सिड्नीमा राष्ट्रिय फुटबल टोलीको सम्मान
सिड्नी : बलियो अस्ट्रेलिया विरुद्ध विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली सिड्नीमा सम्मानित भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) र स्थानीय फुटबल संघको सहकार्यमा ५ दिने विशेष प्रशिक्षण कार्यक्रमका लागि सिड्नीमा रहेको राष्ट्रिय टोलीलाई एन्यु साउथवेल्स राज्यका महावाणिज्यदूत दीपक खड्का र एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंल लगायतले सम्मानित गरेका हुन्।
आगामी अक्टोबर १० तारिखमा क्यानबेरामा हुने विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले अस्ट्रेलियामा रहेको नेपाली समुदायले देखाएको मायाले आफूहरु थप उत्साहित भएको बताए।
'केही दिनका लागि भए पनि यहाँको हावापानी तथा वातावरणसँग घुलमिल गर्ने अनि अभ्यस्त हुने मौका पाइयो', कप्तान चेम्जोङले भने, 'यसका लागि हामी समस्त सहयोगी हातहरूलाई धन्यवाद दिन चाहन्छौँ।'
इन्डोनेसियाबाट सिधै राष्ट्रिय टोलीमा सहभागी हुन आइतबारमात्र सिड्नी आइपुगेका रक्षापङ्तिका सशक्त खेलाडी रोहित चन्दले अस्ट्रेलियाविरुद्धको खेल चुनौतीपूर्ण रहेकोले यसका लागि आफूहरू तयार रहनुपर्ने बताए।
'प्राविधिक र शारीरिक रुपमा उनीहरू हामी भन्दा बलिया छन् तर हाम्रो मनोबल पनि उच्च रहेको छ', उनी भन्छन्, 'त्यसैले पनि नतिजाका बारेमा अहिले नै किटान गर्न सकिन्न।'
विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७-० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागन गर्दै चाइनिज ताइपेइलाई २-०ले पराजित गर्न सफल भएको थियो।
एनआरएनको हर्ष
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले राष्ट्रिय फुटबल टोलीलाई अस्ट्रेलिया ल्याउने चाहना विश्वकप छनोट चरणले जुराइदिएकोमा हर्षित भएको बताए। नेपाल र नेपालीको प्रतिष्ठा जोडिएको विश्वकप छनोट चरणका लागि अस्ट्रेलिया आउने नेपाली टोलीसँग एनअराएन जोडिन पाउनु गर्विलो विषय भएको उनले बताए।
एनएसडब्लु राज्यका महावाणिज्युदुत दिपक खड्काले विश्वकप छनोट चरणमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नु आफैँमा महत्त्वको विषय भएको र यसले मुलुक चिनाउने काममा महत्त्वपुर्ण भूमिका खेलेको बताए। खड्काले भने, 'यतिखेर अस्ट्रेलियाका सबै सञ्चार माध्यममा नेपालको फुटबलको चर्चा भइरहेको छ यो हाम्रो प्रारम्भिक जीत हो।'
अस्ट्रेलियन नेप्लिज फुटबल संघको पहल र एनआरएनको सक्रियतामा नेपाली टोलीलाई करिब एक साता विशेष प्रशिक्षणको व्यवस्था गरिएको हो। नेपाली टोलीले हाल सिड्नीको उत्तरी क्षेत्र नाराविनमा अवस्थित सिड्नी स्पोर्टस एकेडेमी एन्ड रिक्रेएसन सेन्टरमा प्रशिक्षण गरिरहेको छ। सो तालिम केन्द्रमा अस्ट्रेलियाकै विभिन्न खेलका राष्ट्रिय टोलीले प्रशिक्षण गर्दै आएको छ। नेपाली टोलीको लागि यस अभियानमा करिब चालिस हजार डलरभन्दा बढी खर्च हुने बताइएको छ।
एनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मीले मुलुक चिनाउने माध्यमका रुपमा रहेको खेलकुद र त्यसमाथि लोकप्रिय खेल फुटबलको राष्ट्रिय टिमसँग एनआरएनएले सहकार्य गर्न पाउनु आफैँमा महत्त्वपुर्ण संयोग रहेको बताए। रेग्मीले भने, 'खेलाडीको अनुहारमा सिंगो राष्ट्र प्रतिविम्वित हुने हुँदा राष्ट्रिय टोलीलाई सम्मान गर्न पाउनु हाम्रो लागि भाग्यको विषय पनि हो।'
विश्वकप फुटबलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा हुँदै गर्दा वरियताक्रममा भने दुई देशबीच निकै ठुलो खाड्ल रहेको देखिन्छ। अस्ट्रेलिया विश्व वरियताको सुचिमा ४४औँ स्थानमा रहेको छ भने नेपाल एक सय ६१औँ स्थानमा रहेको छ।
राष्ट्रिय फुटबल टोलीलाई अस्ट्रेलिया ल्याउने अभियानका एक अभियन्ता तथा एनअराएन अस्ट्रेलियाका युवा संयोजक इर्शाद अहमदले राष्ट्रिय टोलीको सम्मान अस्ट्रेलियाको नेपाली समाजको लागि गौरवको विषय भएको बताए। उनले भने, 'सम्मान हामीले गर्यौँ तर यो सम्मानले साढे तीन करोड नेपालीको प्रतिनिधित्व गर्दछ। इर्शादले नेपालीहरुको चाडपर्व बीच पनि यतिखेर विश्वकप छनौट चरणले नेपाली समाजलाई जुरुक्कै उचालेको छ र हामी अक्टोबर दशको प्रतिक्षामा छौँ।'
कार्यक्रममा अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष विजेन बटाजुले खेलाडी तथा पदाधिकारीको सम्मान गरेका थिए।