बसले किच्दा बालकको मृत्यु, झडप हुँदा १ प्रहरीसहित ११ जना घाइते
नुवाकोट : नुवाकोटको बट्टारमा बसले किच्दा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। तारकेश्वर गाउँपालिकाख६ गोस्र्याङ घर भएका प्रताप तामाङका १० वर्षीय छोरा युनिक तामाङको मृत्यु भएको हो। मृतक बालक स्थानीय निल सरस्वती आधारभूत विद्यालय कक्षा १ का छात्र हुन्। घटनापछि नुवाकोटको बट्टार बजार तनावग्रस्त भएको छ ।
विदुर नगरपालिका ४ बट्टार बजारमा बसको ठक्करबाट बालकको ज्यान गएपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । झडप हुँदा प्रहरीले लाठीचार्ज र तीन राउण्डभन्दा बढी अश्रृग्यास प्रहार गरेको छ । झडपमा एक प्रहरीसहित ११ जना घाइते भएको प्रहरी निरीक्षक विष्णु फुयालले जानकारी दिए।
काहुलेबाट काठमाडौंका लागि छुटेको बा४ख ७५०४ नम्बरको डिलक्स बसले दिउँसो बालक तामाङलाई किच्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
मृतकका बुवाका अनुसार हात समातेर बजार हिँडिरहेका बेला बसले पछाडीबाट किचेको थियो। आक्रोशित स्थानीयबासीले चालक विदुर नगरपालिका ७ तुप्चेका राउद तामाङलाई कुटपिट समेत गरेका छन्। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ।