कांग्रेसको चियापान आज
काठमाडौं : नेपाली कांग्रेसले कोजाग्रत पुर्णिमाका दिन आइतबार चियापान कार्यक्रमको आयोजना गरेको छ। वीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापानको आयोजना गर्दै शुभकामना आदान–प्रदानको कार्यक्रम गर्दै आएको छ।
चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे सुरु भई अपराह्न पाँच बजेसम्म सञ्चालन हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। चियापन तथा शुभकामना कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसदहरु, सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतलाई बोलाइएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा काठमाडौं उपत्यकाका तीन वटै जिल्लाको चियापान हुनेछ भने ७४ जिल्लामा पनि आइतबार नै कार्यक्रमको आयोजना गरिएको प्रवक्ता शर्माले बताए।