चिनको हितविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्‍नाैँ : राष्ट्रपति भण्डारी

चिनको हितविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्‍नाैँ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको हितविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएकी छन्। शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रिभोजअघि दुई पक्षीय सम्बोधनका क्रममा होटल सोल्टीमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। 

‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधि हुन नदिन सबै उपाय अपनाउँदै आएका छौँ।’

राष्ट्रपति भण्डारीले नेपाल र चीन हिमाल र नदीबाट जोडिएको उल्लेख गर्दै सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरिन्। ‘नेपाल र चीन हिमाल र नदीबाट जोडिएका छन्’, उनले भनिन्, ‘हामीबीच सदियौँदेखि सामाजिक र संस्कृतिक सम्बन्ध रहि आएको छ।’ 

उनले चिनियाँ भिक्षु र नेपाली कलाकारले दुई देशको सम्बन्धलाई अझ समृद्ध बनाएको उल्लेख गरिन। चीन र नेपालको सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उच्च भएको उनको भनाइ छ।  ‘हाम्रो सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उच्च छ’, राष्ट्रपति भण्डारीले भनिन्। उनले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतिक बनाउने नेपालको चाहना पूरा गर्ने पहल गरिदिन चिनियाँ राष्ट्रपति सीसमक्ष आग्रह गरिन्। 

‘नेपालको लुम्बिनी बुद्धको जन्मस्थलमात्र नभए बौद्धधर्मावलम्बीको उद्गमस्थलसमेत हो’, उनले भनिन्, ‘बुद्धभूमिलाई विश्वशान्तिको प्रतिक बनाउने हाम्रो पहलमा चीनको सहयोग रहने अपेक्षा गरेका छौँ।’ 

केरुङ–काठमाडौं–लुम्बिनी रेलमागर्न हेर्ने चाहना 
राष्ट्रपति भण्डारीले केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग हेर्ने नेपालीको चाहना रहेको भन्दै यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरिन्। 
‘नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग जोडिएको हेर्न चाहेका छौँ’, उनले भनिन्, ‘चीनले प्राप्त गरेको उपलब्धिले नेपालीको यो चाहना छिट्टै पूरा हुने हाम्रो विश्वास छ।’ उनले चीनसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेका उल्लेख गरिन्। 

सँगै राष्ट्रपति भण्डारीले चिनियाँ लगानीकर्तालाई उत्पादन र जलस्रोतका क्षेत्रमा लगानी गर्न आह्वान गरेकी छन्। ‘चिनियाँ लगानीकर्तालाई उत्पादन र जलस्रोतका क्षेत्रमा लगानी गर्न आह्वान गर्दछौँ’, उनले भनिन्, ‘सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ।’ 

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण पर्वतीय पर्यावरण संवेदनशील बनेको विषयसमेत उठाएकी छन्। उनले आगामी वर्ष अप्रिलमा काठमाडौंमा सगरमाथा संवाद गर्ने तयारी भएको र त्यहाँ चिनियाँ प्रतिनिधिको उपस्थितिका आवश्यक रहेको अनुरोध गरिन्। 

‘भूगोलले नेपाल र चीनलाई निकट छिमेकी बनाएको छ। जनस्तरको सम्बन्धले हामीलाई घनिष्ठ मित्र बनाएको छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘दुवै देश र जनताको हितमा हुनेगरी चीन र नेपालको सम्बन्धलाई नयाँ उचाईमा लागने विश्वास व्यक्त गरेकी छु।’ 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.