अर्बपतिहरूलाई आग्रह

अर्बपतिहरूलाई आग्रह

खराब राजनीतिका कारण अर्थतन्त्र भेनेजुएला, ग्रिस या अन्य कयौं देशमा जस्तै तीव्र संकटमा पर्‍यो भने त्यसको पहिलो दर्दनाक सिकार अर्बपतिहरू हुनेछन्


दसैंको बिदामा केही अर्बपति व्यवसायीहरूसँग विभिन्न सन्दर्भमा भेट भयो। अनौपचारिक कुराकानीमा धेरैले मनको बह पोखे। एकजना व्यवसायीले भने, ‘हेर्नोस्, हामी हरेक वर्ष दुईवटा वार्षिक रिपोर्ट बनाउन बाध्य छौं। एउटा वास्तविक खर्च विवरण, आफ्ना लागि। दोस्रो, नाफा कम देखाइएको रिपोर्ट, कर कार्यालयका लागि। र, अझ कहिलेकाहीं त व्यवसायीहरू तेस्रो रिपोर्ट बनाउन पनि बाध्य हुन्छन्। थप ऋण लिन सहज होस् भनी आयव्यय बढी देखाइएको विवरण, बैंकहरूका लागि। त्यसो नगरी चल्दै चल्दैन।’ त्यो कुन हदसम्म सत्य हो या होइन थाहा छैन तर अवस्था ठीक छैन भन्ने चाहिँ स्पष्ट छ।

अर्का एकजनाले भने, ‘तलदेखि माथिसम्मै घुस नखुवाएसम्म फाइल नै सर्दैन। कयौं अवस्थामा प्रधानमन्त्री र उनको पार्टीसम्मलाई कमिसन छुट्याउनु पर्छ। अथवा अन्य कुनै तरिकाबाट कुनै न कुनै प्रकृतिको ‘लाभ’ उनीहरूसम्म पुर्‍याउनै पर्छ। त्यसो नगरे न तपाईंले कुनै आयोजनाका लागि स्वीकृति पाउनु हुन्छ न त कुनै ठेक्का नै। इमानदार भएर काम गर्ने स्थिति नै छैन। अति भइसक्यो !’ उनको भनाइले केही समयअघि मैले भेटेका एकजना अर्को अर्बपतिको याद आयो। उनी काठमाडौंका पाँचतारे होटेलमा हुने पार्टीहरूमा देखिँदैनन्, पत्रपत्रिका र टेलिभिजनमा अन्तर्वार्ता दिँदैनन्। उनी नेपालका सबैभन्दा धनीमध्येका अर्बपति पनि होइनन्। तर उनी गत कयौं वर्षदेखि निरन्तर रूपमा सरकारलाई सबैभन्दा उच्च कर बुझाउनेमध्येका व्यवसायी हुन्। उनी मात्र होइनन्, उनको कम्पनी पनि उच्च कर बुझाउने सूचीमा सबैभन्दा माथितिर पर्दछ।

उनले त्यतिबेला पीडा, आक्रोश र भावपूर्ण रूपमा मलाई भनेका थिए, ‘म यो देशमा एक मिनेट पनि बस्न चाहन्न। यस्ता अपराधीहरूले शासन गरेको देशमा कसरी बस्ने ? न सफा हावामा सास फेर्न पाइन्छ, न सफासँग व्यापार गर्न पाइन्छ, पैसा मात्र भएर के गर्नु ? यो देशमा व्यापारी, व्यापारी होइन, अपराधी भएर बाँच्नुपर्छ।’ देशमा निरन्तर रूपमा सबैभन्दा धेरै कर तिर्नेमध्येको कम्पनीका मालिक जो आफैं पनि उच्च कर तिर्छन्, यो देशमा एक मिनेट पनि बस्न चाहँदैनन् भने यो देशमा समृद्धि कसरी आउला ?

देशको राजनीति ठीक नभई अर्थतन्त्र ठीक हुँदैन। राजनीति यस्तो विन्दुमा पुगिसक्यो कि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, अर्थशास्त्री डा. स्वर्णिम वाग्लेका शब्दमा भन्ने हो भने हाम्रो राजनीति दण्डहीनता, भ्रष्टाचार र अदक्षताको अनन्त शृंखलाबाट यसरी नै चल्दै गए नेपाल फेरि ‘जनता जाग्ने निर्णायक झड्का (टिपिङ पोइन्ट) को प्रतीक्षामा पुग्छ’ र त्यतिबेला ‘आउने आँधीले सबैलाई बढार्छ।’ तर भय कहाँनिर हो भने, त्यो आँधी आउनुपूर्व नै देशको अर्थतन्त्र थेग्नै नसक्ने गरेर विघटनतर्फ उन्मुख भयो भने के होला ? कहिलेकाहीं म सोच्छु, यो देश बन्दा त्यसको सबभन्दा ठूलो फाइदा कसलाई होला ? अनि यो देश बिग्रँदा त्यसको सबभन्दा ठूलो घाटा कसलाई पर्ला ? एकजना अर्बपतिलाई पर्ने घाटा र फाइदा अनि मलाई या त्यस अर्थमा आम सर्वसाधारणलाई पर्ने घाटा र फाइदाका बीचमा आकाश-जमिनको अन्तर छ।

उद्योगी, व्यवसायीहरूले सफा र रूपान्तरणकारी राजनीतिका लागि नैतिक या आर्थिक जे सकिन्छ, त्यही सहयोग इमानदारीपूर्वक नगर्ने हो भने, तपाईंहरूले भोलि मृत्युशְयाबाट जीवनलाई फर्केर हेर्दा स्वाभिमानको होइन, पश्चत्तापको सास फेरेर बिदा हुनुपर्नेछ।

हाम्रो आफ्नो उत्पादनमूलक उद्योग अत्यन्त न्यून छ। व्यापार घाटा उच्च छ। देशले बल्लबल्ल एक खर्ब रुपैयाँको निर्यात गर्दा हामी पेट्रोलियम पदार्थ मात्र दुई खर्ब रुपैयाँबराबरको आयात गर्छौं। कूल व्यापार घाटा ११ खर्ब रुपैयाँको हाराहारीमा छ। अर्थनीति वैदेशिक लगानीमैत्री छैन। विश्व बैंकको ’डुइङ बिजनेस इन्डेक्स २०१९’ मा नेपाल धेरै तल ११०औं स्थानमा छ भने सन् १९९४ मा जातीय हिंसाबाट चार महिनाभित्र नौ लाख मानिस मारिएको अनुमान गरिएको अफ्रिकी राष्ट्र रुवान्डा २९औं स्थानमा छ। लगानीमैत्री देशहरूमा नयाँ कम्पनी एकै दिनमा दर्ता हुन सक्छ। हामीकहाँ वर्षौं लाग्न सक्छ। कर प्रणाली झन्झटिलो छ। सुधारको गुञ्जायस शून्य छ।’ डुइङ बिजिनेस इन्डेक्स २०२०’ प्रकशित हुनै आँटेको छ। यति शक्तिशाली सरकार हुँदाहुँदै नयाँ प्रतिवेदनमा पनि हामी २० वटा प्रमुख सुधारक देशहरूमा पर्न सकेका छैनौं।

हाम्रो कूल गार्हस्थ्य उत्पादनलाई सदा अनिश्चित हुने आकाशे पानीमा आधारित कृषिले निर्धारण गर्छ। वैदेशिक रोजगारमा गएका दसौं लाख युवाले पठाएको रेमिट्यान्स रकम हाम्रो सिंगो अर्थतन्त्रको आकारको अनुपातमा झण्डै एकतिहाइ पुगेको छ। नयाँ रोजगार सिर्जना न्यून छ। व्यापार, व्यवसायमा शुद्ध काम गर्न खोज्नेभन्दा बिचौलियाहरूको हालिमुहाली छ। याराना पुँजीवाद (क्रोनी क्यापिटलिजम) ले अर्थतन्त्र गाँजेको छ। समग्र अर्थतन्त्रलाई कुनै पनि बेला भीरबाट खसाल्न सक्ने खतरनाक अवस्थामा राजनीति आसीन छ।

हो, नभएसम्म केही पनि हुँदैन, र हामीलाई लाग्छ, यसैगरी चलेको वर्षौं भइसक्यो। केही पनि हुँदैन। तर भएपछि एकैपटक हुन्छ र धान्नै नसक्ने गरेर हुन्छ। सन् २००८ को विश्व आर्थिक संकटको असर संसारभरि एकैपटक फैलिन लामो समय लागेन। शान्त, सुन्दर अफगानिस्तानको राजनीति बिग्रिएपछि त्यहाँका धनाढ्यहरूलाई देश छाडेर जान र शरणार्थी बन्न धेरैबेर लागेन। रूसको अर्थतन्त्र बिग्रिएपछि त्यहाँका कतिपय अर्बपति नेपाली व्यवसायीलाई पनि रूसको व्यवसाय लगभग बन्द गरेर अन्यत्र सार्न धेरै वर्ष लागेन। खासगरी नेपालजस्तो निरन्तर रूपमा अस्थिर राजनीति र जोखिमपूर्ण अर्थतन्त्र भएको देशमा जब स्थिति बिग्रन्छ, त्यो एकैपटक भताभुंग हुन सक्छ।

राजनीति बिग्रँदा अर्थतन्त्र कसरी बिग्रन सक्छ भन्ने एउटा ज्वलन्त उदाहरण दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला हो, जसले आधुनिक इतिहासमै सबैभन्दा नराम्रोमध्येको आर्थिक संकट बेहोरिरहेको छ। तेलधनी भेनेजुएला सन् १९७० र ८० को दशकमा दक्षिण अमेरिकाकै सबैभन्दा समृद्ध देश थियो। प्रतिव्यक्ति आय १५ हजार डलरसम्म पुगेको थियो। सन् ९० को दशकमा तेल बिक्रीमा आएको संकटका कारण देशमा गरिबी बढ्यो। सन् २००० तिर तेलको मूल्यमा सुधार आएपछि राष्ट्रपति ह्युगो चाभेजले लोकप्रियतावादी समाजवादी कदम लागू गरे।

केही समय त ती कदम साँच्चिकै लोकप्रिय भए, तर लोकप्रियतावादी कदममा दूरदृष्टिको अभाव भयो भने त्यसले दीर्घकालमा क्षति पुर्‍याउँछ। भेनेजुएलामा त्यस्तै भयो। मुद्रास्फीति बेस्कन बढ्न थाल्यो र अहिले एक करोड प्रतिशत पुगेको छ। त्यो भनेको कुनै बेला एक रुपैयाँ पर्ने सामानलाई एक करोड रुपैयाँ पर्नु हो। भेनेजुएलाको आर्थिक संकटका कारण चालीस लाख नागरिक देश छाडेर अन्यत्र गइसके। गत वर्ष मात्र दिनको पाँच हजारको दरले नागरिकहरू देश छाडेर भागे। बेरोजगार अर्को वर्ष ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ। भेनेजुएलाकै स्तरमा नभए पनि ग्रिस, जिम्बाबे, अर्जेन्टिना, इरान, रूस सबैले नराम्रो मुद्रास्फीतिको सामना गरिरहेका छन्।

नेपालको राजनीति यस्तै रहने हो भने नेपालको अर्थतन्त्र कुनै पनि बेला भयावहपूर्ण हिसाबले संकटमा नजाला भन्न सकिँदैन। अर्थतन्त्र संकटमा गयो भने त्यसको पहिलो दर्दनाक सिकार तिनै हुनेछन्, जो अर्बौंका मालिक छन्। अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएपछि अर्बपतिहरूको अर्बौंको सम्पत्तिको भाउ भेनेजुएलामा जस्तै कौडीको मूल्यमा झर्न समय लाग्दैन। त्यस्तो अवस्थामा उच्च, मध्यम, मध्यम र निम्न वर्गहरू मारमा नपर्ने होइनन्। आर्थिक संकट हुँदा क्रयशक्ति स्वाट्टै घट्छ। बाँच्नका लागि हातमुख जोर्न धौधौ हुन्छ। सरकारले तलब, वृद्ध भत्ता, पेन्सन दिन सक्दैन। विकृत राजनीतिको प्रभाव सरकारको अकर्मण्यतामा मात्र सीमित रहँदैन, त्यसले हरेक परिवार र नागरिकको जीवन कष्टकर बनाउँछ। तर आफ्नो देशभित्र रहेको अर्बौंको सम्पत्ति गुमाउने त अर्बपतिहरू नै हुन्छन्। उनीहरूको सम्पत्ति, समृद्धि, सुख, शान्ति र स्वाभिमानको दिगो सुनिश्चितता इमानदार र क्षमतावान् नेतृत्वबाट मात्र सम्भव छ। भ्रष्ट, क्षमताहीन र दूरदृष्टिविहीन नेतृत्वबाट त्यो सुरक्षित हुन सक्दैन।

अहिलेको अवस्थामा व्यवसायीहरूले एउटा ठूलो नयाँ व्यवसायका लागि अनुमति लिन कतिपय अवस्थामा पाँच वर्ष लगाएर खरदारदेखि प्रधानमन्त्री र प्रधानमन्त्रीको पार्टीसम्मलाई भाग छुट्ट्याउनुपर्ने अवस्था छ। देशमा सुशासन स्थापित भयो भने त्यो काम घुस नखुवाई ५ महिनामैै फत्ते हुन सक्छ। त्यसको अर्थ, तपाईंहरू पखेटा फिँजाएर व्यापार विस्तार गर्न सक्नुहुन्छ। केही करोडको नाफा दसौं करोडमा बढ्न सक्छ। अर्बको सम्पत्ति दसौं अर्बमा फैलिन सक्छ। त्यति हुँदाहुँदै पनि तपाईंहरू कुशासन र भ्रष्टाचारविरुद्ध किन बोल्नु हुन्न ? त्यति हुँदाहुँदै तपाईंहरू तिनै पार्टी र तिनै नेतालाई किन सहयोग गर्नु हुन्छ ? किन अझै राजनीतिक शुद्धीकरणमा ‘लगानी’ गर्न चाहनु हुन्न ? जुन शुद्धीकरणले तपाईंहरूका लागि आमूल रूपान्तरणकारी, उद्यममैत्री वातावरण निर्माण गर्न सक्छ ? त्यो तपाईंहरूलाई थाहा नभएको होइन। तर प्रमुख राजनीतिकर्मीलाई चिढ्याउँदा व्यापार, व्यवसायमा विनाशकारी असर पर्ला भन्ने तपाईंहरूलाई डर छ।

काठमाडौंमा महलमै बसेर घरको झ्यालढोका टपक्कै लगाउँदासमेत तपाईंका बूढा बाउआमा र छोराछोरीले स्वच्छ हावाको सास फेर्न पाउँदैनन्। घरभित्र आउने हावा फिल्टर भएर आउने होइन। त्यो यस्तो हावा हो, जसले कुनै पनि बेला कसैलाई पनि क्यान्सर, हृदयाघात, मस्तिष्कघात, दमजस्ता गम्भीर रोग लाग्न सक्छ। प्रदूषित हावाले अर्बपति र भिखारी भन्दैन। तपाईं दुई करोड रुपैयाँको मोटर चढ्नु होला, तर काठमाडौंको फोहोर र भत्केको बाटोमा न तपाईं सो मोटरको आनन्द लिन सक्नु हुन्छ, न स्वच्छ बतासको स्पर्श नै। हावा या समग्र वातावरणको गुणस्तर राजनीतिसँगै जोडिएको छ। आपत्कालीन स्थिति भनेको जोकोहीलाई आइलाग्न सक्छ। आपत्कालीन स्वास्थ्य समस्या आइपर्‍यो भने तपाईंको घरको छतमा हेलिकोप्टर बस्दैन, यहींको बाटो भएर अस्पताल लानुपर्छ। बाटोमा ट्राफिक जाम भयो भने तपाईंको आफन्तको पनि मृत्यु हुन सक्छ। मेरो आफन्तको पनि मृत्यु हुन सक्छ। मृत्युले अर्बपति र लखपति भन्दैन। बाटो र ट्राफिक व्यवस्थापनमा सुधारको विषय दूरदर्शी नेतृत्वसँग जोडिएको छ।

मैले केही उदाहरण मात्र प्रस्तुत गरेको हुँ। ती उदाहरणसँग म एउटा प्रसंग जोड्न चाहन्छु। मेरा एकजना मित्र छन्। उनका २१ बर्से छोरा अमेरिकाको एउटा राम्रो विश्वविद्यालयमा छात्रवृत्तिमा पढ्दैछन्। ती मेरा मित्र आफ्नो छोरा पढाइ सकेर केही वर्ष काम गरेपछि नेपाल फर्किदेओस् भन्ने चाहन्छन्। एक दिन मेरो उपस्थितिमा मेरा मित्रले छोरालाई नेपाल फर्किन प्रेरित गर्न थाले। बुवाले अलि बढी नै प्रवचन दिएपछि छोरालाई असह्य भएछ र उनले पनि एउटा विन्दुमा पुगेपछि प्रवचन नै दिए :

आजको जवानामा हामीजस्ता युवा आफूलाई ग्लोबल सिटिजन (विश्व नागरिक) सम्झन्छौं। हामीलाई जहाँ बसे पनि फरक पर्दैन। तपाईंहरू र हाम्रा नातेदारहरूबाहेक म नेपाल फर्किनुपर्ने अरू कारण के छ ? के मैले नेपालमा राम्रो जागिर पाउँछु ? के मैले राम्रो तलब पाउँछु ? मैले के सहज जिन्दगी पाउँछु ? मैले के छोराछोरीका लागि राम्रो स्कुल पाउँछु ? तपाईंहरूले त जीवनमा धेरै दुःख पाउनुभयो, के अब मलाई पनि त्यस्तै दुःख पाओस् भन्ने चाहनुहुन्छ ? म यहाँ आउनेबित्तिकै काठमाडौंको वातावरणका कारण मेरो नाक, घाँटी र छाती खराब हुन्छ, दिनदिनै विषादी हालेको तरकारी खानुपर्छ, सरकारी कार्यालयमा सानो काम गर्न पर्‍यो भने घुस खुवाउनुपर्छ। धाराको पानी खान हुँदैन, सधैं जारको पानी पिउनुपर्छ। तपाईंहरू पो अलि बूढो हुनुभयो, मेरो त सिंगै जिन्दगी बाँकी छ। बरू म त पढाइ सकेर जागिर पाएपछि तपाईंहरूलाई पनि उतै लिएर जान चाहन्छु। जिन्दगीभरि हाम्रा लागि दुःख गर्नुभयो, अब बाँकी जीवन सुख गर्नोस् भन्न चाहन्छु। त्यो मेरो दायित्व पनि हो।

छोराको प्रवचन सुनिसकेपछि मेरा मित्र अवाक् भए। आजका अधिकांश युवाहरूले सोच्ने त्यसैगरी हो। अब ती मेरा मित्रको परिवारलाई धनाढ्यहरूको परिवारसँग तुलना गरौं, जसको यो देशमा करोडौं, अर्बौंको लगानी छ। उनीहरूका पनि छोराछोरी विदेशका विशिष्ट विश्वविद्यालयमै पढ्छन्। तर के उनीहरू विदेशमा राम्रो जागिर पाउँदा आफ्ना आमाबुवा उतै लैजाने अथवा नेपालमा भएको सम्पत्ति बेचबिखन गर्ने अवस्थामा हुन्छन् ? सुरक्षित भविष्यको खोजीमा जसरी दसौं लाख आम सर्वसाधारणलाई बसाइँ सर्न सजिलो छ, देशमा ठूलो लगानी भएका धनाढ्यहरूलाई त्यसो गर्न गाह्रो छ।

तर व्यवसायीहरू निरन्तर परिबन्दमा छन्। भ्रष्ट राजनीतिकर्मीलाई खुसी नपारौं व्यवसाय डुब्ला भन्ने डर, पारौं। अर्बपति भएर पनि स्वाभिमानपूर्ण जिन्दगी बाँच्नै नसक्ने स्थिति। परिणामस्वरूप तपाईंहरूमध्ये कयौं आफू प्रत्यक्षरूपमा संलग्न नभए पनि अनेकौं तरिकाबाट राजनीतिकर्मीहरूले हालेको जालोमा फस्नुभएको छ। आफ्नो व्यापार जोगाउन र प्रवर्धन गर्न तिनै भ्रष्टहरूसँग साँठगाँठ गर्न अभिशप्त हुनुहुन्छ। त्यो बन्धन तपाईंहरूले साहस गरेर तोड्नै पर्छ। तोड्न सकिन्छ।

तपाईंहरूजस्ता उद्योगी, व्यवसायीले सफासँग व्यापार, व्यवसाय गर्ने वातावरण नबनेसम्म देशको समृद्धि सम्भव छैन। देश समृद्ध भएन भने तपाईंहरूलाई व्यक्तिगत, पारिवारिक समृद्धिको पनि स्वाद आउने छैन। निसन्देह रूपमा, तपाईंहरू देश रूपान्तरणको प्रमुख संवाहक हुनुहुन्छ। तर कहिलेसम्म जानीजानी यिनै भ्रष्टहरूको वरिपरि घुमिरहनु हुन्छ, या यिनीहरूलाई घुमाइरहनु हुन्छ ? अब पनि तपाईंहरूजस्ता उद्योगी, व्यवसायीहरूले सफा र रूपान्तरणकारी राजनीतिका लागि नैतिक या आर्थिक जे सकिन्छ, त्यही सहयोग इमानदारीपूर्वक नगर्ने हो भने, तपाईंहरूले भोलि मृत्युशְयाबाट जीवनलाई फर्केर हेर्दा स्वाभिमानको होइन, पश्चत्तापको सास फेरेर बिदा हुनुपर्नेछ।

-मिश्र साझा पार्टीका संयोजक हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.