महराले किन बयान दिएनन् ?
काठमाडौं : यौन हिंसाको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराले प्रहरीसमक्ष बयान दिन इन्कार गरेका छन्। उपचारको क्रममा नर्भिक अस्पतालमा रहेका महराले प्रहरीलाई बयान दिन इन्कार गरेका हुन्।
महराले कमजोर स्वास्थ्यका कारण बयान दिन असमर्थता जनाएको उनका अधिवक्ता मुरारीप्रसाद सापकोटाले जानकारी दिए। ‘उहाँको कमजोर स्वास्थ्यका कारण आज बयान भएन’, उनले भने।
बयान नदिए के हुन्छ ?
उनले प्रहरीले अन्य प्रमाणका आधारमा पनि अनुसन्धान अघि बढाउनसक्ने दाबी गरे। ‘उहाँ(महरालाई) संविधानले नबोल्ने अधिकार पनि दिएको छ। तर, यही आधारमा अनुसन्धार रोकिँदैन’, उनले भने, ‘प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। यदि त्यो समयमा पनि बयान नदिए अन्य प्रमाणको आधारमा प्रहरीले मुद्दा चलाउन सक्छ।’ प्रहरीलाई बयान नदिए पनि अदालतलाई भने बयान दिनै पर्छ।
संसद् सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौन दुरव्यवहार गरेको अभियोगमा महरालाई असोज १८ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि नर्भीक अस्पतालमा राखिएको छ।
पक्राउपछि दसैं बिदा भएका कारण प्रहरीले गत मंगलबार मात्रै महरालाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। जिल्ला अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतले दिएको म्याद शुक्रबार सकिएको छ। निबार सार्वजनिक बिदा भएका कारण प्रहरीले महरालाई आइतबार पुनः अदालतमा हाजिर गराउने छ।