पद्धति निर्माणका लागि लडेको हुँ
सरकारी सेवाबाट सोमबारदेखि अवकाश पाएका डा. गोविन्द केसीले डाक्टरी पेशालाई निरन्तरता दिने बताएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञका रुपमा २६ वर्ष बिताएका ६३ वर्षीय डा. केसी मुलुकमा पद्धति निर्माणका लागि लड्ने उद्घोष पनि गरेका छन्। यसअघि उनी विभिन्न समयमा गरी १६ पटक अनशन बसे। २०७५ साउन १० गते सरकारसँग भएको सम्झौताअनुसार काम नभए फेरि अनशन बस्ने तयारीमा रहेका डा. केसीसँग अन्नपूर्णकर्मी दिनेश गौतमले गरेको कुराकानी
फेरि अनशन बस्ने तयारीमा हो ?
हो, तिहारको भोलिपल्टदेखि फेरि अनशन बस्छु। मलाई त तिहारअघि पनि केही फरक पर्दैन। तर, शुभेच्छुक र नेपाली जनतालाई अलि खल्लो लाग्न सक्छ। कात्तिक ८ गतेसम्म सरकारले माग पूरा गर्छ कि, पर्खन्छु। यदि, माग पूरा गरेन भने कात्तिक १३ गतेदेखि सत्याग्रह सुरु गर्छु।
नयाँ माग छन् कि पुरानै हुन् ?
२०७५ साउन १० गते सरकारले हामीसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् भन्ने पहिलो माग हो। त्यस्तै, विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि हालको प्रक्रिया रोक्नुपर्छ। मापदण्ड निर्धारण समितिले दिएको प्रतिवेदनअनुरूप निष्पक्ष र पारदर्शी ढंगले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरिनुपर्छ। पद्धति स्थापना हुनुपर्छ। विश्वविद्यालय दलका कार्यकर्ता वा साक्षर उत्पादन गर्ने होइन, शिक्षित र वैज्ञानिक उत्पादन गर्ने हुनुपर्छ। निजी मेडिकल कलेजले अवैध रूपमा बढी रकम असुलिरहेका छन्।
त्यो फिर्ता गर्नुपर्छ। त्यस्ता कलेज सञ्चालकलाई फौजदारी कानुनबमोजिम कारबाही गर्नुपर्छ। संसदीय उपसमितिले माफियाको प्रभावमा गरेको शुल्क र सिट संख्या वृद्धिसम्बन्धी निर्णय खारेज हुनुपर्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्छ। यस प्रतिष्ठानमा एडीजीपी कार्यक्रम सञ्चालन अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेको छ। त्यसलाई तुरुन्त स्वीकृति दिएर एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ। प्रदेश २ र ४ का साथै डोटी, डडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडि बढाउनुपर्छ। अनशन बस्नुपर्ने अवस्था सिर्जना भयो भने अन्य माग पनि थपिन्छ।
अब कहाँ अनशन बस्नुहुन्छ ?
तीन करोड नेपालीको शिक्षा र स्वास्थ्यका लागि लडेको हुँ। मुलुकको जुनसुकै कुनाकाप्चामा गएर बस्न सक्छु। जहाँ अनशन बसे पनि नेपाली जनताको सहयोग र सद्भाव पाउँछु भन्ने विश्वास छ।
सरकारी सेवाबाट निवृत्त हुनुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
शिक्षण अस्पताल महाराजगन्जमा २६ वर्ष सेवा गरें। कति बिरामीलाई सेवा पु¥याएँ भन्ने आँकडा त छैन। बल्ल म फ्रि भएँ। अब केही गर्न छुट्टी लिइरहनु पर्दैन।
आगामी योजना ?
सेवा निवृत्तपछि पनि डाक्टरी पेसालाई निरन्तरता दिनेछु। यसअघि शिक्षा र स्वास्थ्यका लागि पार्टटाइम लड्नुपथ्र्यो। अब फुल टाइम लड्न सक्छु।
पहिला त तलब आउँथ्यो, अब जीवनयापनका लागि के गर्नुहुन्छ ?
म भेजिटेरियन हुँ। चिया, चुरोट, जाँड, रक्सी, माछामासु केही खान्नँ। मेरो आवश्यकता न्यूनतम छन्। राज्यले दिने पेन्सनबाट काम चलाउँछु। वर्षमा दुई तीन पटक ग्रामीण भेगमा जान्थें। अब पेन्सनको रकम बचाएर वर्षमा एक पटक भए पनि ग्रामीण क्षेत्रमा जाने सोच बनाएको छु।
कोही व्यक्ति वा विचारधाराबाट प्रभावित हुनुहुन्छ ?
सबै व्यक्तिमा मानवीयता हुन्छ। चाहे त्यो चोर वा अपराधी नै किन नहोस्। सबैबाट पाठ सिक्न सकिन्छ। सबै व्यक्तिबाट मानवता सिक्ने हो।
घर, डेरा छैन कहाँ बस्नुहुन्छ ?
भूकम्पले गाउँको घर भत्काएको छ। नयाँ बनाएको छैन। केही समय भाइसँग बस्छु। घर भत्केकाले गाउँ गए पनि डेरा लिनुपर्छ। काठमाडौंमा पनि डेरामै बस्ने हो।
विवाह नगरेकामा पछुतो लाग्दैन ?
त्यतिबेला विवाह गर्ने कुरालाई गम्भीर रूपमा लिइनँ। यो कुरा व्यक्ति र सोचमा भर पर्छ। म जे छु त्यसैमा खुसी छु।
स्वास्थ्य सेवामा देखिएका समस्या ?
स्वास्थ्य सेवामा जनशक्ति अभाव छ। विशेषज्ञ सेवा दिने दक्ष जनशक्तिको झन् अभाव छ। साधारण सेवा दिन पनि व्यवधान छ। तर, स्वास्थ्य सेवाको आयाम फराकिलो छ। स्वास्थ्यका कर्मचारीलाई समायोजन गर्दाको समस्या अहिले पनि छ। डडेलधुरादेखि बारा, रौतहटको समस्या हो यो। ठूला अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ डाक्टर छैन। यो पुरानै समस्या हो। प्रधानमन्त्री नै राज्यकोष खर्च गरेर उपचार गर्न जाने प्रवृत्ति छ। जनताले तिरेको करबाट तलबभत्ता खाने काम मात्र देखियो। सरकार गैरजिम्मेवार देखियो।
विदेश र स्वदेशका कुनाकाप्चा घुम्दा देखेका अवस्थाले कस्तो अनुभूति गराउँछ ?
मन दुखेका बेला भावुक भइन्छ। मन नदुख्ने भएको भए त यसरी किन लड्थें र ? ग्रामीण भेगमा बस्ने मध्यम र निम्न वर्गका लागि पनि आवाज निकाल्नुपर्छ भनेर दायित्व बोध गरेको हुँ। दायित्व बोध गरेपछि लड्नु त परिहाल्यो।