चार लाख ५४ हजार मतदाता, पाँच सय ३७ मतदान केन्द्र
काठमाडौं : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा चार लाख ५४ हजार एक सय १४ मतदाता सहभागी हुने भएका छन्। निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार महिला दुई लाख ३३ हजार चार सय दुई, पुरुष दुई लाख २० हजार सात सय १० र अन्य लिङ्गका दुईजना मतदाता कायम छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्की क्षेत्र नं २ मा ७ लाख एक हजार ८ सय ७१, प्रदेश सभातर्फ भक्तपुरमा ४५ हजार १५, बाग्लुङ क्षेत्र नं. २ मा ३६ हजार ९ सय २६ र दाङ क्षेत्र नं. २ मा ७३ हजार एक सय ७२ मतदाता कायम भएका छन्।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि एक हजार बराबर एक मतदान केन्द्र कायम गरेको छ। निर्वाचन आयोगकी प्रवक्ता गिरिजा शर्माले दुई सय ४७ स्थानमा पाँच सय ३७ मतदान केन्द्र तोकिएको जानकारी दिइन्।
३७ जिल्लाका रिक्त विभिन्न ५१ पदका लागि उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभातर्फ एक प्रदेशसभातर्फ तीनवटा पद र बाँकी सबै स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदैछ।