सिन्धुपाल्चोक बस दुर्घटनाकी घाइते भन्छिन्, 'बसबाट श्रीमानले छोरालाई फाल्नुभयो'

सिन्धुपाल्चोक बस दुर्घटनाकी घाइते भन्छिन्, 'बसबाट श्रीमानले छोरालाई फाल्नुभयो'

युवराज पुरी/रोजन तामाङ 

सिन्धुपाल्चोक/काभ्रे : इन्द्रावती गाउँपालिका—९ सिपाटारबाट काठमाडौं जाँदै गरेको यात्रु बस शुक्रबार दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार सयजना घाइते भएका छन्। बा २ ख २७१५ नम्बरको बस इन्द्रावती—१० को तिखु मोडमा दुर्घटना भएको हो।

सडकबाट करिब दुई सय मिटर तल बस खस्दा चालकसहित १२ जनाको मृत्यु भएको हो। पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। केही यात्रुको अस्पताल तथा केहीको अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज काफ्लेले जानकारी दिए। उनका अनुसार करिब एक सय जना यात्रु घाइते छन्।

दुर्घटनामा परी बनेपा नगरपालिका— ३ काभ्रेका चालक केदारनाथ महाजू, इन्द्रावती—९ का ४५ वर्षीय हीरा श्रेष्ठ, २५ वर्षीय विनोद लम्साल, इन्द्रावती—१० का २९ वर्षीय रितेश आचार्य, पाँचखाल नगरपालिका—६ काभ्रेकी २२ वर्षीया संगीता मिजारको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ललितपुरकी ४७ वर्षीया समिता श्रेष्ठ, मेलम्ची नगरपालिका—१३ का २० वर्षीय अनुश तामाङ, इन्द्रावती—१० का २३ वर्षीया मीना मगर, ३९ वर्षीय सुवास अधिकारी, ६ वर्षीय बालक सुमित पुर्कोटी तथा इन्द्रावती—९ की ४४ वर्षीया जुनादेवी लम्साल तथा माइती आएकी बाह्रबिसे नगरपालिका —७ की अस्मिता श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। मिजार, समिता र अस्मिता माइतीमा दसैंको टीका लगाएर फर्कंदै थिए।

क्षमताभन्दा बढी यात्रु बोकेको बस ओरालोमा ब्रेक फेल हुँदा कारण दुर्घटना भएको हुन सक्ने उद्धारमा संलग्न स्थानीय राजेन्द्र आचार्यले बताए।

दुर्घटनामा सयभन्दा बढी यात्रु घाइते भएका छन्। हेलिकप्टर र एम्बुलेन्सबाट उद्धार गरिएका ६७ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेका प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।

उनका अनुसार शिर मेमोरियल अस्पताल बनेपामा १६ तथा काठमाडौंको ट्रमा सेन्टरमा १५ जनाको उपचार भइरहेको छ। त्यसैगरी काठमाडौं मेडिकल कलेजमा एक तथा नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयले घाइतेको उद्धार गरेका थिए। नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टर उद्धारमा खटिएको थियो।

एउटा मात्र सार्वजनिक बस चल्ने उक्त गाउँबाट दसैं मनाएर राजधानी फर्कने यात्रुले खचाखच भएको प्रत्यक्षदर्शीले बताए।

अत्यधिक भार र पुरानो बस भएकाले ब्रेक फेल भएको हुन सक्ने अनुमान गरिएको छ। धुलिखेल ल्याइएका ५२ घाइतेमध्ये पाँच जनाको मृत्यु भएको र दुईजनालाई काठमाडौं रिफर गरिएको थियो। ४५ जनाको धुलिखेल अस्पतालमा र ६ जनाको बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

पुरानो सवारीसाधनका कारण दुर्घटना

जीवन थापामगर, वडाध्यक्ष, इन्द्रावती गाउँपालिका—१०

पहिलो पटक यो ठाउँमा भयानक दुर्घटना भयो। यसले हामी सबैलाई स्तब्ध बनाएको छ। यात्रुको चापका कारण ब्रेक फेल हुँदा दुर्घटना भएको देखिन्छ। चाडबाडका बेला व्यवसायीले सवारीसाधन थप्नुपर्ने थियो। त्यसो नगर्दा यात्रुको चाप थेग्न नसक्दा दुर्घटना हुन पुग्यो। चाडबाड मनाएर उत्साहसाथ कर्मथलोमा फर्कन लागेका स्थानीय र माइतीमा टीका लगाएर फर्केका चेलीले ज्यान गुमाउनु परेको छ। ठूलो संख्यामा घाइते भएका छन्। दुर्घटनाको खबर पाउनेबित्तिकै इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङको पहलमा हेली एभरेस्ट कम्पनीको हेलिकप्टरबाट घाइतेको उद्धार सुरु गर्‍यौं। पछि नेपाली सेनाको हेलिकप्टर पनि आइपुग्यो। प्रदेश— ३ का सामाजिक विकासमन्त्रीले पनि घाइतेको उद्धारमा सहयोग पुर्‍याउनु भयो। सुरक्षा निकाय, स्थानीयलगायत सबैको सहयोगमा समयमै उद्धार कार्य गर्न सक्यौं।

ग्रामीण सडकमा पुराना बसको प्रयोगले पनि यस्ता दुर्घटना निम्त्याउँदो रहेछ। आजको दुर्घटना यसको ज्वलन्त उदाहरण हो। ब्रेक फेल भए पनि स्टेयरिङले काम गरेको भए सायद यति ठूलो मानवीय क्षति बेहोर्नु पर्दैनथियो होला। कच्ची सडकमा पुराना र कम क्षमताका बस चलाउँदा यो अवस्था आएको छ। आगामी दिनमा यातायात व्यवसायीले यो कुरामा ध्यान दिनु जरुरी छ। दुर्घटनाबाट यो ठाउँले ठूलो मानवीय क्षति व्यहोर्नु परेको छ। जे नहुनु थियो त्यो भयो अब घाइतेको उपचारमा लाग्न म सबै पक्षसँग अनुरोध गर्दछु।

गाडी पल्टेपछि बेहोस भएँ: इन्द्रमणि नेपाल, घाइते

हामी चढेको बस यात्रुले खचाखच भरिएको थियो। मामाघरबाट काठमाडौं फर्कंदै थिएँ। बसको तलमाथि सयभन्दा धेरै यात्रु सवार थिए।

बस ओरालो लाग्दै थियो। बसभित्रबाट सुनिने गरी टायरबाट हावा खुस्कन थाल्यो। चालकले सहचालकलाई टायर निकाल भने। लगत्तै गाडी पल्टन थाल्यो। म बेहोस भएछु। मलाई उद्धार गरियो। गाडीबाट उद्धार गरेको मात्र मलाई थाहा छ। खुट्टा, घुँडा र मेरुदण्डमा चोट लागेको छ। 

पल्टँदै गरेको बसबाट श्रीमान्ले छोरालाई फाल्नु भयो : सीता मगर, घाइते

चालकभन्दा पछाडिको सिटमा म, श्रीमान् र छोरा थियौं। बस भित्र धेरैजना थिए। बसको छतमा पनि धेरै चढेका रहेछन्। मोडमा आएपछि बसको गति ह्वात्तै बढ्यो। हावा फुस्किएको आवाज आएपछि चालकले सहचालकलाई टायर झिक भनेको सुनियो। उनले ब्रेक फेल भयो भन्दै गर्दा गाडी पल्टियो। गाडी पल्टिएपछि रुवाबासी चल्यो। हामी नजिकैको सिसा फुट्यो। श्रीमान्ले छोरालाई झ्यालबाट फालिदिनु भयो। चौथो बल्ड्याङ खाएपछि गाडीबाट हाम फालेँ। समयमै उद्धार हुन सकेन। मेरा श्रीमान् कता हुनुहुन्छ, छोराको अवस्था कस्तो छ मलाई थाहा छैन। यहाँ ल्याएपछि उपचार पनि राम्रोसँग भएको देखिएन। 

रामआनन्द प्रसाद गुप्ता, व्यापारी, घाइते

म सुर्ती व्यापारी हुँ। गाउँ गएको थिएँ। बिहान ८ बजे बस चढेको हुँ। बस दुर्घटना हुँदा म बेहोस भएछु। होस खुल्दा एम्बुलेन्समा रहेको थाहा पाएँ। यो बाटो धेरै पटक हिँडेको छु, तर अन्य समयमा भन्दा बसमा धेरै यात्रु थिए। बस भित्र खुट्टा टेक्ने ठाउँ थिएन। बसको छतमा पनि धेरै मान्छे चढिरहेका थिए। धेरै लोड भएका कारणले पनि बस दुर्घटना भएको हुन सक्छ।

ईश्वर पुर्कोटी, उद्धारमा खटेका चालक

म घटनास्थलमा पुग्दा धेरै मान्छे कोही सडकमा त कोही तल बस भएको स्थानमा थिए। घटनास्थलमा गाडी लिएर पुग्ने म नै पहिलो हुँ। मैले आइचर गाडीमा १८ जना घाइते लिएर धुलिखेल हिँडें। घटनास्थलमा हेर्न सक्ने अवस्था थिएन। म घाइते लिएर धुलिखेल हिँडेपछि केही एम्बुलेन्स बीच बाटोमा भेटिए। केही एम्बुलेन्सले बिरामीलाई हालिरहेका थिए। म धुलिखेल अस्पताल पुग्दा केही घाइतेलाई हेलिकप्टरमार्फत अस्पताल ल्याइएको रहेछ। धुलिखेल अस्पतालमा हेलिकप्टर, ट्रक, एम्बुलेन्स र मोटरसाइकलले बोकेर घाइतेलाई ल्याएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.