अमेरिकामा दसैं 'नोस्टाल्जिया'

अमेरिकामा दसैं 'नोस्टाल्जिया'

अमेरिका : अध्ययनका लागि अमेरिकामा रहेका कौशल वाग्लेले यो दसैंमा परिवार खुब 'मिस' गरे। केही वर्षअघि अमेरिका आइपुगेका वाग्ले ओहायो विश्वविद्यालयमा अध्ययनरत छन्। वाग्लेले दसैंमा टिका र जमरा त लगाए तर घरमा बा, आमा र आफन्तको हातबाट लगाएजस्तो कहाँ हुनु !

ठूली आमाका छोराबाट टिका र आर्शिवाद लिएका कौशल जस्तै प्रवासमा रहेका लाखौं नेपालीहरुले चाड पर्वका बेला परिवार र आफन्तबाट टाढा हुनुको पीडा महशुस गर्ने गर्दछन्।

बाध्यता र रहरले विदेशिएका नेपालीमध्ये अमेरिकामा पनि लाखौंले त्यही पीडा भोग्छन् चाडबाडमा। 'अझ साथीभाई जम्मा पारेर झण्डीबुर्जा खेल्नु, लठ्ठे पिङमा मच्चिन कहाँ पाउनु ? रातो माटो र कमेरे माटोले आमाले घर रंगाइरहँदा ब्याट्रीको कालोले घरका झ्याल ढोका कहाँ रंगाउन पाउनु ?' कौशल नोस्टालेजिक हुन्छन्, 'लहलह झुलेका धानका गह्रामा निधारमा रातो टिका र जमरा लगाएर सेल्फी कहाँ हान्न पाउनु। प्रवासमा पीडा छ।'

प्रवासमा भएका साथीभाई आफन्त जुटेर दसैं मनाए पनि मन मस्तिक नेपालमै हुने बताउँछन् मेरिल्याण्ड निवासी सन्तोष पौडेल पारस। भन्छन्, 'हरेक वर्ष यहाँ भएका दाजुहरू र आफन्तको हातबाट टिका लगाएर दसैं त मनाएको छु तर आमाबुवासँग मनाएको दसैं पो दसैं।'

यो मन त मेरो नेपाली हो....

सास फुस्किनेगरी दिन रात काममा दौडिएर दुई चार घण्टा मनाएको दसैं, के दसैं भन्नु- यहाँका अधिकांशको भावना हो यो।

न्यूयोर्क निवासी साहित्यकार शकुन ज्ञवालीले पनि प्रवासमा मनाएको दसैं खल्लो महशुस गर्ने गरेकी छन्। उनको परिवार अमेरिकामै छ। 'गाउँ घरजस्तो परिवेश अनि आफन्त कहाँ पुगेर आर्शिवाद लिए जस्तो नहुने यहाँ', उनी भन्छिन्, 'यो बेला नेपालमा भए मौसमले पनि दसैं तिहार आएको संकेत गर्दछ।'

दसैंका दिन बिदा मिलाउनु प्रवासमा हुनेहरूको अर्को पीडा हो। एक प्रकारको सेड्युलमा काम गरिरहेकाहरूले त्यही दिन बिदा मिलाएर जम्मा हुनका लागि पापड बेल्नु पर्दछ। भनेका बेला छुट्टी त मिल्दैन नै, सहकर्मीहरूले पनि सजिलो गरी दिन साट्न मान्दैनन्।

वर्षमा एक दिन आउने चाड मनाउन प्रवासमा रहेका नेपालीले धेरै मिहिनेत गर्नुपर्छ। छुट्टी नपाउनेहरूले काममा दौडिनुपर्ने बाध्यता त छँदैछ। काममा जानुपूर्व, बिहान बेलुका बचेको समयमा टिका जमरा लगाएर दसैं मनाउनु प्रवासमा रहेका नेपालीको बाध्यता हो।

न्यूयोर्क निवासी पोखराका सुशील भण्डारी साथीभाईसँग अंगालो मारेर गाउँ डुलेको सम्झन्छन्। एक दुई दिन दसैंअघि 'क्याम्प फायर' गरेर रमाइलो गरेको सम्झन्छन्। उनी भन्छन्, 'हामी कामबाट बचेको समयमा रमाइलो त गर्छौं तर नेपालमा जस्तो रमाइलो त हुँदै हुँदैन।'

आफन्तका रहरले थिचिँदा

प्रवासमा खाई नखााई रात दिन काममा दौडिरहेका नेपालीले चाडपर्वका बेला आफन्तहरूका आशा । मागको पनि दबाब खेपिरहेका हुन्छन्। त्यसो त अमेरिकामा यसखालको आश नभोगेका कमै हुन्छन्।

घर परिवारका सदस्यले चाडपर्वका बेला आशा गर्ने केही रकम होस् वा आइफोन, ल्यापटप वा ब्रान्डेड कपडा। यसको दबाबमा पनि नेपालीहरू हुन्छन्।

दुई चार पैसा कमाउन आधा पेट खाएर आधा निन्द्रामै उठेर काममा कुदिरहेकाहरू इस्टमित्र र आफन्तलाई बेलामौकामा पठाउने यस्ता सामानको खर्चको पनि उत्तिकै दबाबमा रहन्छन्।

व्यक्तिगत समृद्धिको आशामा बिदेशीएका कैयन नेपाली यस्तै यस्तै समस्या र पीडाका बीचमा प्रवासमा दिन कटाइरहेका हुन्छन्। 'अभिभावकहरूको चाहना के हुन्छ भने पैसा छाप्ने मेसिनबाट फटाफट झोलामा राखेर नेपाल पैसा पठाइदिए हुन्थ्यो', दसैं मान्न नेपाल पुगेका नेपाली कांग्रेसका नेता प्रमोद सिटौला भन्छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.