छिमेकी किन्न र बदल्न सकिन्न

छिमेकी किन्न र बदल्न सकिन्न

३० वर्षमा ७० करोड मानिसलाई गरिबीबाट निकाल्ने देश चीनबाट हामीले धेरै सिक्न बाँकी छ


नेपाल र चीनबीचको इतिहास मौलिक मात्र होइन, ऐतिहासिक र अनन्त लामो छ। सन् ६४५ तिर इस्लामिक सैनिकले इरान कब्जा गरी उत्तरपूर्व अगाडि बढी तत्कालीन रेसममार्गको केन्द्र होतान कब्जा गर्‍यो। त्यसभन्दा केही समय अगाडिबाटै अरबको बाटो अवरुद्ध गरिसकेको थियो। त्यस समय चीनमा थाङ वंशको शासन थियो। सो वंश सन् ६१८ बाट प्रारम्भ भएको हो। सम्राट् ताइ जाङको शासन स्थापित हुँदासम्म चीन शक्तिशाली भइसकेको थियो। यही समयमा चीनले बारुदको आविष्कार गरेको हो। यसको व्यापार भारत, अरब हुँदै रेसममार्गमार्फत युरोप पुग्यो।

ठीक यही समयमा नेपाल र चीनका बीचमा गतिलो सम्बन्ध स्थापना भएको हो। नेपाल त्यसताका उदाउँदो अवस्थामा थियो। मगधका मौखरीले गरेको आक्रमणलाई अंशुवर्माले प्रतिरोध गरी पराजित गरेर नेपालको आफ्नै पात्रो सञ्चालनमा ल्याएका थिए। तर उनको मृत्युपछि जिष्णु गुप्ता नामका अभिर सामन्तले राज्यमा अधीन जमाए। उदयदेवलाई सत्ताच्युत गरे। उदयदेव र उनका छोरा नरेन्द्रदेवसहित भागेर ल्हासा शरणका लागि गए।

तिब्बतमा सोङस्तान ग्याम्पोले १२ वटा कमजोर रजौटालाई एकीकरण गरी भर्खरव ‘टुंबो’ अधिराज्य निर्माण गरेका थिए। उनको सम्बन्ध चीनसँग राम्रो थियो। सम्राट् ताइ जाङको कोरिया जितको अभियानपछि सोङस्तानले उपहारसमेत पठाई अभिवादन गरे। चीन, दक्षिण एसिया र मध्य एसियाको मिलनविन्दुका रूपमा रहेको होतान स्लामिक सैनिकले कब्जा गरे, तब सम्राट्ले दक्षिण एसियाबाट रेसममार्गको विकल्प खोज्न सैनिक प्रमुख वाङ सुयानलाई ल्हासा हुँदै नेपाल पठाए। तर, जिष्णु गुप्तले उनको प्रतिनिधिमण्डललाई नेपाल छिर्न दिएनन्। कारण तिब्बतले उदयदेव र उनका छोरा नरेन्द्रदेवलाई शरण दिएको थियो।

प्रसिद्ध साहित्यकार तथा दार्शनिक लियो टोल्स्टोयले लेखेका छन्, ‘इतिहासको निर्माण गर्ने गति शक्ति कसैले थाहै नपाई आफ्नो काम गरिरहेका हुन्छन्।’ यस्तै एउटा घटना नेपालको इतिहासमा पनि भएको थियो। वाङको प्रतिनिधिमण्डललाई नेपाल छिर्न रोकेकाले तिब्बतका राजाले नरेन्द्रदेवलाई राज्य प्राप्त गर्न सहयोग गरे र उनी नेपालमा राजा भए। यसपछि वाङ पुनः ३६ जनाको प्रतिनिधिमण्डल लिई केरुङ हुँदै नेपाल आए।

‘ऋणको पासो पर्छ नेपाल बेल्ट एन्ड रोडको पहलमा पस्यो भने’ भन्ने हल्ला चलाएर नेपालको विकासलाई प्रभावित पार्न खोज्नेलाई पूर्णतः बेवास्ता गरेर सरकार अगाडि बढ्नुपर्छ।

केरुङबाट चिनियाँ यात्री नेपाल प्रवेश गरेको यो पहिलो घटना हो। चिनियाँ विद्वान्हरू फा सियान र सुयन जाङ दुवै पामिर हुँदै अफगानिस्तान र कश्मीर हुँदै लुम्बिनी आएका हुन्, पछि मात्र काठमाडौं आए। वाङको प्रतिनिधिमण्डल नेपालमा नौ महिना बस्यो। जब पाटलीपुत्र गयो, तिरहुतमा उनीहरूलाई मगधको एक बागी सेनापतिले समात्यो र क्रूर व्यवहार गर्‍यो। तीनजनालाई मार्‍यो र अरूलाई थुन्यो। वाङ भागेर नेपाल आउन सफल भए। मगधका सम्राट् हर्षवर्धनको मृत्यु भइसकेको थियो। त्यसैले यो घटना भएको थियो। चिनियाँ सम्राट्को अनुरोधमा नेपालका राजा नरेन्द्रदेवले सात हजार घोडासबार सैनिक ती थुनुवालाई मुक्त गर्न पठाएका थिए भनी ऋषिकेश शाह र बाबुराम आचार्यले पनि लेखेका छन्।

नेपालले त्यस समय यो काम गरेर देखायो। ताङ वंशावलीमा वाङले सम्राट्समक्ष प्रस्तुत गरेको क्रोनिकल यतिखेर पनि छ, जसले त्यसबेलाको नेपाल सम्पन्न थियो भनी बताउँछ। यो घटना थियो सन् ६४८ को। यसको तीन वर्षपछि सन् ६५१ मा नरेन्द्रदेवका जेठो छोरा सक्नन्ददेव चीन गए। ताङ वंशावलीअनुसार उनको भव्य स्वागत गरिएको थियो। नेपाललाई भरोसायुक्त मित्र भनिएको पाइन्छ।

नेपाल र चीनको इतिहासको यो छोटो विवरणले धेरै कुरा भन्छ। बेलायतसँग नेपालको सम्बन्ध पछि बन्यो, तर बेलायतको आधिकारिक राज्य इतिहास १०६६ बाट सुरु हुन्छ, जब नर्मेन्डीका ड्युक विल्लियमले बेलायत कब्जा गरे। अमेरिका देश बन्दा त नेपालका पाटन र हनुमानढोका दरबार बनिसकेका थिए। नेपाल चीन सम्बन्ध यी देशभन्दा पुरानो छ। मगध चीनसँग सम्बन्ध गहिरो बनाउन चाहन्थ्यो। त्यसैले उसले सम्पर्कका लागि नेपाललाई भनेको थियो भनिन्छ तर सम्राट् हर्षवर्धनको मृत्यु भएकाले हुन सकेन।

नेपाल र चीनका बीचमा राजकीय सम्बन्धको इतिहास कम्तीमा १४०० वर्ष पुरानो छ। सन् ६५० पछाडि नेपाल भएर रेसममार्गको एउटा शाखा काठमाडौं हुँदै काबुल भएर इरान पुग्थ्यो। राष्ट्रपति सी चिनफिङले भनेजस्तै हिमाल वारपारको व्यापारको इतिहास पनि कम्तीमा १४०० वर्ष पुरानो छ। प्रोजोलस्की नामका एकजना इतिहासकारले लेखेका छन्- एकजना काठमाडौं हुँदै ल्हासा व्यापार गर्ने भारतीय व्यापारीको बहिखाता हेर्दा, त्यसबेला हिमाल वारपार १४८ वस्तुहरूको व्यापार हुने गथ्र्यो। यो इतिहास नेपालका दुष्ट शासक राणाहरूको उदयपछि नामेट भयो। बेलायती उपनिवेशको चाकरी मात्र गरेर नेपाल-चीन सम्बन्धको इतिहासलाई पूर्णरूपले बिर्सिए।

छिङ वंशका पालामा तिब्बतमा दलाई लामाहरूको दग्ध स्थापित भयो। तिब्बत चीनको संरक्षित राज्य थियो। ताङ वंशपछि सधैं चिनियाँ सम्राट्का दरबारको संरक्षण र अधीनमा तिब्बतको प्रशासन चल्यो र युवान वंशका पालामा पहिलोपटक जेड मोहोरसहित पाक्बा भनिने व्यक्तिलाई तिब्बतमा सम्राट्का प्रतिनिधि नियुक्त गरियो। त्यसपछि शाक्यबुद्ध धर्म समूहका पन्चेन लामाहरू प्रतिनिधि तोकिए। गेलुग र शाक्य समूहका बीचमा द्वन्द्व भयो। केही समय दुवै भएको संयन्त्र गठन भयो। पछि गेलुग समूहका दलाई लामाको प्रतिनिधित्व स्थापित भयो। छिङ वंश कमजोर भएपछि दलाई लामाले केन्द्रका विरुद्ध बगाबत गर्न थाल्यो। यसपछि यिनीहरूले नेपालबाट जाने प्रतिनिधिलाई लुट्ने र मार्ने गर्न थाले। नेपाल र चीनबीचको सम्पर्क टुट्यो यसरी टुट्यो। समुद्रबाट जान हिन्दुले समुद्र नाघ्नु हुन्न भन्ने विश्वासले दिएन।

चियाङ काइ सेकको सरकार हुँदा दुइटा प्रतिनिधिमण्डल नेपाल आए तर दुवैमा ब्रिटिस सरकारका प्रतिनिधि सामेल थिए। चीनको यो सरकार पश्चिमी शक्तिको कठपुतली मात्र थियो। चीन आफैं अफिम युद्ध, पश्चिमका आठवटा देशको आक्रमण र उनीहरूको लुटको सिकार भएको थियो। त्यसकारण पनि नेपाल र चीनको सम्बन्ध पातलो भयो। त्यसमा पनि छिङ सम्राट्ले सन् १८१४ मा त्यसताकाको उपनिवेशवादविरोधी नेपालले ब्रिटिस आक्रमणविरुद्ध सहयोग माग्दा अपमानपूर्वक इन्कार गर्‍यो। यी सबै कारणले विलिन भएको नेपाल-चीन सम्बन्ध जनगणतन्त्र चीनको स्थापनापछि पुनः मौलायो। तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईको भ्रमण नेपालको स्वतन्त्रता जोगाउन कति महत्वपूर्ण थियो भन्ने कुरा त बीपी कोइरालाको आत्मवृत्तान्तले बताएकै छ।

चीनले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि कहिल्यै पनि दबाब हालेन। उसले नेपाललाई सानो पनि देखेन। उसले सधैं नेपाललाई सहयोग गर्‍यो। चीनले नेपालमा प्रवाभ निर्माण गर्दै छ भनेर अलाप गर्नेहरूलाई नेपालका प्रजातन्त्रका नायक र कांग्रेस पार्टीका जन्मदाता महानायक बीपीको चाउ एन लाईसँगको कुराकानी उनको आत्मवृत्तान्तमा पढ्न अनुरोध गर्छु। नेपालको विकास चीनको सरोकार रहँदै आएको कुरा त चीन आफैं गरिब हुँदा पनि बनाइदिएका बाँसबारी जुत्ता कारखाना, भृकुटी कागज कारखाना, ट्रलीबस, रिङरोड, बुटवल धागो उद्योग, हेटौंडा कपडा उद्योग आदिले देखाएकै छ। कहाँ छ्न ती आज ?   चीन नेपालमा प्रभाव पार्न कहिल्यै सक्रिय छैन। बरु नेपालको राजनीतिमा एउटा यस्तो तत्व सधैं खेलिरहेको छ, जसले चीनलाई भारतविरोधी देखाउँछ, चीनले नेपालमा कम्युनिस्ट प्रभाव निर्माण गरेको प्रचार गर्छ र परोक्षरूपमा नेपाललाई चीनविरोधी शक्तिको टुँडिखेल बनाउन मद्दत गर्छ।

नेपालको विकासमा चीनको अपार सहयोगको सम्भावना छ। आर्थिक विकासको बाटो नहिँडेसम्म कुनै पनि देशले राजनीतिक स्थायित्व प्राप्त गर्न सक्दैन। यो सर्वमान्य सत्य हो। चीन विश्वको एउटा आर्थिक शक्ति होला, अहिले। यसको अस्तित्व अस्वीकार गर्न सक्ने ताकत यतिखेरको विश्वमा छैन। र, त्यो चीन नेपालको ऐतिहासिक मित्र हो। त्यो हामीलाई १४०० वर्षअगाडि नै कागज बनाउन सिकाउने मित्र हो। यसको सहयोग लिनु हाम्रो अवसर हो र हाम्रो अधिकार पनि हो। तर विगत तीन दशकको नवउदारवादले त्यो सम्भावना खाइदियो। यसको बाटोमा हिँडेर हामी पतनको बाटोमा यहाँ आइपुगेका छौं र चीन समाजवादी खुला बजारको बाटोबाट संसारको पहिलो आर्थिक शक्ति बन्ने अवस्थामा पुगेको छ।

सन् १९६५ को शान्ति तथा मैत्री सन्धिका आधारमा संस्थापित भएको नेपाल चीन सबन्ध अहिले बेल्ट एन्ड रोड संरचना समझदारीपत्र, पारवहन तथा यातायात सन्धि र त्यसका अनुबन्धलगायतका सबै आर्थिक कारोबार र व्यापारसम्बन्धी संयन्त्र पूरा गरी कूटनीतिक तथा व्यापारिक सम्बन्धको एउटा नयाँ युगमा प्रवेश गरेको छ र चीनमा यतिखेर सी चिनफिङजस्तो शालीन, बौद्धिक, अनुभवी र अन्तर्राष्ट्रियवादी राष्ट्रपति भएको समयमा नेपालले विकासका लागि चाहिने सहयोग प्राप्तिका लागि उफ्रिएर सहकार्यमा लाग्नुपर्ने अवस्था छ।

सी चिनफिङ चिनियाँ सरकारको नेतृत्व गर्ने सामान्य राष्ट्रपति मात्र होइनन्। उनी एक्काईसौं शताब्दीका आर्थिक विकास र विश्व अर्थतन्त्रका एक विचारक र अभियन्ता पनि हुन्। उनले विश्वलाई आर्थिक विकासको एउटा नयाँ दर्शन, पद्धति र ढाँचा दिएका छन्, त्यसलाई ‘रेसममार्ग आर्थिक पाटो र एक्काईसौं शताब्दीको सामुद्रिक रेसममार्ग पहल’ भनिन्छ। उनी भन्छन्- अन्तर्राष्ट्रिय कूटनीति र आर्थिक सहकार्यमा ‘शून्यलाभको सिद्धान्त’ लाई स्थान हुँदैन। साझा भविष्यसहितको विश्व समुदायको निर्माण नै समकालीन विकासको गन्तव्य हो। यो सिद्धान्तले संसारका सबै गरिब जनता र समाजलाई आशा जगाएको छ। तर कसैले यसलाई आफ्नो प्रभुत्व समाप्त हुने डरले विरोध गरिरहेका छन्। नेपालमा पनि बोलीको टुंगो नभएका केही मानिस झीनो विरोध गर्दै छन्। तर अबको युग एसियाको हो भन्ने उनले बुझ्नुपर्छ।

लामो समयपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण भएको छ। यो क्षण प्रत्येक नेपालीको गौरवको क्षण हो। उनले भनेका छन्, ‘नेपाल आउँदा कुनै नौलो ठाउँमा गएको जस्तो अनुभूति भएको छैन। नेपालमा पुराना मित्रहरू छन्।’ उनले भनेका छन्- अब नेपाल र चीनले हिमालवारिपारिको आर्थिक सहकार्यमा जोड दिनुपर्छ। हिमाल नेपाल र चीनको सभ्यता र संस्कृतिलाई जोड्ने पुल हो। त्यसैले हिमाल वारिपारिको आर्थिक सहकार्य भनेको दुई देश, दुई सभ्यता र संस्कृतिलाई जोड्ने र समृद्ध बनाउने आर्थिक सहकार्य हो, कसैको भाग खोस्ने वा कसैलाई विस्थापित गर्ने खेल होइन। यो दुई परिवारका सदस्यजस्ता छिमेकीको सहकार्य हो। राष्ट्रपति सी नेपालप्रति जानकार त छँदै छन्, उनलाई नेपालको भूराजनीतिक यथार्थको पनि गहिरो ज्ञान छ। त्यसैले उनी नेपाललाई समस्या पार्न होइन, नेपाललाई कठिनाइबाट निकाल्ने मान्यताबाट प्रेरित छन् भन्ने कुरा नेपाल आउनुअघि नै आफ्नो लेखमार्फत बताइसकेका छन्।

चीन र दक्षिण एसियाको समृद्धि आपसमा अन्तर्निहित छन्। त्यसैले चीन र दक्षिण एसियाको कनेक्टिभिटी अपरिहार्य छ। हिमालवारिपारिको सहकार्य भनेको चीन र दक्षिण एसिया जोड्ने सुखको साँघु हो। नेपालको भविष्य यसमै छ। एक दिन चीन बंगालको खाडी हुँदै बाहिर जाने र भारत सिन्जियाङ हुँदै मध्यएसिया र युरोप जाने दिन आउने छन्। दुवै नेपाल भएर जाने छन्। हाम्रो भविष्य भनेको यही हो। यो कसको चाहना होइन ?   कसैले यसको विरोध गर्छ भने त्यो नेपालको माटोबाट बनेको मानिस होइन।

बेल्ट एन्ड रोडको पहलमा सी चिनफिङले विश्वका गरिब जनतालाई दिएको एउटा सुखद जीवनको आशाको कोसेली हो। यो साम्राज्यवादको खोजी होइन। एसियायी सभ्यता र संस्कृतिमा उपनिवेशको खोजी गर्ने मान्यता छैन। त्यसैले ऋणको पासो पर्छ नेपाल बेल्ट एन्ड रोडको पहलमा पस्यो भने भन्ने हल्ला चलाएर नेपालको विकासलाई प्रभावित पार्न चाहनेका कुरालाई सरकारले पूर्णतः बेवास्ता गरेर अगाडि बढ्नुपर्छ। सन् २०१७ मा देउवा सरकार हुँदा भएको नेपाल-चीनबीचको ‘बेल्ट एन्ड रोड’ को समझदारी पत्रमा केही महत्वपूर्ण सर्तहरू छन्। यस संरचनाअन्तर्गतका सहकार्यमा (१) वित्तीय लगानी, (२) वस्तु र स्रोत, (३) वातावरण र (४)   श्रमलाई आधार मानेर परियोजना तय हुन्छन्। यसमा ऋण र पासोको सन्दर्भ छैन।   श्रीलंका चीनको ऋणको पासोमा पस्यो भन्ने गफाडीहरूले   श्रीलंकामा चीनको लगानी जम्मा ६५ मात्र छ बुझ्न आवश्यक छ। ४६ प्रतिशत ऋण जापान, एसियाली विकास बैंक, विश्व बैंक, भारतको छ।   श्रीलंका ऋणको यस पासोबाट निस्कन चीनसँग सहकार्य गरिरहेको छ।

राष्ट्रपति सी चिनफिङ गरिबलाई माया गर्ने नेता हुन्। उनी वालस्ट्रिटजस्ता संस्थाको चन्दाबाट गफका भरमा चुनाव लडेर रातारात नेता भएका मानिस होइनन्। उनको लोकतन्त्रमा ४० प्रतिशत अपराधीहरू निर्वाचन जितेर आएका छैनन्। उनीहरू काम गर्छन्। ३० वर्षमा ७० करोड मानिसलाई गरिबीबाट निकाल्ने देश हो चीन। उसका यी अनुभवबाट हामीले सिक्नुपर्छ। उनी नेपालका मित्र हुन्। उनी त्यस्ता राष्ट्रपति हुन्, जसले नेपाललाई उनको जमिनबाट समुद्र पुग्ने हक दिएका छन्, तर निगाहमा होइन त्यो अधिकार नेपालको अन्तर्राष्ट्रिय कानुनअन्तर्गत सन् १९८२ को सामुद्रिक महासन्धिअनुरूप सन्धिमा प्रस्ट भाषामा यो लेखिएको छ। उनी भन्छन्- पैसा दिएर छिमेकी किन्न पनि सकिन्न र छिमेकी बदल्न पनि सकिन्न। उनले कम्युनिस्ट पार्टीको उन्नाईसौं महाधिवेशनमा भनेका छन्- चीनले कहिल्यै प्रभुत्व खोज्ने छैन। टाढाका मित्रभन्दा छिमेकी नजिकको हुन्छ। मर्दा लास बोक्ने पनि यही हो। डाँका लाग्दा सहयोग गर्ने पनि यही हो। विवाहमा जग्गे बनाउने पनि यही हो। राष्ट्रपति सीलाई स्वागत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.