संस्कृतिको संरक्षण समृद्धिको आधार
वैदिक सनातन धर्मले हाम्रो अन्तस्करणको आवाजलाई सिञ्चन गरेको हुन्छ। यसैमा हाम्रो संस्कृति गाँसिएको छ। समुदायबीचको एकता अनि प्रेमको प्रतीक बनेका छन् हाम्रा चाडपर्व। सनातनदेखि चलिआएका सांस्कृतिक पर्वहरूले हामीलाई सत्य र नैतिकतामा रहने मार्गदर्शन गरेको हुन्छ। विजयादशमीले हरेक वर्ष यही यथार्थको झल्को दिइरहन्छ। असत्य परित्याग गर्दै सत्य अवलम्बन गर्ने प्रेरणा प्राप्त हुन्छ। यस्ता मौलिक परम्पराबाट हामीले शिक्षा लिनुपर्ने हो, विडम्बना त्यस्तो हुन छाडिसक्यो। नयाँ पुस्तालाई सांस्कृतिक यथार्थबाट वञ्चित पारियो।
राजनीतिका पात्रले मौलिक चिनारीको जगेर्ना गर्न चाहेनन्। विगत डेढ दशकदेखि विकासको नाममा विनाशको बाटो खनियो। धर्म–संस्कृति र सभ्यता समाप्त पार्न मूल पात्र नै प्रयोग भए। अझै भइरहेका छन्। धर्तीमा उत्पत्तिपछि अन्त्य निश्चित छ। यही मात्र शाश्वत हो। यसको बोध मूल पात्रहरूमा हुन सके यतिविघ्न बेथिति मुलुकले बेहोर्ने थिएन। राजनीति पनि शुद्धीकरणतर्फ उन्मुख हुन्थ्यो। यहाँ सत्य स्वीकार गरिँदैन। शक्ति र धनको मोहले सर्वत्र गाँजेको छ। मुलुक बनोस्-नबनोस् त्यसको प्रवाह छैन। यही वास्तविकतामा आम नेपालीले दिनचर्या गुजार्नु पर्दै छ। हामी के थियौं ? के भयौं ? पुर्खाले के सिकाए ? अहिले के गर्दै छौं ? यति पनि हेक्का राखिँदैन। जसले पुर्खाको नासोलाई संरक्षण गर्दैन, उसको जीवन तहसनहस हुन्छ। अहिले हाम्रा गौरवपूर्ण आदर्श बिर्सने काम भएको छ। अब आएर नेपाली समाज आयातीत संस्कृतिमा रूपान्तरण हुने प्रबल सम्भावना देखिन्छ। राज्यले धर्म र संस्कृतिको संरक्षण गर्ला भन्ने रत्तिभर विश्वास नागरिकमा छैन। त्यसैले यसलाई जोगाउन नागरिक स्वयं चनाखो हुनुपर्ने परिस्थिति निम्तिएको छ।
वैदिक स्रष्टा ऋषि, महर्षिहरूद्वारा स्थापित धर्म नै हाम्रो मूल धर्म हो, जसलाई अवलम्बन गर्दा सम्पूर्ण प्राणीको कल्याण हुन्छ। सनातन धर्ममा सबै प्राणी ईश्वरका सृष्टि मानिन्छन्। सृष्टिको कुनै कानुन हुँदैन। सनातनदेखि प्रयोगमा आएका परम्परा एवं सभ्यता नै यसको कानुन हो। यसलाई मान्नु सभ्य नागरिकको दायित्व बन्छ। तर यहाँ प्रकृतिले निर्माण गरेको नियमलाई मान्न पनि संकोच मानिन्छ। अहंकारी माउतेले राजनीतिको घोडा दौडाएको छ। कता जाने हो थाहा छैन जथाभावी दौडाएको घोडाले नागरिक चाहना कति पूरा हुन्छ ? यसको लेखाजोखा समयले गर्ने नै छ।
दसैं–तिहारजस्ता चाडपर्वले हामीलाई एक ढिक्का बनाएको छ। हरेक जाति र समुदायले आफ्नै तरिकाले पर्व मनाउने गर्छन्। सनातन धर्मबाहेक अन्य धर्म मान्नेहरूको पनि आफ्नै संस्कार र परम्परा हुन्छ। मुलुकभित्र मानिने धर्म–संस्कृतिको संवद्र्धनभन्दा पश्चिमी संस्कृतिको सुरक्षामा सत्ताको निष्ठा अधिक देखिन्छ। होलिवाइन प्रकरण यसको ज्वलन्त उदाहरण हो। सत्ताबाटै विदेशी संस्कृतिको संरक्षण भइदिँदा हाम्रो सांस्कृतिक एकता ओझेल पर्न गयो। अहिले सग्लो नेपाली र सिंगो नेपालको परिचय भेट्टाउनसमेत हम्मे छ।
विजयादशमीजस्तो महान् पर्वको पनि यहाँ हुर्मत लिन थालियो। पछिल्लो समयमा यसलाई अमूक जातिको विशेष पर्व भनी भ्रम छरिँदै छ। जबकि वैदिक सनातन धर्म भनेको हिन्दु धर्म हो। विभिन्न धार्मिक तथा ऐतिहासिक दस्ताबेजमा सृष्टिको पहिलो सभ्यता यहाँको धर्ती भएको प्रमाणित गर्छ। पहिलो मानव धर्म पनि यहींबाट उत्पत्ति भएको पाइन्छ। त्यही मानव धर्मलाई पछि आएर वैदिक सनातन हिन्दु धर्म भनियो। हजारौं वर्षदेखि बसोवास गर्दै आएका यहाँका जाति–जनजाति आदि सबैको मूल धर्म वैदिक सनातन धर्म नै हो। वेदले समेत यसको पुष्टि गरेको छ। अहिले आएर आयातीत संस्कृतिमा रमाउने केही देशीविदेशी तत्वले हाम्रो धर्म–संस्कृतिमा भ्रम छर्ने काम गर्दै छन्। जातैपिच्छे अलग संस्कृति हुन्छ भन्दै कित्ता काट्ने काम हुँदै छ। जात र भाषाको फरक संस्कृति न हिजो थियो न आज छ। अब विस्तारै तथ्य उद्घाटित हुँदै छ। सत्यलाई ढाकछोप गर्न षड्यन्त्रपूर्ण तवरले तानाबाना बुनिएको थियो, जुन अहिले आएर क्रमशः च्यातिँदै छ।
हाम्रो धर्म–संस्कृतिले अन्याय अत्याचारविरुद्ध उभिन सिकाउँछ। त्रेता युगमा भगवान् रामले नागरिकको सुखका लागि स्वयं समर्पित हुनुभयो। आजपर्यन्त रामराज्यलाई उदाहरणका रूपमा लिइन्छ। अहिले पनि नागरिक अधिकार प्रयोग गर्ने टड्कारो खाँचो देखिँदै छ। सत्ताको मदमा लट्ठिएका सुण्डमुण्डहरू बेलगाम भएका छन्। भ्रष्टाचारविरुद्धका आवाज निमोठ्ने प्रयत्न हुँदै छ। हालै पञ्चायती सत्ता स्मरण हुने गतिविधि चितवनमा गराइयो। संवैधानिक दायराभित्र रहेर गरिने विरोधले लोकतन्त्रलाई मर्यादित बनाउँछ। यहाँको सत्ताले त्यसलाई समेत पचाउन सकेन। अन्यायविरुद्ध बोल्न पाउनुपर्छ भन्दै यहाँ कयौं जनसंघर्ष भए।
लोकतन्त्र प्राप्तिपछि फेरि नवमण्डलेको उदय गराइयो। ती नवमण्डलेलाई लोकतन्त्र भनेको के हो थाहा हुँदैन। यथार्थमा उनीहरूले न लोकतन्त्र बुझ्छन्, न उनमा लोकतान्त्रिक चरित्र नै हुन्छ। उनीहरूको लोकतन्त्र भनेको दासतन्त्र मात्र हो। मालिकले जे अह्राउँछ, त्यही फत्ते गर्नु उनीहरू बहादुरी ठान्छन्। चितवनमा विचार राखेकै भरमा नवमण्डलेबाट हातखुट्टा मर्काउने काम भयो। बडादसैंको सुरुवातिसँगै सरकारले नागरिकलाई यसरी उपहार दिएको छ।
वैदिक सनातन धर्मको अनुसरणले जीवन सफल र सार्थक बन्छ। युरोपका विद्वान् पण्डितहरूले पनि यस तथ्यलाई स्वीकारेका छन्। युरोपियन पण्डित नस्तर दामसले आफ्नो पुस्तकमा पूर्वीय दर्शनलाई ज्ञानको भण्डार मानेका छन्। त्यसैगरी अंग्रेजी इतिहासकार अर्नोल्ड टोयन्वीको भनाइमा यो अस्थिर र भ्रान्त संसारमा शान्तिसँग जिउनका लागि हिन्दु धर्मले देखाएको बाटो नै उत्तम हो भनी सुझाएका छन्। यसरी सर्वत्र ज्ञान छर्न अब्बल सावित भएको हाम्रो धर्म–संस्कृति हाम्रै समयमा क्षयीकरण गरियो। सत्ताले आफन्त र पराइ छुट्ट्याउन सकेन। अहंकारयुक्त दम्भले आफन्त नै पराई बनाइए। राष्ट्र निर्माण सफलीभूत तुल्याउन राजनीति संग्लिनुपर्छ। यहाँ अगुवा नेतृत्व नै फोहोरमा आहाल बस्न थाले। प्रणाली सङ्ल्याउन विचार सङ्लो हुनुपर्छ। यहाँ विचार नै धमिलो भयो। जसले गर्दा प्रणाली सङ्लिने अवस्थै रहेन।
निरङ्कुशताको जग हाल्ने जंगबहादुरमा पनि राष्ट्रप्रेम जागृत हुन्थ्यो। उनले कूटनीतिक चतुर्याईंबाट नयाँ मुलुक फिर्ता ल्याए। त्यस्तै चन्द्रशमशेरले पनि दोस्रो विश्वयुद्धमा स्पष्ट नीति देखाए। उनले केही सैनिक युद्धका लागि पठाए। जसले गर्दा संसारले नेपाललाई अझ बढी जान्ने अवसर पायो। निरंकुश भनिएको शासकले देखाएको राष्ट्रभक्तिको सानो अंश पनि नेतृत्वले देखाएन। असमान सन्धि समाप्त पार्ने पाठ घोकाइयो। विदेशी हस्तक्षेप समाप्त पार्छुसमेत भनियो। अहिले एकपछि अर्को बाहिरी हस्तक्षेप नेपाली राजनीतिले खेपिरहेको छ। उनीहरूका प्रतिबद्धता सत्तामा पुग्ने भर्याङबाहेक केही भएन।
नेपाली जाति संसारकै प्राचीन एवं सभ्य जातिमा पर्छ। यस जातिको निष्ठा र इमानदारीमा शक्तिशाली शासकसमेत नतमस्तक हुन्थे। केही संस्कारहीन पथभ्रष्टका कारण आज स्वाभिमानी नागरिकको शिर निहुरिएको छ। धर्मले सत्यलाई अंगीकार गराउँछ। यसले नागरिकलाई अनुशासनको बन्धनमा राख्छ। अनुशासन र नैतिकताले दुष्कर्म समाप्त गर्छ। जुनसुकै देशको धर्म–संस्कृति त्यहाँको आत्मा हो। हामीले पनि हाम्रो आत्माको जगेर्ना गर्नुपर्छ। यसलाई तिरस्कार गर्नाले आज जताततै लोभ र अहंकार व्याप्त भयो। राष्ट्रको समृद्धि कोसौं टाढा पुर्यो। विदेशी हस्तक्षेप व्यापक भयो। त्यसैले हाम्रो गौरवमय इतिहासबाट सिक्ने थालनी गरौं। धर्म–संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै जाऔं। असत्य त्यागी सत्यको बाटो अनुसरण गरौं। नवदुर्गा भवानीले सत्यलाई आत्मसात गर्ने आशीर्वाद सबैमा प्रदान गरून्।