त्यो चंगा, त्यो चेट
गौरव पहाडी, अभिनेता
सानो हुँदाताका चंगा उडाउन पाउँदा निकै रमाइलो लाग्थ्यो। दशैँ बिदामा होस्टेलबाट घर आउनेबित्तिकै चंगा किन्न गइन्थ्यो। कसको चंगा, कसले काट्ने भनेर कम्पिटिसन हुन्थ्यो। लट्टाईको धागो बलियो बनाउन चिप्लेकिरा दल्ने गथ्र्यौं। चंगामा सिसा हालेर उडाउँथ्यौँ र साथीको चंगा काटिदिन्थ्यौँ। अरूको चंगा काटेपछि ‘चेट !’ भनेर कराउन खूब मज्जा आउँथ्यो।
सुवानी मोक्तान, गायिका
बाल्यकालमा रहरले चंगा उडाउन सिक्ने कोसिस गरेकी थिएँ। दादाले उडाउन सिकाउनुभयो। तर, जति गरे पनि मैले उडाउन सकिनँ। त्यसपछि मैले नसक्ने रहेछु भन्ने लाग्यो र छोडिदिएँ। आफूले नसके पनि अरूले चंगा उडाएको देख्दा निकै रमाइलो लाग्थ्यो।
करुणा श्रेष्ठ, अभिनेत्री
अहिले पनि चंगा उडाउँछु, छोडेकी छैन। बच्चा बेलामा धेरैको चंगा काटेकी छु। मलाई राम्रोसँग उडाउन नआए पनि दादाहरूसँग मिलेर अरूको घरबाट आएको चंगा धेरै काटेकी छु। अरूका चंगा चेट पार्दा गज्जब रमाइलो हुन्थ्यो। हामी बाजी राखेर चंगा उडाउँथ्यौँ। हार्नेले जित्नेलाई नयाँ चंगा किनिदिनुपथ्र्यो। बाँस, प्लास्टिक जम्मा गरेर हामी आफैँ पनि चंगा बनाउँथ्यौँ।
सविन श्रेष्ठ, अभिनेता
चंगा उडाउन च्याम्पियन थिएँ। दशैँ आउनुअघि नै हामी चंगा उडाउन थाल्थ्यौँ। पहिला न्युरोडमा स–साना घर थिए। हरेक घरबाट एउटा चंगा उडेकै हुन्थ्यो। अर्काको चंगा काट्न खूब मज्जा लाग्थ्यो। अरूको चंगा चेट पारिदिँदा संसार जितेको महसुस हुन्थ्यो। आफूले चेट गरेको चंगा लिन टँुडिखेलसम्म दौडिँदै पुग्थेँ। चंगा काटिदिन्छ भनेर साथीहरू मसँग खेल्न मान्दैन्थे। अर्को किनिदिन्छु भनेर फकाइफुलाइ खेलाउनुपथ्र्यो।
जितु नेपाल, अभिनेता
सानो छँदा हामी चंगा आफैँ बनाएर उडाउँथ्यौँ। पसलमा धागो किनेर घरमा भएको पुरानो चप्पल काटेर बाँसमा हालेर लट्टाई बनाइन्थ्यो। अहिलेको जस्तो रेडिमेड लट्टाई पाइँदैनथ्यो। लट्टाईमा धागो बेर्न निकै समय लाग्थ्यो। चंगा उडाएको डाम तिहारसम्म हातमा रहन्थ्यो।
दीपक वज्राचार्य, गायक
दशैँ आउनुभन्दा एक महिनाअघिदेखि नै चंगा उडाइन्थ्यो। चंगा उडाउन माहिर थिएँ। दशैँ आउनुअघिदेखि चंगा उडाउने भएकाले खूब गाली खान्थँे। स्कुल सकिएपछि चंगा उडाउन दायाँबायाँ नगरी कुदेर घर आउँथँे। लट्टाईमा धागो बेर्न निकै मेहनत गर्नुपथ्र्यो। धागोमा माड, काँसको टुक्रा हालेर बलियो बनाइन्थ्यो। कहिलेकाहीँ नयाँ चंगा उडाउनेबित्तिकै चेट हुन्थ्यो। किन्ने पैसा नहुँदा अरूको चंगा चेट भएर खसेको ठाउँमा चंगा खोज्न जान्थेँ।
कर्मा शाक्य, अभिनेता
सानो बेलामा चंगा उडाउन एकदमै मन पथ्र्यो। चंगा उडाउँदा धागोले हात काटेर धेरै पटक उडाउनै नसक्ने भएको थिएँ। साथीसँग मिलेर चंगा बनाउँथेँ। बाँसको लट्टाई बनाउँथ्याँै। धागो किनेर साथीहरूसँग मिलेर लट्टाईमा बेथ्र्याैं। अहिले पनि चंगा उडाउन छोडेको छैन। समय मिलेको बेला उडाइन्छ।
वर्षा शिवाकोटी, अभिनेत्री
सानो बेलामा दाइभाइसँग मिलेर चंगा उडाइन्थ्यो। म धेरै माथिसम्म उडाउन सक्दिन थिएँ। अलि माथिसम्म उडाएपछि हात गल्थ्यो, छोडिदिन्थँे। आफूले धेरै बेरसम्म उडाउन नसके पनि अरूले उडाएको हेरेर बस्थें। दादाहरूले चेट भएको चंगा लिन पठाउनुहुन्थ्यो। कुदेर चंगा लिन जान्थेँ। कागज, प्लास्टिकको चंगा बनाउँथ्यौँ।
एड्रिन प्रधान, गायक
सानो बेलामा चंगा खूब उडाइन्थ्यो। घरमा झगडा गरी–गरी पसलमा चंगा किन्न गइन्थ्यो। धागाले हातमा घाउ नै हुन्थ्यो। साथीसँग मिलेर चंगा बनाउँथेँ, तर घरमा बनाएको चंगा धेरै उड्दैनथ्यो। अरूको चेट भएको चंगा नबिग्रेको भेटियो भने त्यसैले काम चलाइन्थ्यो। दशैँमा चंगा उडाउन नपाए दशैँ आएकोजस्तो लाग्दैनथ्यो।
अलिशा राई, गायिका
बाल्यकालमा खूब चंगा उडाएँ। कलेज पढ्दाताकादेखि चंगा उडाएकी छैन। सानो बेलामा चंगा उडाउन खासै आउँदैनथ्यो। दाइभाइले सिकाइदिन्थे। उनीहरूले मलाई चंगा समात्न लगाउँथे। खसेको चंगा टिपेर ल्याएपछि सिकाइदिन्छु भन्थे। कुदेर चंगा टिप्न जान्थेँ।
संयम पुरी, अभिनेता
सानो बेलामा चंगा खूब उडाएँ। धागोमा माड हाल्ने, माझा बनाउनमा च्याम्पियन थिएँ। टोलमा ग्याङै मिलेर चंगा उडाइन्थ्यो। आफ्नो मिल्ने साथीको चंगा कसैले काट्यो भने सबै मिलेर उसैको चंगा काट्थ्यौं। चेट भनेर ठूलो स्वरमा कराउँदा साह्रै मज्जा आउँथ्यो। धागोले हात काट्थ्यो। कति पटक त रगत पनि आउँथ्यो। तर, चंगा उडाइरहेका बेला रगत बगेको पनि वास्ता हुँदैनथ्यो। अहिले पनि मौका मिल्दा साथीभाइसँग चंगा उडाउने गरेको छु।