पाँचपोखरी परिक्रमा
म यहाँहरूलाई सिन्धुपाल्चोकको पाँचपोखरी थांगपाल गाउँपालिका-३, भोताङमा रहेको पाँचपोखरी लैजाँदै छु। छिम्तीबाट पाँचपोखरीको यात्रा आरम्भ हुन्छ। पैदलै पैदल। उकालो लाग्दै गर्दा छिम्तीको बिसौनीमा भेटिए फुरसिंगी मेमे (तामाङ भाषामा हजुरबुवालाई मेमे भनिन्छ)। उमेरले ६० टेक्दै गरेका उनी। उकालो यात्रा उनीसँगै मीठो गफमा बढ्यो। थकान भए पनि यात्रा हलुंगो महसुस हुने। देउरालीमा उनको सानो होटल रहेछ। त्यहाँ पुग्दा झिमिक्क साँझ पर्न आँटेको थियो। घडी हेरेँ। सुईले ७ बज्ने तरखर गर्दै थियो। त्यहाँ एकछिन आराम गरी हामी टुपीडाँडासम्म जाने निधो गरी अघि बढ्यौं।
पाँच यात्री थियौं। (गेहेन्द्र, नौला, प्रवीण, विदुर र म) कालीकोटका नौलासिं बटला पहिल्यै पुगेका रहेछन्, बाँकी सबै नौला। त्यसैले पनि हाम्रो यात्रा विशेष थियो नै।
पहिलो दिन देउरालीमाथि पुग्दा साँझ झमक्कै पर्यो। दिनभरिको भ्रमण र निरन्तर हिँडाइको थकान त थियो नै, बाटोमा मोबाइल चार्ज गर्न नपाएकाले ब्याट्रीको मिटर तल झरिसकेको थियो। सबैले घरमा फोन गरी जानकारी गरायौं। पाँचपोखरीतिर फोन नलाग्न सक्छ। चिन्ता नगर्नु। अँध्यारो बढ्दै थियो। एक यात्री साथीसँग पिलपिल बल्ने लाइट रहेछ, अबको सहारा त्यही भयो।
टुपीडाँडा पुग्दा घडीको सुइले नौ बजाएछ। आजको गन्तव्य त्यहीँको थियो। बासस्थल पुगेपछि शरीरले वि श्राम पायो। खुट्टा नियाल्यौं। लेकाली हिँडाइ जुकाले मलाई सताउनु सताएछ, खुट्टा रगताम्मे।
टुपीडाँडामा छिरिङ तामाङको होटल रहेछ। उनी उमेरले २० मात्र टेकेका। भोताङकी हसिना दिदीलाई होटलको बन्दोबस्तमा सहयोग गर्न भनेका थियौं। छिरिङले खबर पाइवरी हाम्रो बाटो हेर्दै बसेका रहेछन्। पसिनाले भिजेको कपडा टुपीडाँडामा पुग्दा चिसो भयो। दुई हजार पाँच सय मिटर उचाइमा छ, यो ठाउँ। अँगेनाको वरिपरि आगो ताप्दै बेलुकीको खाना खायौं। अघिल्लो वर्ष रूखको स्याउलामा सुतेको अनुभव ताजै थियो, नौलासँग। यसपाला भने छिरिङले म्याट्रेस र ब्ल्यांकेट व्यवस्थापन गरिदिए।
भोलिपल्ट बिहान ७ बजेभन्दा अघि टुपीडाँडाबाट उकालो लाग्न सकेनौं। उठ्दा घाम माथि आइसकेको थियो। टुपीडाँडादेखि माथिको बाटो राम्रो लाग्यो। बाटामा ढुंगा बिछ्याइएको।
उकाली यात्रा। जंगलमा बेलाबेला टिङ टिङ घन्टीको आवाज आउँथ्यो। पछि थाहा भयो। गाईभैंसी, चौंरी चराउन जंगलमा छाडिने रहेछ। कतै हराए खोज्न सजिलो होस् भनेर गोठालाले गलामा घन्टी झुन्ड्याइदिने रहेछन्। बाटोको दायाँबायाँ पहेँला, राता र गुलाबी फूलहरूले वातावरण मनमोहक बनाएको थियो। सुन्दर र आकर्षक पनि त्यत्तिकै।
पाँचपोखरी थांगपाल गाउँपालिकाले जंकफुडहरू बन्देज लगाएको सूचना पाएका थियौं। त्यसैले केही फलफूल, बदाम, अदुवाजस्ता खानेकुरा सबै मिली बोकेका थियौं। उकालोपछि आउने बिसौनीमा यिनै खानाले साथ दियो।
दिउँसोको एक बजेको हुँदा हो, हामी नोस्र्याङपाटी पुगेछौं। फलफूल हामीसँगै थियो। अन्डा र आलु उसिन्न लगाएर खाइवरी लौरीबिनाको उकालो गफिँदै चढ्न थाल्यौं। घाम, कुहिरो र सिमसिमे पानीसँग लुकामारी गर्दै लौरीबिनाको उकालो कट्यौं। देख्दा नजिकै लागे पनि हिँड्दा यो उकालो बडा कठिन रहेछ। हुन त हिँडाइको थकानमा परेर पनि त्यस्तो अनुभूति भएको हुनसक्छ। उकालो सकिई तेर्सो सुरु हुने डाँडालाई लौरीबिनाको उकालो भनिएको रहेछ। सबैले टेकेर गएको लौरी त्यहीँ छाड्नुपर्ने चलन छ। लौरोको चाङ ठूलै देखिन्थ्यो।
साँझ ६ बजेको हुँदो हो, गन्तव्य ‘पाँचपोखरी’ पुग्यौं। चार हजार एक सय मिटर उचाइमा अवस्थित छ यो पोखरी। सुनसान। कुहिरोले ढाकेको छ। सेतो पछ्यौरी ओडिएकी जस्तो। आजको बास के हुने हो। चिन्ता थपियो। त्यहाँ सम्पर्क थिएन। होटल चलाउनेहरू जनैपूर्णिमा सकिएसँगै तल (भोताङ) झरेका रहेछन्।
हामी जुन होटल (छाप्रो)मा बस्ने योजनामा थियौं। त्यहाँ मान्छे भेटिएनन्, उनी च्यांग्रा खोज्न निस्केका रहेछन्। फोन गरौं नेटवर्क छैन। भएका छाप्राहरू चियाउन थाल्यौं। एउटामा मान्छे भएको पायौं। खुसीको महसुस गर्यौं। सिन्धुपाल्चोक चौताराकी सांगेडोल्मा रहिछन्। एक्लै। आजको बास उनकै छाप्रोमा हुने भयो। लखतरान शरीर। सिमसिमे पानी र हुस्सोले चिसो वातावरण। अँगेनोको वरिपरि झुम्मियौं। पानीले भिजेको दाउरा। पिलपिल बलेको आगोको रापले ज्यानमा तापक्रम बढायौं।
हामी पाँच थियौं। एउटा खाट रहेछ। ती आमा सुत्ने गरेको। कुनामा चित्राले बारेको भुइँमा स्याउला ओछ्याई रबरम्याट हालेर ओछ्यान मिलाई खाना खायौं। पल्टियौं।
बिहान चौंरीको घन्टीको आवाजसँगै निद्रा खुल्यो। छाप्रोबाहिर निस्कँदा छुट्टै संसार थियो। नीलो आकाश। हरियो डाँडामाथि खुला चौर। चौरमा चर्दै गरेको चौंरी, भेडा र च्यांग्रा। सिरसिरे हावा। बिहानीपख शीतको थोपाले टिलिक्क टल्केको सिमसार। कति मीठो सौन्दर्य। यस्तो प्राकृतिक सुन्दरतामा नरमाउने को होला र ! प्रकृतिप्रेमीका लागि यस्तो अवसर ज्यादै मूल्यवान् लाग्छन्। प्रकृतिलाई क्यामेराभन्दा बढी आँखा र मनले कैद गरियो।
पाँचवटा पोखरी। पोखरीको दायाँबायाँ हरियो चौर। ढुंगा अनि फूलहरू। यसले पोखरीको सुन्दरतालाई बेहुलीझंै सिँगारिदिएको थियो। वरिपरिको डाँडाको दृश्य बिहानी झुल्के घामसँगै तालमा छर्लंग देखिन्थे, आहा !
न रूख न ठूला बुट्यान। न हिउँले भरिएको हिमाल नै। अचम्म त त्यो पाँचवटै पोखरीमा पानी जमेको मात्र हैन, पोखरीबाट पानी नदीतर्फ झरेका झरनाहरू झन् मनमोहक दृश्यहरू छन्। एकछिन त लाग्छ, ती पानी कहाँबाट आएको होला ?
नेपाल प्राकृतिक सौन्दर्यको खानी नै हो। अनगन्ती यस्ता सुन्दर प्राकृतिक संरचनाहरू धेरै छन्। त्यसको संरक्षण, संवद्र्धन र उचित प्रचार गर्न सके यसले बाह्य र आन्तरिक पर्यटक आकर्षित गर्ने थियो। धेरै युवाले नेपालमै रोजगार पाउने अवसर हुन सक्छ। उचित प्रचार हुन सके यस्ता यात्राले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन मद्दत गर्छ भन्ने लाग्छ र भविष्यमा पनि यो क्षेत्र राम्रो आकर्षणको केन्द्र बन्न सक्छ।
पाँचपोखरीबाट बिदा हुने बेलामा सांगेडोल्मा आमालाई सोध्यौं। खानाको कति हो ? उनको जवाफ आयो— एक हजार रुपियाँ। गाउँपालिकाले खाना र बाससमेत प्रतिव्यक्ति आठ सय रुपियाँ तोकेको जानकारी गरायौं। र सहमतिमै आठ सय तिर्यौं। गाउँपालिकाले दाल, भात र तरकारी खाएर एक रात बसेको देउरालीको पाँच सय, टुपीडाँडाको छ सय, नोस्र्याङपाटीको सात र पाँचपोखरीको आठ सय तोकिदिएको छ।
संस्कृति, भेषभूषा र रहनसहनका कारण यहाँ आकर्षण छ। यस क्षेत्रलाई वर्षैभरि चल्ने बनाउन सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र त्यति टाढा छैन। स्थानीय तहले समेत सहयोग गरी पदमार्गको ठाउँठाउँमा होमस्टेको व्यवस्थापन गर्न युवाहरूलाई प्रोत्साहन गर्न जरुरी देखिन्छ। यसले पर्यटकको संख्या बढ्छ। धेरैले यात्राको योजना बनाउन सक्छन्। यसले समुदायको आर्थिक पुनर्निर्माणमा पनि ठूलो योगदान पुग्ने निश्चित छ।