सी भ्रमण फलदायी बनोस्
तेइस वर्षको अन्तरालपछि उत्तरी छिमेकी चीनका राष्ट्रपति शनिबारदेखि दुईदिने नेपाल भ्रमण गर्दैछन्। राजनीतिक स्थायित्वको प्रसंग उठाउँदै लामो समय नेपाल भ्रमण टारिएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङ दक्षिण भारतको मोमल्लीपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्तापछि नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन्। त्यो वार्तालाई उहान– २ को संज्ञा दिइएको छ। दोक्लाम विवादपछि भारत–चीन सम्बन्ध नयाँ उचाइमा पुर्याउन उहान– १ महत्त्वपूर्ण बनेको थियो। यो त्यसकै निरन्तरता हो। भारत, चीन अनि प्लस वानसमेत भनिएपछि नेपाल उहान– १ वार्तामा परेको आकलन भएको थियो। त्यसकै दोस्रो संस्करणपछि चिनियाँ राष्ट्रपति भारतबाट सीधै नेपाल आउनु संयोग मात्र होइन।
चीनबाट सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जमिनको नेपाल भ्रमणपछि माथिल्लो स्तरको भ्रमण भएको थिएन। हुन त यसबीचमा चीनबाट दुई प्रधानमन्त्री (२००१ मा झु रोङझी र २०१२ मा वेन जिआबाओ) ले नेपाल भ्रमण गरेका थिए। उनीहरू सबैको सन्देश रह्यो, ‘नेपालमा राजनीतिक स्थायित्व होस्, सहयोग र सहकार्यमा चीन सधैं साथमा छ।’
अस्थिरताका कारण नेपालमा सहमति भएका विषयको कार्यान्वयनमा शिथिलता आएपछि चीन चिन्तित थियो। हाम्रो नेतृत्व वार्तामा सधैं सकारात्मक बन्ने तर कार्यान्वयनमा सुस्तपनका कारण चीनले नेपाललाई ‘इन्गेज’ मात्र गर्दै आएको थियो। अब परिस्थिति फरक छ। यद्यपि चीनले विश्वास गरिसकेको अवस्था छैन। विश्व नेतृत्वका लागि लम्किरहेको छिमेकले पनि नेपालको भूराजनीतिक परिस्थिति बुझेर सहकार्य अघि बढाउनुपर्छ।
चीनसँग नेपालको समस्यारहित सम्बन्ध भनिरहँदा पनि उच्च नेतृत्वको भ्रमण नहुँदा नेपालले असहज महसुस गरिरहेको थियो। हरेक सरकारले चीनको उच्चस्तरको भ्रमणको तयारी गरेको थियो। यसपालि राजनीतिक स्थायित्व देखेपछि चीनले नेपालको अनुरोधलाई समेत स्वीकार गरेर दुईदिने भ्रमण गर्नु सकारात्मक हो। राष्ट्रपति सीको नेपाल भ्रमणप्रति सर्वसाधारण जनतामा समेत गहिरो रुचि देखिएको छ। नेपालमा चीनको मित्रताप्रति जनस्तरमा कुनै खालको अविश्वास देखिँदैन। दुईपक्षीय सम्बन्धमा कुनै गुनासो छैन। समस्यारहित छिमेक भएकैले चीनबाट उच्चस्तरको भ्रमण नभएको हुन सक्छ। राष्ट्रपति सीको भ्रमणमा सहयोगका ठोस निर्णय हुने अपेक्षा धेरैको छ। प्रस्तावित सूचीको संख्या बढिरहेको छ। विशेषगरी नियमित सहयोगमा हुने वृद्धिसँगै रेलमार्ग, सडक, सुरुङमार्ग, जलविद्युत् विकासका लागि रणनीतिक प्रसारण लाइन निर्माण र लगानी योजना तयार भएका छन्। महत्त्वपूर्ण भ्रमण हुँदा अनुदान र परियोजनामा लगानीको आधार मापन गर्दै भ्रमणको सफलता-असफलताको टुंगोमा पुग्छौं।
सीको भ्रमणको महत्त्वलाई परियोजनामा मात्र सीमित गर्न हुँदैन। हाम्रो चाहना विकासको विषय हुन सक्छ। चीन विश्वकै दोस्रो ठूलो आर्थिक हैसियत राख्ने मुलुक हो। ऊ यतिबेला विश्वमा नेतृत्वका लागि अग्रसर छ। विश्व राजनीतिमा आफूलाई अघि बढाउन चीनले चाहेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) बीच भएको प्रशिक्षणले नेपालको ‘असंलग्न परराष्ट्र नीति’ संकटमा पर्ने आशंका प्रतिपक्ष दलको रहेकाले यसमा समेत सत्तारुढले ध्यान दिएर सहकार्य अघि बढाउन आवश्यक छ।
नेपाल र चीन दुवै मुलकुमा कम्युनिस्ट पार्टीको सरकार रहे पनि आधारभूत भिन्नता बुझेर सहकार्य अघि बढाउनुपर्छ। चीनले दल होइन राज्यसँग सम्बन्ध राख्ने गर्छ। एकदलीय शासनमा रहे पनि विश्वको फरक शासन प्रणालीलाई चीनले आत्मसात गर्दै आएको छ। त्यसैले चीनसँग नेपालले वैचारिक साझेदारी नभई आर्थिक र विकास साझेदारीमा जोड दिन आवश्यक छ। चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा हस्ताक्षर भइसकेको पृष्ठभूमि छ। बीअआरआईमार्फत अन्तर्राष्ट्रिय प्रभाव विस्तारमा चीन छ। नाकाबन्दीबाट आत्तिएका बेला सी नेतृत्वको चीनले दिएको आडभरोसा प्रशंसायोग्य रह्यो। त्यसैले नेपालीको चीनप्रति सकारात्मक भाव छ। सत्ता र प्रतिपक्ष दुवै भ्रमणलाई सफल बनाउन लाग्नुपर्छ। पाहुनाको राम्रो सत्कार गर्ने हामो संस्कार हो, यसमा चुक्न हुन्न।