चिनियाँ विश्वास

चिनियाँ विश्वास

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश फर्केका छन्। सीलाई विमानस्थलमा बिदाइ गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ट्विटमार्फत चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छन्।

 लामो समयदेखि चीनबाट राष्ट्रपति स्तरको भ्रमण हुन सकेको थिएन। सीको भ्रमणले नेपाल चीनको प्राथमिकतामा रहेको सन्देश गएको छ। सामरिक र कूटनीतिक हिसाबले पनि सीको बहुप्रतीक्षित भ्रमण ऐतिहासिक मान्नुपर्छ। सीको एक्काईसघण्टे नेपाल बसाइ व्यस्त रह्यो। यसक्रममा राजनीतिक दलका नेताहरूसँग भेटवार्तादेखि औपचारिक सम्झौता पनि भए।

यो भ्रमणले राजनीतिक तहमा विश्वास कायम गर्दै द्विपक्षीय सम्बन्धलाई थप उचाइ दिएको छ। साथसाथै शक्तिशाली राष्ट्रका प्रमुखको भ्रमणसँगै विश्वभर नेपाल सुरक्षित मुलुक भएको सन्देश पनि प्रवाह भएको छ। चिनियाँ राष्ट्र प्रमुखबाट २३ वर्षपछि भएको यो भ्रमण आफैंमा महत्वपूर्ण उपलब्धि त हो नै, सँगसँगै नेपालले भू-राजनीतिक सन्तुलनमा कौशल देखाउन सके यसले कूटनीतिमा नयाँ आयाम थप्नेछ। भ्रमणका क्रममा भएका सम्झौता र सहमतिले नेपालप्रति चीनको चासो मात्र नभई विश्वास पनि बढेको आभास हुन्छ। छिमेक नीतिलाई प्राथमिकतामा राख्ने चिनियाँ नेतृत्वको नेपाल भ्रमण त्यसैको आधार हो।

संघीयता कार्यान्वयनसँगै तीन तहका सरकार बनेका छन्। संघीय सरकार नै परियोजना कार्यान्वयनमा खरो उत्रन नसकिरहेको अवस्थामा तल्लो तहका सरकारबाट कार्यान्वयन क्षमताको अपेक्षा गर्न सकिन्न। सर्वप्रथम सबै तहका सरकारको परियोजना कार्यान्वयन क्षमता विकास गर्न जरुरी छ। चमत्कारिक पूर्वाधार विकासले नै चीनमा औद्योगिक र कृषि उत्पादनको जग बसाएको हो। अर्थतन्त्र बलियो हुनुको आधार पनि यही हो। आज चीनसँग विश्वभरकै उन्नत पूर्वाधार, विदेशी विनिमय सञ्चिति, निर्यात र औद्योगिक उत्पादनको आधार छ।

 लगानी व्यवस्थामा चीनले गरेको सुधार र भ्रष्टाचार नियन्त्रण आफैंमा उदाहरणीय छन्। नेपालले चीनबाट पूर्वाधार विकासमा सहयोगका साथै बलियो औद्योगिक उत्पादनको आधार खडा गर्न विशेष आर्थिक क्षेत्र निर्माण गर्न सक्छ। यसबाट मात्र अल्पविकास र गरिबीको विद्यमान अवस्थाबाट नेपाल विकास र समृद्धि यात्रामा अघि बढ्न सक्छ। तर हामी राष्ट्रपति सीले भने झैं प्रतिबद्धतामा दृढ र कार्यान्वयनमा खरो उत्रन सक्नुपर्छ।

राष्ट्रपति सीले नेपालमा विकासको चाहना पूरा गर्न चीन प्रतिबद्ध रहनुका साथै नेपाल चीन सम्बन्धमा कुनै समस्या नरहेको भन्दै बलियो मित्रताको संकेत दिएका छन्। उनले भनेका छन्, ‘हामी कार्यान्वयनमा जोड दिन्छौं र भएका प्रतिबद्धतामा दृढ रहेर विकास कार्यमा जोड दिनु हुनेछ।’ सम्बोधनकै क्रममा राष्ट्रपति सीले आफूले ‘कार्यान्वयन’ मा विश्वास राख्ने भन्दै अर्थपूर्ण अभिव्यक्ति दिएका छन्। यसले नेपालको कार्यान्वयन क्षमतामा प्रश्न उठेको छ। कार्यान्वयन क्षमता विकास गरी चीनसँग ठूला पूर्वाधार विकासमा सहयोग लिन सक्नुपर्छ। 
चिनियाँ योजना र विकासमा लगाव राख्छन्। थालेको काम तोकिएको समयमा सक्ने उनीहरूको रणनीति हुन्छ। ठीक विपरीत हामीकहाँ योजना बन्छन्, तर कार्यान्वयन तहमा ‘लापरबाही’ भइरहन्छ। त्यसले लगानी भित्याउनसमेत समस्या भइरहन्छ। कार्यान्वयन क्षमतामा सुधार नगरी विकासको लाभ लिन सकिन्न। कुनै पनि ठूलो आयोजना कार्यान्वयनमा हामीलाई औसत ११ वर्षको समय लाग्ने गरेको छ। राष्ट्रपति सीको भ्रमणका क्रममा परियोजना पूर्वतयारीका लागि सहयोग गर्ने र कार्यान्वयन क्षमता विकास गर्ने सहमतिको भरपूर उपयोग गर्नुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.