लिटिल बडी प्रि स्कुल नेपालमा, यस्तो छ पाठ्यक्रम
काठमाडौं : प्रि स्कुलको पढाइका लागि विश्वसनीय संस्था लिटिल बडीले नेपालमा पनि सेवा प्रारम्भ गरेको छ । बेलायती शैलीमा पढाइ हुने यसको कार्यालय भारत र बेलायतमा छ । उक्त संस्थाको बिहीबारदेखि राजधानीमा एक कार्यक्रम गरेर सेवा प्रारम्भको घोषणा गरेको हो । नक्सालको काठमाडौं मेरिअट होटलमा आयोजित एक कार्यक्रममा सेवा प्रारम्भको घोषणा गरिएको हो । 'विद्यार्थी केन्द्रित सिकाइको अभियानमा एउटा इँटा थप्ने उद्देश्यले हामीले लिटिल बडीलाई नेपालमा भित्रयाउन लागेका हौं,' लिटिल बडी नेपालका निर्देशक दिनेश लामाले भने।
सेवा प्रारम्भसँगै लिटिल बडीको लोगोमा नेपालमा प्रि स्कुल सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थालाई अनुमति लिन सजिलो हुने आयोजकले विश्वास लिएको छ । यस संस्थाको चेन भित्र रहेर सञ्चालन हुने स्कुलमा विद्यार्थीलाई किताबीभन्दा व्यवहारिक ज्ञानमा आधारित रहेर पढाइन्छ ।
अर्लि इअर फाउन्डेसन स्टेज (इवाइएफएस) पाठ्यक्रममा आधारित रहेर पढाइ हुने भएकाले यो संस्थाको चेनमा रहेर पढाइ हुने स्कुलको सिकाइ स्तरीय हुने आयोजकले विश्वास लिएको छ ।विशेषगरी डेढ वर्षदेखि पाँच वर्ष अवधिका विद्यार्थीको सीप, ज्ञान तथा आफूले जानेको विषयलाई आफै प्रस्तुत गर्न सक्ने गरी यो पाठ्यक्रम तयार गरिएको छ।
यसले विशेषत सात विधामा जोड दिन्छ । यसमा विद्यार्थीको रुचि र आवश्यकतालाई प्राथमिकता दिइन्छ । सहजकर्तालाई पनि विद्यार्थीकै रुचीअनुसार पढाउन सजिलो हुनेगरी पाठ्यक्रम तयार गरिएको संस्थाका अर्का निर्देशक महेश घिमिरेले बताए ।
लिटिल बडीअन्तर्गत अहिले भारतमा मात्र ६१ वटा विद्यालय सञ्चालनमा छन् । छिट्टै दक्षिण एसियाका अन्य मुलुकमा समेत सञ्जाल विस्तार गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ।