दसैंमा स्वस्थ मासुको उपभोग
अत्यधिक परिमाणमा चिल्लो पदार्थ प्रयोग गरी मासुका परिकार उपभोग गर्दा स्वास्थ्यलाई हानि मात्रै होइन, गम्भीर दुर्घटनासमेत निम्तिन सक्छ।नेपालीलाई दसैंमा मासु नखाइ हुन्न। दसैं भनेकै मासुको पर्व पनि हो। अधिकांश परिकार मासुकै हुन्छ। मासुका परिकार आफै पनि खाइन्छ र साथीभाईलाई पनि जमघट गराई खुवाउने चलन छ। मार हान्नेले आफै खसी किनेर मार हान्छन्। बली प्रदान गर्नेले पनि आफै किनेर मठ मन्दिरमा बली दिन्छन्। नहुनेले गच्छेअनुसार बजारबाट मासु किनेर ल्याउँछन्।
दसैं यतिकै अत्यधिक भीडभाड र बेफुर्सदिलो पर्व हो। यो पर्व मनाइरहँदा मासुजन्य पदार्थको गुणस्तरियता र स्वच्छतामा निकै ध्यान दिनुपर्छ। अत्यधिक परिमाणमा चिल्लो पदार्थ प्रयोग गरी मासुका परिकार उपभोग गर्दा स्वास्थ्यलाई हानि मात्रै होइन, गम्भीर दुर्घटनासमेत निम्तिन सक्छ। विज्ञका अनुसार चाडपर्वको यस्तो माहोलमा थोरै खाउ तर शुद्ध र गुणस्तरीय मासु नै खाउँ।
यो बेला ह्दय खोलेर आफू पनि खाइने र साथीभाइलाई पनि खुवाइने चलन छ। चिल्लो, पीरो, मसालेदार, सेकुवाका रूपमा मुख रसाउने गरी खाइने मासुका परिकारको बारेमा सचेत हुन खाद्य वैज्ञानिकको सुझाव छ। दसैंको समयमा झन्डै मासुबाट बनेका दुई दर्जन परिकार तयार पारी खाने चलन छ। खसीबोकाको मासुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुलाको छोइला, भुटेको फोक्सो, सादा कबाफ, सिंक कबाफ, भरेको फोक्सो, मटन चप्स, मटन बल, रोगन जोस, मुस्लिम कबाफ, सुक्खा मासु, प्याजी मासु, हाँडी कबाफ, सेकुवा, मटन बिर्यानी, भुटन, तास, लेदो मासु र किमाजस्ता परिकार अत्यधिक खाने गरिन्छ।
विज्ञका अनुसार यो समयमा मासुको गुुणस्तर नहेरी जताभावी मासु सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा हुन्छ। दसैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ। सामान्य समयभन्दा यो समयमा झण्डै १० दोब्बरको हाराहारीमा मासुको उपभोग हुन्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य विज्ञ हस्तबहादुर राईका अनुसार मासु खरिद गर्दा हरियो र कालोजस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद गर्नु हुँदैन।
उनका अनुसार बोसो भएको मासु पनि सकेसम्म खरिद गरी उपभोग गर्नु हुन्न। नेपाली बजारमा उत्पादन हुने मासुमध्ये करिब ८० प्रतिशत मासु अस्वस्थ्यकर छन्। मासु उत्पादन हुने मूल स्रोत वद्यशाला नै अव्यावहारिक भएकाले शुद्ध मासुको अपेक्षा गर्न नसकिने उनको ठहर छ। ‘मासुको ओसारपसार र भण्डारण वैज्ञानिक छैन’, राई भन्छन्,‘ उपभोक्ताले आफै सचेत भएर सकेसम्म स्वच्छ मासु उपभोग गर्न सक्छन्। सकेसम्म छाला भएको मासु प्रयोग गर्नु हुँदैन।’
बंगुरको हकमा भने ठीकठीकै बोसो भएको मासु स्वास्थ्यका लागि राम्रो मानिन्छ। अत्यधिक बोसो भएको बंगुरको मासुले पनि क्षति गर्छ। खरिद गरेको वा घरमै काटिएको मासु धेरै दिनसम्म राख्नलाई मासुलाई पहिलेदेखि नै टुक्रा–टुक्रा बनाएर फ्रिज(रेफ्रिजरेटर) मा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्दा मासुको गुणस्तर कायमै राख्न सकिन्छ।
‘तर काँचो मासु फ्रिजमा राख्नुपर्छ। फ्रिजबाट झिकेर फेरि आवश्कताअनुसार काटेर पकाउने’, राईले भने,‘बचेको मासु फेरि फ्रिजमा राख्ने र फेरि निकालेर काटेर पकाउने प्रक्रियाले मासु गुणस्तरहीन बन्ने सम्भावना हुन्छ। यस्तो मासु खानलाई अयोग्य मानिन्छ।’
यस्तै पकाइसकेको मासु फ्रिजमा राख्ने र खाने वेलामा तताउने फेरि फ्रिजमा राख्ने र फेरि खाने बेलामा तताउने प्रक्रिया पनि मानव स्वास्थ्यका लागि निकै घातक हुनसक्ने उनको ठहर छ। यस्तो मासु सेवन गर्दा फुड प्वाइजन हुने खतरा हुन सक्छ। मासुमा अम्लियपनाको मात्रा ५.७ पीएचभन्दा कम र ६.३ पीएचभन्दा बढी हुनुहुँदैन। यस्तो भयो भने मासु कालो र पिक्का जस्तो देखिन्छ। यस्ता मासु सेवन गर्नुहुँदैन।
विभागका पूर्वमहानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार डिप फ्रिजमा राखिएको मासु पनि तापक्रम नमिलेर मासुभित्र पानी जम्ने सम्भावना हुन्छ। यस्तो मासु पनि मानव स्वास्थ्यका लागि खान अयोग्य हुन्छ। प्रतिदिन १०० ग्रामसम्म मासु सेवन गर्नुपर्छ। कतिपय मासुमा पहिलेदेखि किटाणु यथावत हुन्छ।
उक्त किटाणुले मासुमा विष छोड्ेको अवस्थामा त्यस्ता मासु पनि खान हुँदैन। मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाएर खादा उत्तम मानिन्छ। प्रतिग्राम मासुमा एक लाखभन्दा तलको संख्यामा जीवाणु भेटिए त्यस्ता मासु पनि खानयोग्य मानिन्छ। यस्तै प्रतिग्राम मासुमा एक लाखभन्दा बढीको संख्यामा इकोला, साल्मोनेला, कम्पाइलोब्याक्टर, बरुसोलोसिसलगायत जीवाणु भेटिए खान अयोग्य मानिएको छ। बढी संख्यामा भेटिने जीवाणुयुक्त मासु सेवन गर्दा झाडापखाला लाग्ने, पेट दुख्ने, क्षयरोग लाग्ने, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने, प्रजनन् क्षमतामा असर पु¥याउनेलगायत समस्या देखापर्ने कर्णले जानकारी दिए।
दसैंको स्वच्छ मासुसँगै ताजा शुद्ध मसला र खानेतेल पनि उत्तिकै महत्र्व राख्छ। मासु शुद्ध हुने तथा मसला र खानेतेल अशुद्ध परेको अवस्थामा फुड प्वाइजन, वान्ता आउने, झाडा पखाला लाग्ने र आउलाग्ने जस्ता समस्या आइपर्छ। सकेसम्म दसैंका लागि मसला आफै तयार पार्नुपर्छ। खानेतेल पनि निकै सोचविचार गरी खरिद गर्नुपर्ने उनको तर्क छ। स्वास्थ्यका लागि मासुमा धेरै मसला र बोसो प्रयोग गर्न नहुने कर्णले सुझाव दिए।
दसैंका बेला अत्यधिक खाइने वस्तु पोसिलो त हुन्छन्। तर यस्ता खाना बनाउने तरिका वा विधि स्वस्थकर हुँदैनन्। तेलमा तारेर, भुटेर र अत्यधिक चिल्लोपीरो हालेर बनाइने माछामासुका परिकारले स्वास्थ्यमा खति पु¥याउँछ। ‘चाडपर्वमा मीठो परिकारले जीवनभरका लागि नमिठो उपहार दिन्छ’, मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले हरेक वर्ष चाडपर्वका बेला बिरामीलाई भन्दै आएका छन्।
हुन पनि दसैंतिहारलगत्तै अस्पतालमा गएर बिरामीलाई प्रश्न गर्नेे हो भने धेरैले जथाभावी खानपानले आफूलाई समस्या भएको गुनासो गर्छन्। डा. रेग्मीका अनुसार माछामासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्ट्रोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड प्रशस्त हुने भएकाले थोरै र सही तरिकाले पकाएर खानुपर्छ। रातो मासु (खसीबोका, राँगा, बँदेल, भेडालगायतको मासु) मा प्रोटिनका साथै फ्याटी एसिड बढी हुन्छ। ‘यो बेला धेरैका घरमा पाक्ने मासु पनि यही हो’, डा. रेग्मी भन्छन्। मासुमा हुने कोलेस्ट्रोलभन्दा फ्याटी एसिडले बढी बिगार्छ।
शरीरभित्र फ्याटी एसिडसँग कोलेस्ट्रोल मिलेपछि खराब चिल्लो पदार्थ बन्छ, जुन एकदमै हानिकारक हुन्छ छ। खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुने गरेको खाद्य विज्ञको भनाइ छ। ‘धेरै दिन पुग्ने गरी एकै दिन मासु पकाएर खाँदा विभिन्न प्रकारका फुड प्वाइजन हुने खतरा हुन्छ’, रेग्मी भन्छन्।
उनका अनुसार रातो मासु पोलेर, धेरै भुटेर, तारेर वा डढाएर खाँदा विभिन्न प्रकारको रोगलाई निम्त्याउने प्रवल सम्भावना हुन्छ। मधुमेह र क्यान्सरजन्य रोगबाट प्रभावित भएकाले पोलेको, भुटेको, तारेको वा डढाएको मासु सेवन गर्न नहुने लामाको सुझाव छ। ‘त्यही भएर सकेसम्म ताजा मासु मात्रै खानुपर्छ। खसीबोकाको मासुसँगै कुखुराको मासु, माछा, हरियो तरकारी, सागसब्जी र गेडागुडी सन्तुलन गरी खाँदा पचाउन पनि सजिलो हुन्छ। यसरी संतुलित खाना खाँदा शरीरमा बोसो पनि जम्मा नहुने अनि फायदा पनि गर्छ।’ उनका अनुसार एकपटकमा अधिकतम तीन चार टुक्रा खाँदा फाइदा गर्छ मासुले।
दसैंका अवसरमा बलिदिन र मासु खाने चलन बढ्दै गएकाले सामान्य दिन बाहेक करिब ६० हजार खसीबोका (१२ लाख किलो मासु) खपत हुन्छ। उपत्यकामा सामान्य दिनमा एक हजार गोटा खसीबोका बिक्री भए पनि दसैंमा करिब दैनिक तीन हजारको संख्यामा बिक्री हुन्छ। उपत्यकामा दसैंको अवधिमा मात्रै करिब ६० हजार खसीबोका, १० हजार च्यांग्रा, तीन हजार भेडा र सयभन्दा बढीको संख्यामा राँगा खपत हुन्छ। दसैंको अवधिमा मात्रै विदेशी र स्वदेशी गरी करिब ५६ करोड रुपैयाँबराबरका खसीबोकाको कारोबार हुन्छ।