‘समयमै उड्दैनन् जहाज’

‘समयमै उड्दैनन् जहाज’

जनकपुरधाम : जनकपुरबाट काठमाडौंका लागि उड्ने बुद्ध एयरको १०:३५ बजेको विमान दिउँसो ३ बजे मात्र उड्यो। यात्रु ५ घन्टा ढिलो काठमाडौं पुगे। यति एयरलाइन्सको विमान पनि ३ देखि ४ घन्टा ढिला उड्यो। जनकपुर विमानस्थलबाट हाल प्रत्येक दिन बुद्ध एयरलाइन्सको तीनवटा र यति एयरलाइन्सको दुईवटा विमानले काठमाडौंका लागि उडान भर्ने गर्छन्।

तर, उडान कहिल्यै समयमा हुँदैन। आधा, एक घन्टा ढिलो हुँदा खासै फरक नपरे पनि ३ देखि ४ घन्टासम्म विमान नआउँदा यात्रीले निकै सास्ती खेप्नु परेको छ। सोमबार बुद्ध एयरलाइन्सको जहाज निर्धारित समयभन्दा तीन घन्टा ढिलो भएपछि प्रतिनिधि सभा सांसद प्रमोदकुमार साह झोकमा आएर टिकट काउन्टर नै तोडफोड गरे। उनी हाल प्रहरी हिरासतमा छन्। तर, अति आवश्यक कार्यले महंगो टिकट किनेर जहाजबाट काठमाडौं उड्न खोज्ने यात्रुले समयमा यात्रा नहुँदा निकै अप्ठ्यारो भोग्नु परेको छ।

जहाजको उडान समयमा नहुनुमा एयरलाइन्सहरूको कुनै दोष नरहेको बुद्ध एयरलाइन्स जनकपुर कार्यालयका प्रमुख विजयकुमार सिंह बताउँछन्। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा फ्ल्याइटको संख्या निकै बढी छ’, सिंहले भने, ‘एयर ट्राफिकको समस्याले विमान घन्टौं होल्डमा राखिन्छन्।’ विमानमा यात्रु बसाएर कहिलेकाँही एक घन्टासम्म एयरपोर्टमै होल्ड गरिने हुँदा एयरलाइन्सलाई समेत निकै घाटासमेत बेहोर्नु परिरहेको सिंह बताउँछन्। विमान एक घन्टासम्म होल्ड हुँदा फ्यूल बिनाकारण सकिने हुँदा यसले घाटा बढाउने गरेको छ।

जहाजको उडान ढिला हुनुमा रनवेको क्षमता अभिवृद्धि नहुनु र प्राविधिक कठिनाई भए पनि यात्रीले यसको दोषी एयरलाइन्सलाई नै ठानेर दिनहुँ हो—हल्ला हुने गरेको यति एयरलाइन्स जनकपुर कार्यालयका प्रमुख युवराज घिमिरे बताउँछन्। ‘यात्रीको सिधा सम्पर्क एयरलाइन्ससँग हुन्छ, यस्तोमा दुई तीन घन्टासम्म ढिलो उडान हुँदा यात्री रिसमा आउने गर्छन्’, घिमिरेले भने, ‘सुविधाजनक यात्राका लागि महंगो रकम तिर्ने यात्रुलाई कहिलेकाँही आधा घन्टासम्म विमानमै बसाएर होल्ड गरिदिँदा बन्धक बनाए झैं हुन्छ।’

जनकपुर विमानस्थलमा नाइट भिजन विमान अवतरणको सुविधा नहुँदा थप कठिनाइ भएको एयरलाइन्स कम्पनीहरू बताउँछन्। राति पनि विमान उडाउने सुविधा भयो भने ढिला भएको विमान रद्द नगरी सेवा दिन सकिन्छ। तर अहिले भिजिबिलिटी नहुनेबित्तिकै विमान रद्द हुने गरेको छ। विमान ढिलो हुँदा एयरलाइन्सहरूले यात्रीलाई पानी, एयरपोर्टमा राम्ररी बस्न सक्ने वातावरणसमेत दिन नसक्दा यात्री झन् मर्कामा पर्ने गरेको सर्वसाधारणको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.