मार्सी किन्न खेतमै पुग्छन् व्यापारी

मार्सी किन्न खेतमै पुग्छन् व्यापारी

सुर्खेत-कालिकोट : जुम्लामा यतिबेला मार्सी काट्ने चटारो छ। किसानले खेतबाट मार्सी काटेर घर भित्र्याएका छैनन्। तर मार्सी धान किन्ने व्यापारी खेतमै पुग्न थालेका छन्। विश्वकै अग्लो स्थानमा फल्ने जुम्ली मार्सी चामलको स्वदेश र विदेशमा माग बढेपछि व्यापारी धान खरिदका लागि खेतमा पुग्न थालेका हुन्।

दसैं मनाएर धान भिœयाउन व्यस्त किसान मार्सीकै परीकारसँग तिहार मनाउने तयारीमा छन्। व्यापारी जतिसक्दो बढी मार्सी खरिद गर्न जुटेका छन्। अन्य जिल्लाको तुलनामा चिसोका कारण जुम्लामा जेठमा रोपेको मार्सी असोज अन्तिममै पाक्छ। मार्सीको चर्चा र गुणस्तरका कारण माग ह्वातै बढेको छ। ‘मार्सी किन्ने व्यापारी घरमै आइपुग्छन्, कतिपयले अग्रिम पैसा दिन खोज्छन्’, तातोपानीका कृषक नरबहादुर बुढाले भने, ‘जति धेरै मार्सी उत्पादन गर्‍र्यो त्यति धेरै पैसा आम्दानी हुन्थ्यो तर दुःखअनुसार मार्सी उत्पादन नहुँदा समस्या छ।’

देशमा मार्सी चामलको ब्रान्ड बनेपछि व्यापारी घरमै पुगेर प्रतिकिलो एक सय रुपैयाँमा मार्सी चामल खरिद गर्न थालेका हुन्। केही वर्ष यता सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत जिल्लामा मार्सी चामल बिक्री गर्दै आएका व्यापारी एकराज गौतमले बजार मागअनुसार मार्सी आपूर्ति गर्न नसकेको बताए। काठमाडौंमा मार्सी बेच्दै आएकी सन्जु तिमिल्सिनाले ग्राहकको मागअनुसार मार्सी चामल आपूर्ति गर्न नसकेको बताइन्। उनका अनुसार मार्सी चामलबाट कृषकभन्दा व्यापारीलाई दोब्बर फाइदा छ। 

उत्पादन कम, माग बढी

जुम्लामा उत्पादन हुने मार्सीसँगै अर्गानिक वस्तुको माग बढे पनि यसको उत्पादन भने घटेको छ। जिल्ला कृषि कार्यालयका अनुसार खेतीयोग्य जमिनमा अव्यवस्थित सहरीकरण र जलवायु परिवर्तन बढ्दै जानु, बालीचक्र फेरिनु तथा पछिल्लो पुस्ताको कृषिप्रतिको मोह घट्नुका कारण मार्सी उत्पादनमा कमी आएको कृषि विज्ञ धनप्रसाद देवकोटाले बताए।

कृषक गोरीकला रोकायाका अनुसार मार्सीमा ब्लास्ट जस्ता रोगको संक्रमणले गर्दा उत्पादन घट्दै गएकोे हो। व्यापारीका अनुसार बजारमा वार्षिक हजारौं मेट्रिकटन मार्सीको माग छ। तर, जिल्लाका कृषकले उत्पादन गरेको सबै मार्सी बिक्री हुँदैन। आफूलाई खाएर बचेको मात्रै मार्सी बेच्ने चलन छ।

कालिकोटमा लोप हुँदै मार्सी

झण्डै ३० वर्ष अघि कालिकोटमा सेतो चामल देख्नै पाइँदैन थियो। त्यो बेला करिब २६ दिन लगाएर भोट (चीन) र मधेस (तराई)बाट थाप्लोमा नुन बोकेर खान बाध्य यहाँका नागरिकले कहिल्यै चामल किनेर खाएनन्। जिल्लामा प्रसस्त मात्रामा कालो मार्सी उत्पादन हुन्थ्यो। सोही मार्सीको रातो चालमको स्वादले स्थानीयको भोको पेट भरिन्थ्यो। तर, पछिल्ल्लो समय जिल्लामा मार्सी लोप हुँदै गएको छ।

मेहनतअनुसार मार्सी नफल्दा स्थानीयले यसको खेती गर्न छोडेका हुन्। गाउँगाउँमा हाटबजार विस्तारसँगै सेतोे चामलको पर्याप्त उपलब्धताले कालो मार्सीकोे खेतीतर्फ स्थानीयको आकर्षण घटेको हो। जिल्लाको रास्कोट नगरपालिका २ का परिलाल न्यौपानेले भने, ‘केही वर्षअघि रास्कोटको मार्सी मुगुको गमगडी र सुर्खेतसम्म बिक्री हुन्थ्यो, अहिले गाउँमा कहिलेकाँही खानका लागि समेत पाइदैन।’

झण्डै ५ रोपनी खेतमा मार्सी धानकै खेती गर्ने जिल्लाका अगुवा किसान न्यौपाने अहिले व्यावसायिक तरकारी खेतमा लागेका छन्। पाँच बोरा धान फल्ने खेतबाट २५ बोरा चामल किन्न सकिने गरी तरकारी फलाउन थालेको उनले बताए। तिलागुफा नगरपालिकाका कृषक टेकबहादुर शाहीले मार्सी संरक्षणका लागि अभियान थाल्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.