३२ देश सहभागी सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ठ
काठमाडौं : बेलायतमा भएको 'एक्सरसाइज क्याम्ब्रिन पेट्रोल २०१९' मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । सेनाका प्रमुख सेनानी अशीमदेव गुरुङको नेतृत्वमा गएको १० जनताको टोलीले सैन्य अभ्यासमा उत्कृष्ठ प्रदर्शन गर्दै स्वर्ण पदक पाएको हो ।
युद्धकालीन विशेष परिस्थितिको कल्पना गर्दै गरिने सैन्य अभ्यासमा नेपाल उत्कृष्ठ भएको सेनाले जनाएको छ । यसमा शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्यांकन गरिने सेनाको विज्ञप्तिमा उल्लेख छ ।
अत्यन्तै कठिन भौगोलिक क्षेत्रमा गरिएको उक्त अभ्यासमा सहभागी सैनिकले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरणसहित ५० किलोमिटरको दूरी पार गरेका थिए ।
उक्त अभ्यासमा बेलायती फौजीका १०६ र नेपालसहित अन्य ३२ देश गरी १४० सैन्य टोलीको सहभागिता रहेको थियो । अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व विशेष फौजी बाहिनी, पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मको टोलीले गरेका थिए । यस्तो अध्यास सन् १९६० बाट प्रत्येक वर्ष बेलायतमा हुँदै आएको छ ।