विप्लवका २१ नेता हतियार र विष्फोटक पदार्थसहित दाङबाट पक्राउ

विप्लवका २१ नेता हतियार र विष्फोटक पदार्थसहित दाङबाट पक्राउ

दाङ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । नेपाल-भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका  ४ को मुग्रेटाखोलामा पार्टीको आन्तरिक तयारी बैठक चलिरहेको बेला दाङ प्रहरीले नियन्त्रण लिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए। उनीहरुको साथबाट हातहतियार र विष्फोटक पदार्थ समेत बरामद गरेको भट्टराईले जानकारी दिएका छन्।

बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बिहीबार राति १ बजेतिर पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड  इञ्चार्ज चन्द्रबहादुर चन्द 'वीरजंग', केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको नेकपाले जनाएको छ। वीरजंग विप्लवका दाइ हुन्।

असोज तेश्रो साता विप्लवको केन्द्रीय समितिको बैठक बसेको र त्यही बैठकको सन्देश प्रवाह गराउने र केन्द्रीय योजना कार्यान्वयनका लागि ब्यूरोको बैठक बसिरहेका बेला प्रहरीले नेताहरुलाई पक्राउ गरेको प्रतिबन्धित विप्लवका नेताले जनाएका छन् ।

एनसेलको कार्यालय र टावरमा बम आक्रमणपछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ।  विप्लव समूहका गतिविधि आपराधिक भएको दाबी गर्दै सरकारले उसका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

संगठित अपराध निवारण ऐन २०७० को दफा ७ को उपदफा २ मा भनिएको छ, ‘कुनै प्रकारको हातहतियार, बम, विस्फोटक पदार्थ वा अन्य कुनै उपकरण वा वस्तु प्रयोग गरी नेपालको सार्वभौमसत्ता, प्रादेशिक अखण्डता वा नेपाल वा यसको कुनै भागको सुरक्षा वा शान्ति र व्यवस्थामा खलल पार्ने वा विदेशस्थित नेपाली कूटनीतिक नियोग वा त्यसको सम्पत्ति वा नेपालस्थित विदेशी नियोग वा अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थाको आवासीय कार्यालय वा त्यसको सम्पत्ति वा कुनै सार्वजनिक वा निजी पूर्वाधार, संरचना वा विकास परियोजनाको संरचना वा त्यसको हाता वा शिक्षण संस्था, स्वास्थ्य संस्था वा यातायात संस्थाजस्ता सर्वसाधारणलाई सार्वजनिक सेवा प्रदान गर्ने सेवा प्रदायकको भवन, साधन, उपकरण, यन्त्र ध्वस्त गरी क्षति पुर्‍याउने वा तोडफोड गर्ने वा सोको योजना बनाउने वा त्यस्तो स्थानमा मानिसको जिउज्यान जाने, अंगभंग हुने वा चोटपटक पुर्‍याई घाइते तुल्याउने काम वा आगो लगाउने वा दैनिक उपभोग्य वस्तुमा वा सार्वजनिक स्थानमा विषालु पदार्थ प्रयोग गरी मानिसको जिउज्यान जाने वा अंगभंग हुने वा अन्य क्षति पुर्‍याउने कामलाई विध्वंसात्मक कार्य मानिनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.