यसरी बनाउन सकिन्छ सभ्य समाज र भव्य राष्ट्र
जुन राष्ट्रका नागरिक आफ्नो कर्तव्यमा दृढ हुन्छन्, त्यही राष्ट्र सबल बन्छ। जुन समाजमा चरित्रवान् मानिसको वर्चश्व हुन्छ त्यो समाज सभ्य बन्छ। सामाजिक सुख, शान्ति र प्रगतिको मापन पनि त्यही हो। बोलेको र सपना देखेको भरमा न कुनै समाज सभ्य हुन्छ, न हाम्रो राष्ट्र सुन्दर र भव्य मानिन्छ न त देखाइएको सपना पूरा हुन्छ। यसका लागि हरेक क्षेत्रमा कर्मशील र सक्रिय बन्न सक्नुपर्छ। अनि नियम, कानुन र अनुशासनको दायरामा बसेर समाज सभ्य बनाउँदै राष्ट्रको भव्यता झल्काउन सक्ने छौं।
नागरिक र नैतिक शिक्षा सभ्य, अनुशासित, सहयोगी, परोपकारी समाज निर्माणका आधार हुन्। यो घरबाटै लिइने शिक्षा पनि हो। शिक्षाले सामाजिक सद्भाव, एकता र मेलमिलापमैत्री व्यवहार निर्माण गर्न सहयोग गर्छ। विनाअध्ययन समाज अघि बढाउन सकिँदैन। मिलेर काम गर्ने, आफ्ना विचार अरूलाई बुझाउने र अरूका विचार पनि बुझ्न शिक्षा आवश्यक हुन्छ। हाम्रो समाज बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय मि िश्रत छ। यी समुदायका आआफ्ना मूल्यमान्यता, रीतिरिवाज, चालचलन, प्रचलन र संस्कृतिहरू छन्। आआफ्नै चाडपर्व, भेषभूषा, पेसा र जीवनशैली पनि। यी विविधतालाई एकले अर्काको मान्यता, इज्जत, सद्भाव र अस्तित्वलाई स्वीकार गर्ने कडी हो, शिक्षा। त्यसमा हामी अग्रसर हुनैपर्छ।
लेखपढ गर्ने चलन युरोपमा चौधौं शताब्दीदेखि निरन्तर विकसित भएको हो। यो एउटा सांस्कृतिक आन्दोलनकै रूपमा त्यहाँ स्थापित भए पनि हाम्रा ऋषिमुनिहरू पहिलेदेखि यसमा अग्रसर थिए। तर पश्चिमाले त्यसलाई व्यवहारमा उतारे र थप अध्ययनलाई निरन्तरता दिए। अध्ययनको आन्दोलन इटलीदेखि सुरु भएर युरोपभरि फैलिएको हो। क्रमशः शिक्षामा आएको परिवर्तनले समाज सुधार हुँदै गयो। हरेक क्षेत्रमा मान्छेको सोचमा पनि परिवर्तन हुँदै दायरा फराकिलो हुन थाल्यो। सामाजिक विकासका साथै सभ्यता निर्माण पनि हुन्छ। र, हामी यतिबेला स्मार्ट सिटीको परिकल्पना गर्छौं। आधुनिक सहरका ठूला डिङ हाँक्छौं। तर, खोइ त एकअर्कामा सहकार्य ?
शिक्षा लिने मानिस स्मार्ट सिटी अर्थात् हरेक आधुनिक विषयले सुविधासम्पन्न सहरमा मात्र हुन्छन् भन्ने पटक्कै होइन। गाउँमै बसेका पनि शिक्षित, सभ्य, कर्मशील र देशभक्त हुन सक्छन्। तिनैको सभ्य र सुन्दर व्यवहारले सुसज्जित समाज नै भव्य राष्ट्रको परिचय बन्न पुगेको पनि हुन्छ। हामीले तर हरेक राष्ट्र सहरले मात्र बनेको त हुँदैन। टोल, गाउँ, नगर र सहर मिलेर राष्ट्र बनेको हुन्छ। त्यसको मुख्य पात्र जनता हुन्। कानुनसम्मत जीवन बाँच्ने मानिस पनि हुनुपर्छ र यसका लागि राज्यमा दह्रो जनताले सहज रूपमा स्विकार्न सक्ने कानुन निर्माण हुनैपर्छ।
नत्र न राष्ट्र वास्तविक राष्ट्र बन्छ न त जनताको जीवनस्तर उकासिन्छ। सभ्य र भव्य राष्ट्रको गफ टेलिजिनको काचमा हेर्दैगर्दा कानमा गुन्जिन्छ अनि भन्न मन लाग्छ, ‘गफभन्दा काममा अग्रसर होऔं।’ हाम्रो सभ्यताको विषय पनि सँगै। समाजशास्त्रका विद्वान्द्वय स्यामुअल हन्टिङटन र फ्रान्सिस फुकुयामाबीचमा समेत सभ्यताका विषयमा मतभेद थियो। फुकुयामाले सोभियत विघटनको सँघारमा पर्दा नै पश्चिमी उदार प्रजातन्त्र मानव जातिको सामाजिक र सांस्कृतिक विकासको अन्तिम विन्दु भन्दै त्यसको स्वरूप उदार प्रजातन्त्रले नै दिन्छ भन्थे। उनी उनको तर्क थियो, ‘कम्युनिजम सकिन्छ।’ उनकै गुरु मानिने स्यामुअलको तर्क फरक थियो, ‘सांस्कृतिक र धार्मिक पहिचानको खोजी हुन्छ र त्यसको आन्दोलनले शीतयुद्धपछिको संसारलाई आक्रान्त पार्नेछ।’ उनको द क्ल्यास अफ सिभिलाइजेसन पढ्दा ‘उदारवादी प्रजातन्त्र खतरामा छ।’ यसरी समाज बाझिएको धारमा अघि बढेको छ।
जुन देशका हरेक नागरिक सचेत र चेतनशील हुन्छन् त्यो देश पनि सभ्य र भव्य राष्ट्रको सोपान चढ्न सक्षम हुन्छ।
यसलाई बलियो बनाउने पाटो भनेको शिक्षा नै हो। यसको जगमा बनेको समाज नै एउटा सुन्दर र भव्य राष्ट्रको परिचय दिन सक्छ। जबसम्म हामी आफूआफूमा एउटा असल संस्कारको विकास गरेर सर्वेसर्वा ठान्ने सर्वसत्तावादी, अहंकारवादी सोच परित्याग गर्दैनौं तबसम्म सभ्य समाज र भव्य राष्ट्र तयार हुनै सक्दैन। यसैले जब राष्ट्र समाज, गाउँ, संघ र परिवार सभ्य हुन्छ तब मात्र एउटा राष्ट्र साँचो रूपमा भव्य बन्न सक्छ। तर यो राष्ट्र भव्य र सभ्य बन्न जनताको मनोभावना सामूहिक रूपमा मिल्नुपर्छ।
नेतृत्वमा रहनेले राष्ट्रको पनि आर्थिक उन्नतिलाई नियाल्न सक्नुपर्छ। जनता र मुलुकको आर्थिक उन्नति नभई कुनै पनि राष्ट्र समृद्ध हुनै सक्दैन। यसका लागि शतप्रतिशत नागरिक साँचो रूपमा शिक्षित हुनुपर्छ। उनीहरू प्रमाणपत्र र मार्कसिटका आधारमा शिक्षित मात्र भएर पुग्दैन। कुनै पनि सभ्य देशका नागरिक कर्मशील र त्यागी पनि हुनैपर्छ। परिवार, समाज र राष्ट्रप्रति अनि मात्र मुलुक शान्ति र समृद्धितर्फ उन्मुख हुन्छ र विकासको बाटो पनि खुल्छ। यसका लागि निरन्तर अभ्यास जरुरी छ।
निरन्तर अभ्यासले एउटा अबोध बालक त ज्ञान, बुद्धि, विद्या, विवेकको विकास आफूमा गरेर एउटा सफल र विद्वान् मानिस बन्न सक्छ। राष्ट्रका लागि पनि निरन्तर असल काम गर्नाले राष्ट्र पक्कै समृद्धिको सोपानमा चढ्न अग्रसर हुन थाल्छ। जब जनता अनुशासित र कर्तव्यपरायण हुन्छन्, राष्ट्र भव्य बन्न कुनै विरोध नै हुँदैन। राजनीतिक दलमा खिचातानी र वैमनस्य देखिनु हुँदैन। यसले गर्दा जनतामा विचलन आउँछ। नेताहरू पनि उत्कृष्ट सामाजिक परिवेशबाट आएका बौद्धिक वर्ग हुनुपर्छ या सामाजिक जीवन बाँचेको मानिस हुनुपर्छ। हुन त भनिन्छ, नेता समाजकै उपज हो। यही कारणले उनीहरूको जीवन बाँच्ने शैली जनताका भन्दा धेरै फरक हुन हुन्न।
जब जनता र नेताहरूको बाँच्ने शैलीमा अन्तर हुन्न तब राष्ट्रविरोधी गतिविधि हुनै सक्दैन। शिक्षा अभावमा राष्ट्रका लागि गरिने योगदानमा ह्रास आउँछ। ज्ञानको पहुँच सहरमा धनी र सक्नेहरूका लागि मात्र हैन अनकन्टार ठाउँ कुनाकन्दरा र चट्टान भएका पाटाहरूसम्म पनि उत्कृष्ट र सहज बन्नुपर्छ। हरेक नागरिकका लागि शिक्षा, स्वास्थ्य र स्वतन्त्रता गौरव गर्नलायक, सम्मानजनक र निर्भीक स्विकारिने हुनुपर्छ। जुन राष्ट्रका हरेक नागरिक आआफ्नो कार्य क्षमताअनुसार रोजगार प्राप्त गर्छन्, बेरोजगार रहन्न र शिक्षाको चेतना जुन देशमा शतप्रतिशत हुन्छ, त्यो राष्ट्र बन्छ। जुन देशका हरेक नागरिक सचेत र चेतनशील हुन्छन् त्यो देश पनि सभ्य र भव्य राष्ट्रको सोपान चढ्न सक्षम हुन्छ।
जुन प्रेम, सद्भाव दाम्पत्य जीवनमा, सन्तानका साथ, नातेदारी अथवा मैत्रीमा निर्वाह गरिने व्यवहारमा अलिकति मात्र विकसित गर्दै सबै व्यक्तिका साथ व्यवहारमा ल्याउन सकियो भने ‘वसुधैव कुटुम्बम’ को आदर्श पूरा हुन्छ। हुन त, हाम्रो समाजमा राजनीतिक परिवर्तन भए तापनि नागरिक चेतनाको अभावले सामाजिक असमझदारी, जातीय द्वन्द्व, क्षेत्रीय विभाजनजस्ता मनोविज्ञानले विभाजित छ। सहिष्णुता हराएको छ। करमाथि कर जनतालाई थोपरिएको छ। लोकतान्त्रिक मुलुकका हरेक नागरिकले आफ्नो देशमा बनेका नीति, नियम, कानुनले निर्देशित गरेका सिद्धान्तहरूको जानकारी राख्न आवश्यक हुन्छ।
अहिले समाज आफ्नै सन्ततिबाट आमा-बुवा अपहेलित हुने गरेका घटना छन्। नयाँ पुस्ताले आफ्ना आमाबुवालाई नहेर्न सक्छन्। वैवाहिक जीवनका सम्बन्ध-विच्छेदका घटना बढिरहेको तथ्यांकहरूले देखाउँछ। शिक्षाको अभाव नै यसको मुख्य समस्या हो। यसले सभ्य समाज सिर्जनामा वाधा उत्पन्न गरेको छ। सभ्यताबारेमा विलियम जेम्स डुरान्ट ( अर्थात् विल डुरान्ट) ले दर्जन बढी विवेचना गर्दा पनि सभ्यता आफैंमा अधुरो बनेको थियो।
मानव समाजको सकारात्मक प्रगितशील र समावेशी विकास स्थितिलाई उनले बुझाउन खोजे। सभ्यता र संस्कृति उस्तैउस्तै लाग्छ। तर सभ्यतामा भौतिक पक्षप्रधान हुन्छ। संस्कृतिमा महŒव राख्ने वैचारिक पक्षले हो। यसैको फ्युजनका लागि पढ्ने लेख्ने समाज आवश्यक छ। सबै राम्रा कुरा यसैसँग जोडिन्छन्। सभ्यतालाई यसैले आधार दिन्छ। अहिलेको युवा पुस्ताले यसलाई अध्ययन नै गरेका छैनन्। त्यो नहँुदा समस्या देखा परेको पनि छ। लेखपढ नगर्ने समाज सभ्य रहिरहन सक्दैन। बोल्न जति सजिलो केही हुँदैन, बोलेजति लेख्न सके विश्वमा पुस्तक राख्ने थलो हुन्न थियो होला। खँदिलो बोलाइ धेरैजसो पढाइलेखाइ वा व्यक्तिगत अनुभव वा रचनात्मक सोचाइसँग सम्बन्धित रहने हुनाले भव्य र सभ्य राष्ट्रको परिकल्पना शिक्षा नै हो। यसमा कन्जुस्याईं नगरौं।