सुरक्षाका कारण स्थगित कोरला अन्तरदेशीय व्यापार मेला सुरु
मुस्ताङ : सुरक्षाका कारण स्थगित उत्तरी कोरला व्यापार मेला सुरु भएको छ। प्रत्येक वर्ष असार र भदौ महिनामा चल्ने मेला शुक्रबारबाट सुरु भएको हो।
मुस्ताङको उत्तरी कोरला नाकास्थित चिनियाँ पठार भुमिमा चिनियाँ पक्षले सदियौंदेखि व्यापार मेला चलाउँदै गर्दै आइरहेको छ। सुरक्षाका कारण देखाएर माथिको आदेश भन्दै चिनियाँ पक्षले भदौ महिनामा हुने दोस्रो व्यापार मेला स्थगित गरेको थियो।
वार्तामा लोमान्थाङबासीले चिनियाँ पक्षलाई व्यापार मेला संचालन गरिदिन आग्रह गरेका थिए। यस्तै, गत असोज १० गते नेपाल पक्ष र चिनिया पक्षबीच तिब्बतको ढुङ्वासेनमा भएको १० बुँदे सहमति प्रस्तावमा व्यापार मेला पुनः संचालन गर्ने र यसलाई वर्षेनी निरन्तरता दिने सम्झौता भएको छ।
दुबै देशका प्रशासनिक समकक्षी सम्मिलित बैठकले असोज २४ गते दोश्रो व्यापार मेलाको मिति तोकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार उक्त सहमतिकै आधारमा आजबाट मेला सुरु भएको जानकारी दिए। उनले भने ‘हामीले व्यापार मेला संचालन गर्न अनुरोध गर्यौं, उनीहरुले सहमति जनाए। यसपटक चिनिया पक्षले ठुला खम्पा व्यापारीलाई गुणस्तरीय उत्पादन विक्री गर्ने जनाएका छन्।’