नेकपा सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी
काठमाडौं : सत्तारुढ नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै जिल्ला प्रहरी कार्यालय दोलखा पठाएको हो।
काठमाडौं जिल्ला अदालतका श्र्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गुरुङविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।
उनका अनुसार गुरुङविरुद्ध २०७५ सालमा ज्यान मार्ने उद्योग मुद्धा दर्ता भएको र त्यतिबेलै पक्राउ पूर्जी जारी भएको प्रष्ट पारे।
सांसद गुरुङले यो राजनीतिक मुद्दा भएको बताएका छन्। गुरुङमाथि २०७४ को स्थानीय चुनाव लगत्तै दोलखाका वीरध्वज खड्कामाथि गौशालामा आक्रमण गरेको आरोप छ।
आक्रमणमा उनको संलग्नता रहेको भन्दै खड्काले महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। गुरुङ प्रतिनिधिसभाको चुनावमा दोलखाबाट निर्वाचित सांसद् हुन्।