स्वास्थ्य महँगो कि चाडपर्व ?

स्वास्थ्य महँगो कि चाडपर्व ?

चाडपर्व अझ विशेषतः दसैं–तिहारमा अधिकांश नेपालीलाई शुभकामना आदानप्रदान, खानपिन, रमाइलो र भेटघाटमा भ्याइनभ्याई हुन्छ। तर चिकित्सक भने ड्युटी गर्न, बिरामीका जिज्ञासा सुन्न र अस्पतालबाट आउने बोलावटले हैरान बन्छन्। दसैंको समयमा उच्च रक्तचाप, मुटु र पेटजन्य समस्या अपच, पखाला तथा निद्राजन्य बिरामीको संख्या ह्वात्तै बढ्छ। दीर्घरोगीमा समस्या झन् बढ्छ भने जोखिमको बाटोमा रहेकाहरूमा एकैपटक लक्षण देखिन थाल्छ। दसैंका समयमा आउने तथा देखिने अधिकांश बिरामीको चाप खानपानसँग सम्बन्धित हन्छन्।

सामान्य मानिसका लागि पनि हानिकारक मानिने मासु उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूलाई त अभिशाप नै बन्न सक्छ। मासु प्रोटिनको राम्रो स्रोत भए पनि यसमा कोलेस्टेरोल, फ्याटी एसिड, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रूपमा उपभोग गर्न नसक्दा यसले समस्या थप्छ। चाडपर्वमा खाइने मासु, चिल्लो, मसला र मद्यपान मुटुमैत्री मात्र नभई स्वास्थ्यमैत्री पनि छैनन्।

त्यसो त, जुनसुकै समाजलाई पनि चाडपर्वले प्रभाव पार्छ नै, तर नेपालीलाई भने अलिबढी नै प्रभाव पार्छ। समाजले दसैं मुड एक हप्ता पहिलेदेखि एक हप्ता पछिसम्म नै बनाइरहन्छ। माग बढ्दा आपूर्ति बढाउनपर्ने अर्थशास्त्रीय नियमभन्दा माग बढेपछि मूल्य बढाउने प्रवृत्तिले नेपाली बजार आक्रान्त छ। ८८ प्रतिशत आयातमा निर्भर, डलर र बजारको मूल्यवृद्धिले दसैं सर्वसाधारण नेपालीका लागि थप महँगो र दशा बन्नेमा कसैको विमति छैन। २० प्रतिशतभन्दा बढी मुनाफा लिनु कालोबजारी हो, तर प्रायः वस्तुमा मिसावट गर्नु, शतप्रतिशत बढीसम्म मुनाफा लिनु र गुणस्तर नहुनु नेपाली बजारको आम चरित्र बनेको छ।

नपाउँदा नखाने र पाउँदा एकैपटक धेरै र अस्वस्थ ढंगले मासु खानाले चाडपर्वमा रमाइलोभन्दा तनावको अवस्था आउन सक्छ। समाजमा मासु मदिराजन्य पदार्थसँग खाने लत पनि देखिन्छ, जसका लागि छानिने स्थान सरसफाइ र गुणस्तरको ध्यान नदिइएका पाइन्छन्। सेवन गरिने मासु दुई प्रकृतिले गुणस्तरीय हुन जरुरी छ। पहिलो त, जिउँदो पशु निरोगी छ कि छैन र अर्को बध गर्ने स्थानदेखि पकाएर खाने स्थान तथा मुखमा चपाउँदासम्म, त्यो मासु गुणस्तरीय र व्यवस्थित रूपले व्यवस्थापन गरिएको छ कि छैन त्यसमा निर्भर गर्छ।

नियमित मासु सेवन गर्नेमा मोटोपना, उच्च रक्तचाप, मिर्गौला, मुटुका रोग, आन्द्रा र कलेजोको खराबी हुन्छ भने बढी मासु र बोसो होस् भनेर पशुहरूलाई संगिनी सुई, गर्भवतीलाई खुवाइने आइरन चक्की कुखुरालाई खुवाइँदा, पशुहरूमा जथाभावी जबर्जस्ती औषधि प्रयोगले मानिसमा प्रतिजैविक अर्थात् एन्टिबायोटिकले काम नगर्ने सुपरबग उत्पन्न हुन सक्छ। मासुमा एउटा ब्याक्टेरिया भए ७ घण्टामा २० लाख बढी पुग्छ। तसर्थ मासुलाई ५ देखि ६३ डिग्री सेल्सियसमा राख्न हुँदैन। खाद्यपदार्थलाई भरिसक्य तातोपानी नभए सफा पानीले पर्याप्त पखाल्ने, माछामासु तथा सागसब्जीलाई भिन्नाभिन्नै भाँडाकुँडा, प्रेसर कुकरमा नभए अन्य भाडामा भए पनि राम्ररी पकाउने र पकाउनुअघि र पकाएपछि बढीमा दुई घण्टासम्म मात्र भण्डारण गर्ने तथा सफा गर्ने, पकाउने सबैले साबुनपानीले हात धुनुपर्छ। मासुसँगै सागपात, फलफूल, फाइबर, दही, सलाद र प्रशस्त पानी खाँदा त्यसमा हुने रेशाले कोलेस्टेरोल घटाउँछ र पाचन प्रणाली राम्रो बनाउँछ।

चाडपर्वमा खानपानका कारण हृदयाघात, पक्षाघात, मस्तिष्कघात बढ्ने र दीर्घरोगीलाई रोगले थप च्याप्ने समस्या गर्छ। बेलैमा ख्याल गरिएन भने यसबेला स्वास्थ्य महँगो हुने छ।

रातो मासुको सेवन तथा आधुनिकता, अनियमित जीवनशैलीले चिकित्सक र स्वास्थ्य संस्था जानुपर्दा पनि दसैं महँगिने देखिएको छ। स्वास्थ्यका दृष्टिले रातो मासुभन्दा सेतो मासु राम्रो हुन्छ। रातो मासुले युरिक एसिड, ट्राइग्लेसिराइड, कोलेस्टेरोल, मुटु रोग निम्त्याउँछ। रातो मासु अर्थात् खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासुमा प्रोटिन, फ्याटी एसिड पनि प्रशस्त पाइने भएकाले युरिक एसिडको जोखिम बढाउँछ। सकेसम्म देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाइएको वा उसिनेको मासु खानु कम हानिकारक हुन्छ। कलेजो फलामको राम्रो स्रोत भए पनि रासायनिक पदार्थहरू फोहोरका रूपमा जम्मा हुने भएकाले उपयोग नगर्दा नै राम्रो हुन्छ।

चाडपर्वका नाममा धेरै तारेको, भुटेको, पोलेको कुरा कम नहुँदा मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र पेट क्यान्सर बढाउँछ। फुर्सदिलो समय र बढी मदिरा सेवनले दुर्घटनाको सम्भावना बढाउँछ। तेलमा पाइने ३ प्रकारका फ्याटी एसिडमा स्याचुरेटेड फ्याटी एसिडले मुटुमा हानि गर्छ। ट्राइग्लिसेराइडले हृदयघातक कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर गर्छ। तेल र चिल्लो पदार्थ जति धेरै ततायो उति नै त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ र स्वास्थ्यका लागि हानिकारक र क्यान्सर बनाउन सक्ने हुन्छ।

खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ। यसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आउँ, पखाला, रिँगटा लाग्ने, आँखा पोल्ने, बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ। मासु अस्वस्थ भइदिनाले १६० प्रकारका रोगहरूले आक्रमण गर्न सक्छन्। चाडपर्वमा होली डे हार्ट सिन्ड्रोम अर्थात् मुटुको धड्कन बेताल हुने, छिटोछिटो चल्ने र हर्टफेल भई अस्पताल पुग्ने अत्यधिक हुन्छन्। मुटुका लागि फाइदाजनक भनिने मद्यपानको मात्राले पनि पेटमा खराबी, दिमागमा असर, ग्रन्थिमा असर, रोगविरुद्ध लड्ने क्षमतामा कमी ल्याउँछ। अझै मसलेदार, चिल्लो, पिरो मासुका साथ रक्सी सेवनले पेट, कलेजोमा असर, पेटको अल्सर र क्यान्सर, रक्तअल्पता, दुर्वलता, प्यांक्रियाज ग्रन्थिमा नकारात्मक असर पर्छ।

पश¬जन्य प्रोटिनलाई उत्कृष्ट मानिए पनि हाम्रा परिवेशमा गरिने बध, बिक्रीवितरण र त्यस्ता स्रोतबाट प्राप्त मासु सेवन गर्दा भनिएजस्तो उत्कृष्ट प्रोटिन प्राप्त गर्न सकिने अवस्था छैन। राँगा बध गरिने स्थल नदीकिनारका बगर नै हुन् र धोईपखाली गरिने पानी खोला, नदी वा छेउछाउका धारा, इनार नै हुन् भने स्वच्छता छैन भन्न केको आइतबार कुर्ने ? उपभोक्तालाई स्वच्छता, शुद्धता र गुणस्तरको प्रत्याभूति दिन सक्ने ऐन, नियमावली तथा निर्देशिका जारी भएका त छन्, तर जनशक्ति अभाव, भौतिक साधनस्रोतको कमी तथा संक्रमणकाल भन्दै कागजमै सीमित छन्। परम्परागत रूपमै पनि भुइँमै खसीबोका बध गर्ने, मान्द्रो, फल्याक, प्लास्टिक ओछ्याएर मासुपसल थाप्ने, रातो लुगाले मासु छोप्ने, छिनछिनमा पानी छर्कने चलनले कति स्वच्छ, सफा र स्वस्थ मासु उपलब्ध छ भन्ने छर्लंग हुन्छ।

अन्त्यमा, नियमित खाइरहेका औषधि खान बिर्सनु हुँदैन। दिनहुँ एक घण्टा परि श्रम पर्ने गरी हिँड्न, व्यायाम वा योग गर्न तथा सक्रिय क्रियाकलाप गर्न भुल्न हुँदैन। भर्खर समस्या सुरु भएका, उमेर पुगेका र वंशाणुगत दृष्टिले खतरा भएकालाई रोगले च्याप्ने र जटिलता ल्याउने तथा दीर्घरोगीमा हृदयाघात, पक्षाघात, मस्तिष्कघात तथा मृत्यु बनाउने बेला चाडपर्व हो। तसर्थ खानपान, जीवनशैली र आदतलाई नियन्त्रणमा राखी चाडपर्व मनाउन सबै सचेत होऔं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.