बालुवाटारमा नेकपा सचिवालयको बैठक
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। मंगलबार बालुवाटारमै सचिवालयको अनौपचारिक बैठक बसेको थियो । अनौपचारिक बैठकमा आगामी दिनमा पार्टीले गर्नुपर्ने कामका बारेमा छलफल गरी सचिवालयको बैठकमा छलफल गर्ने विषय टिप्ने काम भएको थियो।
जसमा सांगठनिक एकताको काम टंग्याउनुपर्ने, उपचुनावको तयारीमा जुट्नुपर्ने, पार्टीका आयोगहरु बनाउनुपर्ने देखि सत्यनिरुपण तथा मेलमिलाप आयोगहरु छिटो बनाएर जानुपर्ने लगायतका काममा ध्यान केन्द्रीत गर्नुपर्ने भनी कामको सूची तयार पारेको नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपाले ३ जेठ २०७५ मा तत्कालिन एमाले माओवादी एकता गरेपनि अहिलेसम्म पार्टी एकीकरणका कतिपय काम अझै टुगाएको छैन । केन्द्रीय आयोगहरु अझै बनेका छैनन । विभाग गठन भएपनि प्रमुख र उपप्रमुख मात्र तोकिएका छन् । एकता यता केन्द्रीय समितिको बैठक बसेको छैन । स्थायी समिति बैठक नवसकेको १० महिना पुगेको छ । गतसाल मंसिर २९ देखि पुस १३ सम्म स्थायी समति वैठक बसेको थियो । नेकपा नेताहरुको भनाइ अनुसार अबको सचिवालयले स्थायी समिति बैठक बोलाउने विषयमा पनि छलफल गर्नेछ।
नेकपाले बुधबार चियापान कार्यक्रमको आयोजना गरेको छ।