कैदीबन्दीलाई कारागारमै टीका र जमरा
काभ्रेपलाञ्चोक: जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तले कारागारमै टीका र जमरा लगाइदिएका छन् ।
कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरेको हो । उनीहरुका आफन्तले आज टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले जानकारी दिए ।
कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दशैँभरि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिएको र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उनले बताए । जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्तले टीका कै दिन आउने गरेको भए पनि अन्य बाहिरी जिल्लाबाट टीकाको भोलि र पर्सिपल्टसम्म पनि आउने गरेकाले यस्तो व्यवस्था मिलाइएको उनले बताए।’
जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कैदीबन्दी रहेका छन् ।