आलोचना भएपछि दसैं भत्ता फिर्ता
कपिलवस्तु : कपिलवस्तु नगरपालिकाका जनप्रतिधिले दसैं भत्ता फिर्ता गरेका छन्। नगरपालिकाको कार्यपालिका बैठकले एक महिना बराबरको तलब भत्ताका रूपमा वितरण गरेको थियो। त्यसको चौतर्फी आचोलना भएपछि जनप्रतिनिधिले भत्ता फिर्ता गर्न थालेका हुन्।
कपिलवस्तु नगरपालिका ६ का वडाध्यक्ष ओमप्रकाश पाण्डेयले बिहीबार दसैं खर्च रकम फिर्ता गरेका हुन्। नगर कार्यपालिकाको बैठकका बेला आफू काठमाडौं रहेको हुँदा दसैं भत्ता लिने निर्णय आफूले नगराएको वडाध्यक्ष पाण्डेयले बताए। ‘दसैं भत्तावापतको २५ हजार रुपैयाँ नगरपालिकाको लेखा शाखाबाट खातामा गएको रहेछ’, वडाध्यक्ष पाण्डेयले भने, ‘सो रकम मैले राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखामा रहेको नगरपालिकाकै बैंक खातामा फिर्ता गरेको छु।’
दसैं भत्ता लिने निर्णयप्रति भने यसअघि उपप्रमुख लक्ष्मीदेवी गुप्ताले असहमति जनाएकी थिइन्। नगर कार्यपालिका बैठकले गरेको दसैं खर्च खाने निर्णयउपर निर्णय पुस्तिकामा लिखित रूपमै उनले असहमति जनाएकी थिइन्। खातामा गएको दसैं भत्तावापतको ३० हजार रुपैयाँ उनले नगरपालिकाको बैंक खातामा फिर्ता गरेकी हुन्। वडा नं. १ का अध्यक्ष सुदीप पौडेलले भने आफूले बुझेको दसैं खर्च रकम कपिलवस्तु बाल गृहलाई हस्तान्तरण गरेका छन्।