'नेपाल-भारत सम्बन्धमा न चिसोपना छ, न उत्साह'
भारतको राजधानी नयाँ दिल्लीमा गत साता वर्ल्ड इकोनोमिक फोरमले गर्दै आएको इन्डिया इकोनोमिक समिटको ३८ औं संस्करण सम्पन्न भयो। यो समिटको दक्षिण एशियाको आर्थिक दृष्टिकोण सत्रको प्यानल डिस्कसनमा नेपालका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी भएका थिए। साथै फोरमको यंग ग्लोबल लिडर (वाईजिएल) कमिटीमा नेपालका तर्फबाट सदस्य रहेका चार सदस्य मध्येका एक प्रतिनिधि सभाका सांसद, नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा पनि यो समिटमा सहभागी भएका थिए। थापाले यो समिटमा इण्डो प्यासिफिक रणनीति, भारतको छिमेकी मुलुकहरूसँगको सम्बन्ध, वातावरण प्रदुषणको नियन्त्रणमा नयाँ प्रविधिको विकास लगायतका सत्रहरूमा भाग लिए। गगन थापासँग अन्नपूर्णकर्मी आशा थपलियाले भारतको आर्थिक विकास, नेपाल भारत सम्बन्ध र आर्थिक विकास र नेपाल, भारत र चीनको त्रिकोणात्मक सम्बन्धका बारेका कुराकानी गरेका छन्।
समिटका कुन कुन सत्रमा सहभागी हुनुभयो ?
वाईजीएलले छुट्टै कार्यक्रमहरू गर्छ। विश्वव्यापी रुपमा विभिन्न अभियानहरू, स्टार्ट अपहरू गरिरहेको छ। यो फोरमका सत्रहरूमा त्यसको अनुभव साझा हुन्छ। रुचि भएका सत्रहरूमा भाग लिएँ। इण्डो प्यासेफिक स्ट्रेटिजीका बारेमा छलफल थियो। भारतको छिमेकीहरूसँगको सम्बन्धका सत्रमा भाग लिएँ। वातावरण प्रदुषणमा नयाँ प्रविधिको विकासका सत्रहरूमा पनि भाग लिएको थिएँ।
भारतको प्रगति कहाँ पाउनुभयो त?
भारतीय नेता हुन अथवा बिजनेस गर्नेहरू विश्व शक्तिको रुपमा उदाएको आत्मविश्वास उनीहरूमा देखिन थालेको छ। विश्वव्यापी नेता वा उद्योगपतिले भाग लिएका छलफलमा पनि भारतीयको आत्मविश्वास निकै माथि पुगेको देखिन्छ।
तपाईंको अनुभवमा भारतीयहरूमा यो भर्खर देखिन थालेको आत्मविश्वास हो ?
२०१९ को चुनावपछि झन बढेको छ। सन् २००० देखि नै मैले विश्व व्यापी विभिन्न मन्चहरूमा भारतीयहरूलाई नजिकबाट नियाल्दै आइरहेको छु। त्यतिबेला उनीहरूले विश्व मन्चमा राखेका आफ्ना कुरा र अहिले राखेको कुरालाई तुलना गर्दा पनि परिवर्तन त्यही थाहा हुन्छ।
किन होला?
दोश्रो पटक लोकसभा निर्वाचनमा बहुमतले विजय हासिल गरेपछि जनताले हामीलाई पून विश्वास गरे भनेर सरकार पक्षमा त्यो आत्मविश्वास देखिनु स्वभाविक हो। तर मैले नोटिस गरेका कुरा पहिलो कार्यकालमा सरकारसँग एक खालका गुनासाहरू गर्नेहरू पनि अहिले खुशी भएका छन् । हार्वडमा पढ्दा पनि केही भारतीय साथीहरू हुनुहुन्थ्यो। जे भइरहेको छ राम्रो छ भनेर प्रतिक्रिया दिएको पाएको छु। विपक्षी नै नभएको लोकतन्त्रमा कालान्तरमा एक खालको समस्याहरू आउन सक्छ भन्ने चिन्ता र चासो देखिएको छ तर मेरो अनुभवमा त्यस्ताको संख्या थोरै देखेको छु।
यसलाई कसरी विश्लेषण गर्नुहुन्छ? मोदीको अन्तर्राष्ट्रिय भ्रमणको उपलब्धी ?
एउटा त त्यो पनि हुन सक्छ तर आन्तरिक स्थायित्व पनि महत्वपूर्ण कुरा हो। बुझाइ(परसेप्सन) ठूलो कुरा रहेछ। मैले भेटेका भारतीयहरू मुलुकमा राम्रो भइरहेको छ भन्छन्। तथ्यांक र प्रमाण मात्रैले पनि भुमिका खेल्दो रहेनछ। त्यसैले उनीहरूको आत्मविश्वासमा पनि गजबको परिवर्तन देखिएको छ।
विदेशमन्त्री सुब्रमन्यमको सत्रमा पनि सहभागी हुनुभयो, त्यो सत्र कस्तो भयो ?
त्यो सत्रमा भारत–अमेरिका, भारत–चीन व्यापारबिचको टेन्सन मूख्य विषय थियो। भारत र अमेरिकाको सम्बन्ध विशेष छ। चीनसँग पनि आफ्नै खाले सम्बन्ध छ, भारत अब त्यति कमजोर छैन कि एउटाको शर्तमा अर्को मुलुकसँग सम्बन्ध राख्नुपरोस् भनेर विदेशमन्त्रीले बोलेका थिए। 'हामी व्यवस्थापन गर्न सक्छौं र गरी पनि रहेका छौं' भन्ने कुरा उनले त्यहाँ राखेका थिए। छिमेकी मुलुकहरूमा पाकिस्तान बाहेक अन्य कुनै पनि मुलुकसँग समस्या नरहेको भाव प्रस्तुत गरेका थिए।
दक्षिण एशियाको विकासमा भारतको गहिरो चासो रहेको भन्दै यसलाई अझ एकीकृत गर्दै लैजाने क्रममा बंगलादेश, नेपाल, श्रीलंका लगायतका मुलुकहरूसँग सडक पूर्वाधार विकास तथा उर्जा लगायतका क्षेत्रमा सहकार्य गर्न तयार रहेको र यो क्षेत्रीय हितमा हुने सन्देश पनि उनले दिएका थिए।
प्राविधिक रुपमा भारत कति अगाडि बढेको पाउनुभयो ?
निकै अगाडि छ। मेरो लागि बरु एउटा आश्चर्यजनक कुरा के थियो भने दक्षिण एशियाली मुलुकहरूमा भारतसँग यदि कसैले समानान्तर ढंगले कुरा गर्न सकेको छ भने त्यो बंगलादेश हो। निजी क्षेत्र, युवा नेतृत्व आदि कुरामा बंगलादेशको सरकार अगाडि देखिन थालेको छ।
बंगलादेशसँग भारतको निकट सम्बन्ध एकातिर छ, सँगसँगै बंगलादेशीहरू आफ्नै आन्तरिक विकासबाट पनि एकदमै खुशी छन्। बंगलादेशको अहिलेको प्रगति त इखलाग्दो नै छ। केहि वर्ष अघिसम्म श्रीलंकाको यस्तो प्रगति देख्थ्यौं। अहिले श्रीलंका स्थिर देखिएको छ। एक प्रकारको ऋण ट्रयापमा परेको छ।
हाम्रा अर्थमन्त्रीले नेपाललाई कसरी प्रस्तुत गर्नुभयो ?
हाम्रा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले के गर्न चाहन्छ भन्ने कुरा एकदमै स्पष्ट ढंगबाट राख्नुभयो। त्यहाँ नेपाल, भारत र चीनको प्रसंग उठेको थियो। तर उहाँले मुख्य रुपमा नेपाल जस्तो सानो देशको सबै सम्बन्धहरू विशिष्ट रहेको कुरा बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायले आन्तरिक राजनीतिमा हामी सक्षम भएको कुरा अन्तर्राष्ट्रिय समुदायले बुझ्नुपर्ने बताउनुभयो । तर नेपालको विकासका लागि गरिबीको रेखामुनिबाट बाहिर निस्कन श्रोत साधनको ठूलो अभाव छ र त्यो अभाव पूर्तिको लागि श्रोत साधान खोज्न हामी जता पनि जान सक्छौं भन्ने कुरा स्पष्ट रुपमा राख्नुभएको थियो।
दोश्रो कुरा, नेपाल विश्व व्यापारमा पछिल्लो समयमा आएको तनाव समाप्त होस् भन्ने चाहन्छ। हामी द्विपक्षीयभन्दा पनि बहुपक्षीय व्यापार गर्ने वातावरण बनोस् र त्यसैबाट नेपालले लाभ लिन सकोस् भन्ने चाहन्छौं भन्ने कुरा राख्नुभयो।
तेश्रो कुरा, दक्षिण एशियाली क्षेत्रमा हामीले सबै कुरामा प्रतिस्पर्धा गर्न आवश्यक नभएको बताउनुभयो । केहि कुरामा हामी कम्प्लिमेन्टरी पनि गर्न सक्छौँ। खास गरी उहाँले पर्यटन क्षेत्रलाई इंगित गरेर भन्नुभयो। उहाँले पर्यटन प्रवद्र्धनमा क्षेत्रीय सहकार्यको सुझाव राख्नुभएको थियो। अर्थात दक्षिण एशियाली मुलुकमै पर्यटकलाई सामुहिक रुपमा आकर्षित गर्न सहकार्य गर्ने प्रस्ताव राख्नुभयो।
नेपाल भारत सम्बन्ध अहिले कहाँ देख्नुहुन्छ ?
नेपाल भारत सम्बन्धमा न कुनै चिसोपना छ, न त्यति धेरै उत्साह छ, अर्थात स्थिर छ। हामी आ–आफ्नै व्यवसाय गरिरहेका छौं। सामान्य रुपमा चलिरहेको छ।
त्यसको अर्थ यो राम्रो हो भन्दिनँ। योभन्दा धेरै चलायमान बनाउनुपर्छ भन्ने लाग्छ। अर्थात हामीले भारतको प्रगतिबाट कति लाभ लिन सक्यौं भन्ने कुरा महत्वपूर्ण हुन आउँछ।
पछिल्लो समयमा त नेपाल भारत सम्बन्ध निकै चलायमान भयो हैन र ? पेट्रोलियम पाइपलाइन उदघाटन भएपछि त सम्बन्ध राम्रो बन्यो होला नि?
पेट्रोलियम पाइपलाइन वर्षौदेखि अड्किएका परियोजनाहरू मध्येको एक थियो र समयक्रमसँगै यसको निर्माण सम्पन्न भएको हो। हामीहरूको बीचमा तनावको अवस्था हुँदै गर्दा पनि यस्ता परियोजना चली नै रहेका थिए। हाम्रा लेनदेनहरू, व्यापार व्यावसाय चली नै रहेको थियो।
भनेपछि द्विपक्षीय सम्बन्धमा कुनै उल्लेख्य कुरा भएका छैनन् ?
अहिले हाम्रा अर्थमन्त्रीले भारतका वित्तमन्त्रीसँगको भेटमा नेपालमा भएका भारतीय नोट साटिदिनुपर्यो, लाइन अफ क्रेडिटका पैसा अन्य परियोजनामा लगाउनुपर्यो भनेर छलफलका क्रममा भन्नुभयो। यी कुराहरू जुनसुकै अर्थमन्त्री हुँदा पनि गरिने नियमित कामहरू हुन्।
मैले नेपाल भारत सम्बन्ध नियमितभन्दा माथि गएको छैन भन्न खोजेको हो। के हामीले चाहेको यति मात्रै हो त ? यही समिटमा पनि अर्थमन्त्रीले नेपालले चाहेको कुरा निकै राम्रोसँग राख्नुभयो तर जुन किसिमले नेपाल भारत सम्बन्धलाई लिफ्ट गर्ने कुरा छ, नेपालसँग उपलब्ध श्रोत साधन छ त्यसले नेपालको विकास सम्भव छ त?
नेपाल एउटा स्थिर मुलुक मात्र नभएर परिपक्व लोकतान्त्रिक मुलुक पनि हो। यसलाई आफ्नो भुमिका के हो भन्ने पनि थाहा छ। सबैसँगको सम्बन्धलाई संतुलित राख्दै लाभ लिन चाहन्छ।
तर सक्रिय त आफू हुनुपर्छ। भारतबाट कति लाभ लिने चीनबाट कति लाभ लिने भन्ने कुरामा हामी शुन्य छौं। भारतको प्रधानमन्त्री अमेरिका गए। केहि दिनमा अन्य मुलुक जान्छन्। उनी त्यत्तिकै बरालिएका होइनन् नि आफ्नो सामरिक, आर्थिक शक्ति कसरी बढाउने भनेर संसार घुमिरहेका छन्।
दक्षिण एशियामा कहाँ छौ त हामी ?
दक्षिण एशियामा भारत पाकिस्तानको सम्बन्धको चिसोपनाले सार्क स्थगित भएको छ। अर्थात सार्क क्रियाशील छैन तर नेपालको भारतसँगको द्विपक्षीय सम्बन्धमा त कुनै समस्या छैन। भारतको आन्तरिक राजनीतिका कुराहरू उसका मुद्दाहरू हुन्। भारतमा बहुमतको वैधानिक सरकार छ जससँग नेपालले सँगसँगै काम गरिरहेको छ। भारतले त आफ्नो काम गरिरहेको छ। हाम्रो कुरा के हो त ?
हामीले त्यत्रो लामो समय लगाएर नेपाल भारतको सम्बन्धका हरेक दृष्टिकोणमा बृहत छलफल गरेर प्रबुद्ध समुह प्रतिवेदन (इपीजी रिपोर्ट) तयार पार्यौं। त्यो कहाँ पुग्यो ? कहाँ थन्किएको हो? केही थाहा छैन।
अहिले न हाम्रो भारतसँग कुनै गुनासो छ न भारतलाई अहिले हामीसँग कुनै गुनासो छ। बीचमा नाकाबन्दी पछिको समयपछि अहिले हामी सामान्य बाटोमा हिँडिरहेका छौं। तर आर्थिक विकासका कुरामा हामीले भारतबाट गरेको अपेक्षा के हो त ? भारतसँग लगानी ल्याउन चाहेको हो कि अरु नै केही चाहेको हो स्पष्ट हुनुपर्यो।
तपाईंहरू पनि सत्तामा हुनुहुन्थ्यो। यो विषयमा तपाईको कार्यकालमा पनि कुनै अभ्यास भएन नि ?
यसलाई मैले पनि स्वीकार्नै पर्छ । एकदमै न्यून अभ्यास भएको हो त्यतिबेला। नेपाल भारत सम्बन्धका सन्दर्भमा एउटा सबल पक्ष के हो भने हामीबीच विशिष्ट सम्बन्ध छ। ऐतिहासिक, सांस्कृतिक, भाषिक, पौराणिक सम्बन्ध छ नि। पिपुल टु पिपुल सम्बन्ध छ। तर त्यही विशिष्ट सम्बन्धले हाम्रा धेरै कुराहरूलाई छायाँमा पारेको छ।
हाम्रा भाषणहरूमा बारम्बार 'रोटीबेटीको सम्बन्ध छ, निकटतम सम्बन्ध छ, घनिष्ट छौं' भन्नै पर्दैन भन्छु म त। किनकि यो त प्राकृतिक रुपमै छ। कसैले प्रयास गरे पनि नगरे पनि यो सम्बन्ध प्राकृतिक रुपमै अघि बढिरहन्छ।
बरु हाम्रो समग्र प्रयास त व्यापार कसरी अगाडि बढाउने?, आयातको मात्र नभएर निर्यात व्यापारसमेत कसरी अगाडि बढाउने?, लगानी कसरी भित्रयाउने? तर्फ हुनुपर्छ। हामीकहाँ त्यस्तो संस्थागत अभ्यास भयो भने विश्वविद्यालय, थिंक टयांक, निजी क्षेत्र सबै ठाउँमा संसार घुमिरहेको भारतलाई हामीले यतातिर लगानी लगाउने ठाउँ छ है भनेर तान्न सकिन्छ । व्यापार बढाउनु पर्ने छ भनेर देखाउनुपर्यो। हाम्रो प्रयास नै नपुगेको हो।
भारतले नेपालमा विकास नचाहेको हो कि क्षेत्रीय विकासबाट हामी लाभ लिन पछि परेका हौं ?
यसलाई यसरी हेर्नुपर्छ, क्षेत्रीय समस्याहरू आफ्ना ठाउँमा छन्। सार्कबाट हामीले केही चाहेको हो भने जति कुरा गरे पनि हाम्रो चाहनाले मात्र सार्क अगाडि बढ्दैन। यो कटु सत्यलाई हामीले स्वीकार्नै पर्छ। भारत पाकिस्तानको तनावको बारेमा हामी सरोकार राख्दैनौं तर सार्कको फन्टबाट हामीले अहिले चाहेर पनि कुनै लाभ लिन सक्दैनौं।
हामी कतिपय कुराहरूलाई द्विपक्षीय मात्र नभएर क्षेत्रीय रुपमा गर्न चाहन्छौं। हामी यत्तिकै बस्यौँ भने पनि अर्को ५ वर्षसम्म सार्क अगाडि नबढ्न सक्छ। अनि त्यसको विकल्पका मन्चहरूलाई खुलेर प्रयोग गर्न डराउँछौं। त्यो मन्चहरूको उच्चतम उपयोग कसरी गर्न सक्छौँ भन्ने तयारी खोइ त ?
सार्कसँगको हाम्रो माया, सार्क भइदेओस् भन्ने हाम्रो चाहना, कामना राखिराख्ने हो। तर के मान्नु पर्यो भने हाम्रो चाहनाले न सार्क उठ्छ न सुत्छ। बैकल्पिक फोरमहरूबाट सुरक्षित भएर व्यापारको क्षेत्रमा हाम्रो पक्षमा निर्णय गराउन सक्छौं।
कहाँ कहाँबाट लाभ लिन सक्छौं। गरिबीको कुचक्रमा फसेको मुलुकले त अवसर पो खोज्नुपर्छ। कुन बाटो पहिल्याउने भनेर खोज्नु पर्छ। सधैँ गाली गरेर सरापेर मात्र हुँदैन। सम्बन्धको नाजुक सन्तुलन खोज्नुपर्छ ।
सरकारमा त तपाईंको पार्टी पनि थियो ?
मैले समग्र कै कुरा गरेको हुँ। समग्रमा हामीले हाम्रो संस्थागत क्षमता बढाउन सकेकै छैनौं भनेर भनेको हुँ। कहिले हाम्रो तनावको सम्बन्ध भयो। कहिले हामी आनन्द मानेर बस्यौं। छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा नाजुक संतुलन खोज्नुपर्ने बेलामा किन यति अपरिपक्व भएको हो सरकार भन्ने मेरो अहिलेको प्रश्न हो ?
भारतसँगको सम्बन्धमा अपरिपक्व भन्न खोज्नुभएको हो ?
होइन, सबै मुलुकहरूसँगको सम्बन्धको कुरा गरेको हुँ। सरकारको एक वर्ष बढीको कार्यकाललाई नियाल्दा नेपालको भारत र चीनसँगको सम्बन्ध, युरोप र अमेरिकासँगको सम्बन्ध सबै सम्बन्धहरू नाजुक छन्। त्यसलाई हामीले संतुलित ढंगबाट व्यवस्थापन गर्न सकिरहेका छैनौं। हामी परिपक्व देखिएका छैनौं।
'नेपाल कम्युनिस्ट पार्टी' र 'चाइना कम्युनिस्ट पार्टी'बीच भाइचारा सम्बन्ध स्थापित भएपछि नेपाल चीनतिर ढल्कियो भन्ने भारतमा एकथरीको बुझाइ छ नि?
राजनीतिक दलहरूका बीचमा भाइचाराका सम्बन्धहरू हुन सक्छन्। तर चीन नेपालको विशिष्ट सम्बन्ध र राज्य व्यवस्थाको आफ्नै प्रकारको विशेषताको सन्दर्भमा चीनको राजनीतिक दल र राज्य सत्तालाई अलग्ग राखेर हेर्न सकिदैन।
अहिले हामीले आन्तरिक रूपमै उठाइरहेको प्रश्न के छ भने हामीले अहिलेसम्म बुझेको चीन भनेको नेपालको सबै राजनीतिक दलहरूसँग चीनको राजनीतिक पार्टीको समान सम्बन्ध हो। नेपालमा जुनसुकै पार्टीको सरकार आए पनि चीनले नेपाललाई हेर्ने दृष्टिकोणमा केही भिन्नता हुँदैन। हामी त्यही होस् भन्ने चाहन्छौं।
यो भाइचाराको सम्बन्धमा संझौताको मोहर नै लगाएपछि अहिले केही प्रश्नहरू उब्जिएका छन् ? के चिनियाँ कम्युनिस्ट पार्टीको नेपाल कम्युनिस्ट पार्टीसँगको सम्बन्ध अन्य पार्टीभन्दा विशेष हो? चिनियाँ कम्युनिस्ट पार्टी नै त्यहाँको सत्ता पक्ष पनि भएको हुँदा नेपालमा कम्युनिस्ट पार्टी सत्तामा आउँदा के चीनको सत्ताका लागि त्यो सम्बन्ध विशेष रहने हो भन्ने प्रश्नहरू उब्जिएका छन्।
हाम्रा प्रधानमन्त्रीले चीनसँगको सम्बन्ध जस्तो थियो त्यस्तै रहन्छ, बाहिर आएजस्तो कुरा होइन भनेर स्पष्टिकरण दिनुभएको छ। तर उहाँकै पार्टीका अन्य नेताहरूले भने ती कुरालाई स्वीकारेका छैनन्।
यसले भारतसँगको सम्बन्धमा फरक पार्छ कि पार्दैन ?
हामी अहिले नै आत्तिएर नेपाल भारत सम्बन्धमा प्रतिकुल प्रभाव पार्छ भनेर विश्लेषण गर्ने अवस्थामा पुगिसकेका छैनौं। तर हाम्रो अपरिपक्वता यस्तै रहँदै गयो भने हामीलाई नेपाल भारत सम्बन्धमा मात्र नभएर नेपाल चीन सम्बन्धमा पनि समस्या पर्न सक्छ। किनभने नेपाली काँग्रेस पार्टीलाई मात्र नभएर नेपाली समाजको ठूलो पंक्तिलाई चीनको नेपालको एउटा कम्युनिस्ट पार्टीसँग विशेष सम्बन्ध छ भन्ने लाग्दै गर्दा चीन नेपाल सम्बन्धको अहिलेसम्म जुन पवित्रता थियो त्यसमा पनि प्रश्न उठेको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिंगको नेपाल भ्रमणलाई कसरी लिनुभएको छ ?
हामी निकै उत्साहित छौं। चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आतुर पनि छौं। लामो प्रतिक्षापछिको भ्रमण हो यो। नेपालका प्रत्येक राष्ट्र प्रमुखले चीनको भ्रमण गर्ने तर चीनतर्फबाट कहिल्यै नहुने सन्दर्भमा यो भ्रमण निकै महत्त्वपूर्ण छ। भ्रमण अघि केहि प्रश्नहरू आए त्यसले अलिक नमिठो बनायो। नेपालका प्रधानमन्त्रीले यसको निवारण गर्नुहोला। तर विश्वका शक्तिशाली मुलुक तथा नेपालको विशेष सम्बन्ध रहेको छिमेकी मुलुक चीनका राष्ट्रपतिको यो भ्रमण पक्कै पनि नेपाल चीनको सम्बन्धका सन्दर्भमा कोसे ढुंगा सावित होस् भन्ने हाम्रो पनि अपेक्षा हो।
अन्त्यमा आगामी चुनावमा नेपाली कांग्रेसलाइ कहाँ देख्न चाहनुहुन्छ ?
आगामी चुनावमा सत्तामा पुग्न नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी सरकारको अहिलेको अलोकप्रियतालाई मैले स्वभाविक रुपमा आर्जन गरेको लोकप्रियता भन्ने भ्रम राख्नु हुँदैन। हामीले अझै बढी मेहनत गर्नुपर्छ। जनतामा अविश्वासहरू छन् त्यसलाई हामीले चिर्न सक्नुपर्छ। अनि मात्र जनमतको समर्थन सम्भव छ। अहिले नेपाली कांग्रेसभित्र नेकपाको सरकार अलोकप्रिय हुँदै गर्दा स्वभाविक रुपमा हामीलाई फाइदा हुन्छ भन्ने बुझाइ व्याप्त छ। नेकपासँग मतदाता रिसाएका छन् भनेर ढुक्क हुने अवस्था छैन। रिसाएका मतदातालाई कांग्रेसले आशा जगाउन सक्नुपर्छ। आन्तरिक राजनीतिमा पहिलेभन्दा केही सुधार भएको छ। तर त्यतिले मात्र पुग्दैन।