सोल्टीमा सीको उच्चस्तरीय भेटवार्ता : महत्वपूर्ण समझदारीमा हस्ताक्षर
काठमाडौं : दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ होटल सोल्टीमा आइतबार बिहानदेखि उच्च स्तरीय भेटवार्तामा व्यस्त छन् ।
राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु भएको छ। दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका छन्। वार्तापछि केही समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरलगायतका विषय समावेश गरिएका छन्। केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेको छ। त्यसपछि संयुक्त विज्ञप्ती जारी हुनेछ।
दुईपक्षीय वार्ताअघि प्रधानमन्त्री ओलीले सीसँग अलग्गै भेटवार्ता गरेका थिए। आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो। लगतै प्रचण्डसँग सीले अलग्गै भेटवार्ता गरेका थिए।
शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। शनिबार बेलुका नै सी र देउवाबीच होटल सोल्टीमा भेटवार्ता भएको थियो। सी आइतबार मध्यान्ह नै स्वदेश फर्किने कार्यक्रम छ।