संगीत, संस्कार र सन्तोष
काठमाडौं : ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र ? ’ गायिका अञ्जु पन्तको स्वर रहेको यो गीत निकै मार्मिक छ। गायिका पन्त आफ्नो वास्तविक जीवनमा पनि जीवनसाथीबाट पराई भएकी छिन्। तर यो गीतले भने पराई हुनु परेन। नेपाली गीतसंगीतको इतिहासमै सबैभन्दा बढी मोबाइल रिङब्याकटोनमा डाउनलोड भएको गीत हो यो। चार लाखभन्दा बढीले आफ्नो मोबाइलको रिङब्याकटोनमा यो गीत डाउनलोड गरिसकेका छन्। यसका संगीतकार हुन्, सन्तोष श्रेष्ठ।
भर्खर ४० टेकेका युवा संगीतकार सन्तोष श्रेष्ठ अहिले नेपाली संगीत आकाशमा स्थापित नाम भएको छ। उनले संगीत दिएको अर्को चर्चित गीत हो, ‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु।’ सन्तोष आफूलाई शब्दले छोएपछि मात्रै संगीत गर्न रुचाउँछन्। तर निश्चित कथामा बाँधिएका केही फिल्मका गीतमा भने जाँगर नभए पनि संगीत गर्नु परेको बाध्यता सुनाउँछन् उनी।
सन्तोषले संगीत भरेका अन्य कर्णप्रिय गीतमा ‘तिमीले भुल्न सके पनि मैले भुल्न सकिनँ भो,’ ‘तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ’, ‘किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै’, ‘तिमीले हाँसो लुटी लाग्यौ रुँदै रुँदै बाँचेकी छु’, ‘तिमीलाई सञ्चो छैन भन्ने खबर पाएँ मैले’, ‘परेलीको वर्षात्ले छातीभित्र पहिरो गयो’, ‘तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु,’ ‘कोपिलामा सुन हुन्छ’ आदि हुन्।
सात सय फुटकर आधुनिक, स्वदेश तथा फिल्मी गीतहरूमा संगीत गरेको र सयौं लोकदोहोरी गीतहरूको संकलन र स्वर दिएका सन्तोष संगीतको आफ्नो पहिलो गुरु स्थानीय संस्कृतिलाई मान्दछन्। गाउँको माध्यमिक विद्यालय रतनपुर हापुर दाङको पढाइ सकाएर उच्च शिक्षाको लागि काठमाडौं उक्लिएपछि उनको संगीतको आकाश फरक हुँदै गयो। २०५६ सालमा काठमाडौं आएर आफ्नै स्वरमा गीत रेकर्डिङ गरेपछि उनलाई संगीतले मोहनी लगायो। अझ २०६२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि संगीतको नशाले यसरी गाँज्यो कि भटाभट एलबम निकाल्न थाले। २०६२ देखि हालसम्म एकल संगीतबद्ध गरेका उनको एल्बमको संख्या २९ वटा पुगेको छ।
गजल वाचनभन्दा गायनमै सुहाउँछ। उनले सबैभन्दा बढी गजलमा संगीत भरेको दाबी गर्छन्। आफूलाई मन खाएको अन्तरा फेला परेमा आफ्नै खर्चमा समेत गीत रेकर्ड गरिदिएका छन्। चिनारी, साधना, संगम, गरिमा, जिन्दगीको झलक, मितेरी, सौभाग्य, क्षितिज, गुञ्जन, अनुभूति, सभ्यता, आत्मीयता, शराब, परिभाषा, मधुरता, साथी, मित्रता, गन्तव्य आदि उनका आधुनिक गीत र गजलका एल्बम हुन्।
राष्ट्रिय भावका गीत पनि सन्तोषले संगीतबद्ध गरेका छन्। महापुरुषको नेपाल (२०७१) र सुरक्षा (२०७४) राष्ट्रिय भाव समेटिएको उनको स्वदेश गीति संग्रह हो। शास्त्रीय संगीतको प्रयोग गरेर उनले पल्लवी (२०७२) आधुनिक गीति संग्रह पनि ल्याएका छन्। उनको विचारमा संगीतको भित्री मर्म बुझ्न यसको शास्त्रीय अध्ययन हुन आवश्यक छ।
गएको वर्ष २०७५ सालमा उनी सात वटा एल्बममा संगीत भर्दै अझ सक्रिय रहे। सपना हजार, प्रवाह, फूलझैं जीवन, जुहार, जोहो, अन्तराप उनको गएको वर्षको आधुनिक गीत र गजल संग्रह हो। नेपाल भाषाको मतिनाया खँ अर्थात् मायाका कुरा गीति संग्रहमा पनि गएको वर्ष उनको संगीत गुञ्जिन पायो।
उनको विचारमा संगीत अनुशासन हो। संगीत संस्कार हो। संगीत जीवन हो। जसरी संगीतमा सुर ताल आवश्यक छ, त्यसैगरी जीवनमा सुर, ताल आवश्यक छ। सुर ताल नमिलेको जीवन अर्थपूर्ण हुँदैन। संगीतकारको काम धुन भर्ने मात्रै त हो नि भन्दै सामान्य ठानिन्छ। उनको विचारमा संगीतकारले शब्द, संगीत, स्वर, एरेन्ज, रेकर्डिङ, मिक्सिङ, मास्टरिङसम्मको जिम्मेवारी लिनुपर्ने भएकोले उसको जिम्मेवारी गहन हुन्छ।
संगीत नै आफ्नो कर्म ठाने पनि सन्तोष गायनमा आफूलाई रोक्न सकिरहेका छैनन्। त्यसैले, आफ्नो स्वर समेटिएको भीसीडी नै निकालेका छन्। उनका भीसीडी संग्रहमा सन्तोष श्रेष्ठ एकल साँझ (२०७०), सौभाग्य– आधुनिक गीति संग्रह (२०७१), सन्तोष श्रेष्ठ एकल गजल गायन (२०७३), सन्तोष श्रेष्ठ एकल राष्ट्रिय गीत गायन (२०७३) हुन्।
फिल्मको गीतमा संगीत दिन्न भन्दाभन्दै पनि उनले नौ वटा फिल्मका गीतमा संगीत दिन भ्याइसकेका छन्। नरंगिएको सिउँदो, अकिञ्चन र लावाजुनी उनका एकल संगीतबद्ध फिल्म हुन्। लालजोडी, कुइँनेटो, जुवेनाइल, हैरान, नदेखिएको जात, लखपति माग्ने फिल्ममा उनले संगीत गरेका गीत समेटिएका छन्।
गृह जिल्ला दाङको मायाले काठमाडौंदेखि वाद्यवादक ल्याएर दाङमा तीन वटा एकल सांगीतिक साँझ प्रस्तुत गरेका छन् उनले। आफना संगीतबद्ध गीति एल्बमका विमोचन वा परिचर्चा दाङमा गर्ने गरेका छन्। राप्ती साहित्य परिषद्को भवन निर्माण तथा प्रेमप्रकाश मल्ल मधुकरको सहयोगार्थ उनले एकल प्रस्तुति पनि गरेका छन्। दाङमै राष्ट्रिय भावका गीतहरूको एकल गायन साँझ गरेका छन्।
सन्तोष संगीत, गायन मात्रै होइन, साहित्यमा पनि उत्तिकै रुचि राख्छन्। उनका साहित्यिक कृतिमा आँसु (गजल संग्रह २०६२), अधुरो सपना (लघुकथा संग्रह २०६८) हो। अनुसन्धानमा पनि रुचि राख्ने उनी गीत, गजलबारे विभिन्न कार्यक्रममा कार्यपत्रसमेत बनाउन समय निकाल्न भ्याउँछन्।
गायनमा उनले आपूmलाई खरो प्रमाणित गरिसकेका छन्। २०५६ को खुल्ला लोकगीत प्रतियोगिता प्रथम भएका उनी २०६२ मा राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा दोस्रो भएपछि चित्त बुझाएनन्। २०६३ र २०६४ मा भएको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा प्रथम भए। राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०६६) देखि नारायणगोपाल युवा संगीत पुरस्कार (२०७३) उनको पोल्टामा परेको छ।
उनका दुई भाइ संगीतमै संलग्न छन्। उनकी छोरीलाई पनि गायनतिर रुचि छ। भन्छन्, ‘संगीतले मलाई संस्कार सिकायो। अनुशासन, धैर्य, लगनशीलता, आध्यात्मिक चिन्तन सिकायो। म परिवारका सदस्यहरूलाई पनि यही गोरेटोमा हिँडाउन चाहन्छु।’