पदयात्रा क्षेत्रमा सडक सञ्जाल

पदयात्रा क्षेत्रमा सडक सञ्जाल

पोखरा : अन्नपूर्ण, धौलागिरिलगायत हिमाली क्षेत्रको पदयात्रा मार्गमा सडक सञ्जाल बिस्तारसँगै वैकल्पिक पदयात्रा मार्ग नबन्दा पदयात्रा पर्यटन जोगाउन मुस्किल भएको पर्यटन व्यवसायीले बताएका छन्।

हिमाली क्षेत्रको पदयात्रा सडक सञ्जाल विस्तारसँगै पर्यटकको नेपाल बसाइ पनि घटेको छ। एक दशक अघिसम्म अन्नपूर्ण क्षेत्रका पदयात्राका लागि आउने पर्यटक पदयात्रा क्षेत्रमा एक महिनासम्म बिताउँथे। पदयात्राअघि र पदयात्राबाट फर्केपछि पर्यटक ४ देखि ५ दिनसम्म पोखरामा बिताउने पर्यटन व्यवसायीले बताएका छन्।

हिमाली क्षेत्रको पदयात्रा मार्गमा सडक विस्तारपछि पनि वैकल्पिक पदयात्रा मार्ग बनाउनतर्फ ध्यान नदिँदा हिमाली क्षेत्रको पदयात्रामा आउने पर्यटकको पोखरा बसाइ मात्र होइन हिमाली क्षेत्रका पर्यटकीय गाउँको बसाइसमेत छोटिएको पोखराका पर्यटन व्यवसायीले बताएका हुन्।

बस्ती नभएका हिमाली क्षेत्रका पदयात्रा मार्ग तिलिचो ताललगायत क्षेत्रमा पनि डोजर चलाएर मोटरबाटो बनाउँदा यो समस्या जटिल बन्दै गएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको पदयात्रा विश्वमै उत्कृष्ट दश पदयात्राभित्र पर्दथ्यो।

सडक सञ्जालले अहिले अन्नपूर्ण संरक्षण क्षेत्रका पदयात्रा मार्ग ध्वस्त भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए। नेपालकै पर्यटन व्यवसाय पदयात्रा पर्यटनबाट सुरु भएको हो। पोखरा आउने पर्यटकमध्ये ६० प्रतिशत बढी पदयात्राकै लागि आउने गरेको अध्यक्ष पोखरेलले बताए। पदयात्रा मार्ग सडक सञ्जालले ध्वस्त भएकाले नयाँ वैकल्पिक मार्ग सञ्चालन गर्न ढिलाइ गर्न नहुने उनले जोड दिए।

विकाससँगै अन्तर्राष्ट्रिय महत्त्वको पदयात्रा मार्ग संरक्षण गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का केन्द्रीय अध्यक्ष खुमबहादुर सुवेदीले टान पश्चिमाञ्चल पोखराको २६औं साधारणसभामा बुधबार बताए।

मुख्य आकर्षण र गन्तव्य बनेको अन्नपूर्ण संरक्षण क्षेत्रको सबैभन्दा चल्तीको पदयात्रा राउन्ड अन्नपूर्ण (थोरङपास) ५ हजार ४ सय १६ मिटर उचाइको भञ्ज्याङ पास गर्नुपथ्र्यो। यस पदयात्रा मार्ग लमजुङको बेसीसहरबाट सुरु गरी मनाङको ताल गाउँ, चामे, थोरङपास गरी मुस्ताङको मुक्तिनाथ निस्केर तातोपानी, घोरेपानी हुँदै पर्यटक २१ दिन लगाएर पोखरा झर्दथे।

उच्च हिमाली क्षेत्रको पदयात्रा जानुअघि पर्यटक दुई तीन दिन पोखरा बस्थे। फर्केर आएपछि थाकेका पर्यटक दुई तीन दिन पोखरा बसेर फर्कने गर्दथे। हिमाली पदयात्रा मार्गमा सडक सञ्जालको सहज पहुँचले पर्यटक पोखराको मात्र नभएर पदयात्रा क्षेत्रका गाउँमा समेत पर्यटकको बसाइ घटेको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले बताए।

सडक सञ्जालले एक हप्तामा छोटिएको राउन्ड अन्नपूर्ण पदयात्रा मार्गको पदयात्रा अवधि बढाउन नयाँ वैकल्पिक पदयात्रा मार्गको खोजी गरी सञ्चालनमा ल्याउनुपर्ने उनले बताए। नयाँ वैकल्पिक पदयात्रा मार्गको रूपमा टानले कास्कीको सिक्लेस नजिकैको हिमाली क्षेत्रको कफुचे हिमताल, हिँडन लेकलगायत पदयात्रा मार्गको अध्ययन गरी पर्यटक जान थालेको उनले बताए। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण नर्थ बेसक्याम्पको पनि अध्ययन गरी व्यावसायिक रूपमा नयाँ पदयात्रा मार्ग सञ्चालन गरिने योजना रहेको उनले साधारण सभामा सुनाए।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष गमबहादुर पुनले म्याग्दीको पर्यटकीय क्षेत्र प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताए। विश्वमै पहिलोपटक ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको स्थल अन्नपूर्ण नर्थ बेसक्याम्पलगायत क्षेत्र प्रवद्र्धनको अभावमा पछि परेको बताएका थिए।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले हिमाली क्षेत्रमा मात्र नभएर दक्षिण क्षेत्रमा पनि पदयात्रा मार्गको सम्भावना अध्ययन गरी विकास गरिनुपर्ने बताए। हिमाल सँगसँगेै साँस्कृतिक पदमार्गको रूपमा गाउँको पर्यटन विकास गर्नुपर्ने उनले सुझाए। चरा, गैडा, हात्ती अवलोकन गर्ने गरी नवरपुर क्षेत्रको पर्यटन विकासमा उनले जोड दिए। समयको महत्त्व बुझेर भाषण र आसन ग्रहणमा समय बिताउने परम्परागत शैलीको अन्त्य अब सबैले गरेर कामलाई प्राथमिकता दिनुपर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.