम्रो। त्यही कपाल घुग्रिएको राम्रो। हजुरको हिँडाइको चालढाल राम्रो। टाउको हल्लाइ हल्लाइ हो, होइन भन्ने शैली राम्रो। हजुरको हात हल्लाउने शैली विशेष राम्रो। कुम हल्लाउने शैली अझ राम्रो। हरेक हाउभाउ राम्रो। हजुरको अनुहार राम्रो। हेराइ राम्रो, आँखा सन्काइ राम्रो। मेरा लागि हजुर सबै कुरामा राम्रो। एउटै कुरा नि हजुर, अरूलाई हजुरको आनीबानीबारे आधिकारिक कुरा गर्न गाह्रो।
गहना वस्त्र र हाउभाउ त हजुरको राम्रो भइहाल्यो। हजुरको गाडी राम्रो। गाडीको सिट राम्रो। सिटमा ओछ्याइएको कभर राम्रो। गाडीमा बस्ने कुकुर राम्रो। हजुरले पालेका बिरालाहरू राम्रा। हजुरको घरमा आउने जाने मान्छेले लाउने लुगा राम्रा। तिनका गहना हजुरका जस्तै राम्रा। मान्छे त ती पनि राम्रा। यति हो, ती सबै मान्छेलाई राम्रा भन्न गाह्रो। तिनको आनीबानी राम्रो भन्न अलि गाह्रो। बत्तिमुनि अँध्यारो, ‘कालो बादलमा चाँदीको घेरा’ पनि त हुन्छ नि। चन्द्रमामा पनि त दाग हुन्छ नि। मेरो दृष्टिमा हजुर सम्पूर्ण राम्रो।
म हजुरलाई भाग्यमानी ठान्छु। अरूले छड्के प्रश्न गर्दा पो नाजवाफ हुन्छु र अलमलिन्छु। कति अलमलिन्छु भने यहाँलाई कस्तो भाग्यमानी ठानूँ ? कस्तो सुन्दर मानूँ ? मेरा आँखै नक्कली हुन् कि हजुर ? हजुरका गहना पोसाक नक्कली हुन् कि, हजुर ! मैले खुट्याउन सकिन हजुर। हजुरको गाडी नक्कली कि दुनियाँका आँखा नक्कली ? हजुरको झोला, चप्पल, चिम्टी, नक्कली कि ती दुनियाँका दृष्टि नक्कली ? हजुरको व्यवहार नक्कली कि हाम्रो बुद्धि नक्कली ? तर हजुर हजुरको जीवनशैली राम्रो। हजुर पनि राम्रो।
दुनियाँका कुरा सुन्दा त लाग्छ हजुर ...। भनूँ कि नभनूँ। हजुरले यी गहना र वस्त्र कुन बजारमा किन्नुभएको थियो कुन्नि ? ती सक्कली भनेर हजुर झुक्किनुभयो कि ? कि सक्कली नक्कली नचिनेर म झुक्किएँ ? हजुरलाई देख्नासाथ लागिहाल्छ, हजुर झुक्किनुभएको छैन। हजुरका गहना सक्कली हुन्। सुनकै हुन्। हिराकै हुन्, मोतीकै हुन्। दुनियाँ र मेरै आँखा उस्ता। हजुर महान्। हजुर राम्री। हजुर विद्वान्। हजुर सुवान। हजुर गुणवान। हजुर मान्य। हजुर धन्य। हजुर सर्वमान्य। हजुरका प्रत्येक वस्तु राम्रा। प्रत्येक वस्तु सक्कली। दुनियाँका आँखा नक्कली। जय हजुरका गहना। जय हजुरका वस्त्र। जय हजुरका वर्तन। जय हजुर।