गाभर भ्यालीका कृष्ण
बाँकेको गाभर भ्याली एक सय पर्यटकीय गन्तव्य सूचीमा परेको छ।
देशैभर होमस्टेको लहर थियो। छिमेकी बर्दियामा डल्लागाउँ र कैलालीमा भादागाउँ होमस्टे चर्चामा थिए। बाँकेको खजुरामा पूर्णचन्द्र उपाध्याय होमस्टे चलाउँथे। कृष्णलाल चौधरीलाई गाभरमा सामुदायिक होमस्टे बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो। ‘होमस्टे सम्भव छ, गर्न सकिन्छ’ भनेर ठाकुरद्वाराको थारू रिसोर्टका मोहन चौधरीले उनलाई हौस्याए।
गाभरमा होमस्टे चल्छ भन्ने आधार थियो, ०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज। निकुञ्ज प्रशासनसँग उठबस सुरु भयो। समुदायमा आधारित चोरी सिकार नियन्त्रण जागरण सञ्जालको युनिट अध्यक्ष हुँदै कृष्ण सञ्जालकै अध्यक्ष बनेका थिए। त्यसमा एक हजार सदस्य थिए। पर्यापर्यटनको विकास र जैविक विविधताको संरक्षणमा मद्दत पुग्ने कामलाई होमस्टेसँग जोड्ने योजना बन्यो। सपना थियो, ‘विदेश जान्छु भन्ने ठिटाहरूलाई गाउँमै गरिखान प्रेरित गर्ने र विदेशमा रहेकालाई फर्केर फर्कन हौस्याउने।’ गाउँमा भेला डाके। पाँचवटा घरमा होमस्टे चलाउने योजना सुनाए।
छिमेकीले सुरुमा होमस्टे चलाउने भने तर पछि हटे। कृष्णले हरेश खाएनन्। ०७० सालसम्म दुई वर्ष एक्लै थारू होमस्टे भनेर चलाए। दुईवर्षे अभ्यासले निजी होइन सामुदायिक होमस्टेबाट मात्र समुदायको समृद्धि ल्याउँछ भन्ने उनलाई अनुभूति भयो। अरूले राम्रो गरेकोमा डाहा गर्ने नेपाली स्वभावलाई उनले दोस्रो पटकको भेलामा अस्त्र बनाए, ‘मैले त पैसा कमाएँ। तपाईंहरूले पनि कमाउनु हुन्छ। अब गर्ने कि नाइँ भनेर प्रस्ताव गरे ? ’ होमस्टेबाट आम्दानी भएको सुनेर छिमेकी लोभिए। कृष्णले कृषि विकास बैंकबाट आठ लाख रुपैयाँ ऋण लिएर होमस्टे चलाएका थिए। छिमेकी गंगादत्त जैसी पनि बैंकबाट पाँच लाख ऋण लिएर होमस्टे चलाउन तयार भए। पाँचवटासम्म होमस्टे बनाएपछि ०७१ मंसिरमा गाभर भ्याली सामुदायिक होमस्टे दर्ता भयो। कृष्ण होमस्टे चलाउने टोलीको मूली अर्थात् अध्यक्ष भए।
‘हामीले धेरै गतिविधि गर्यौं। कल्चरल प्रोग्र्राम गर्न थाल्यौं। यति हुँदा पनि सुरुसुरुका दिनमा ग्राहक पर्खेर बस्नुपथ्र्यो। दिनमा एकजना कहिले त हप्तामा दुई तीनजनामात्र हुन्थे। कति त दिउँसो खाजा खाएर फर्कन्थे’, कृष्णले संघर्षका दिन सम्झे। गाभर होमस्टेमा पाँच वर्षमा करिब २२ हजार पर्यटक आए। ०७५ सालमा मात्र १२ हजार पर्यटक आए जसमा चार सय त विदेशी थिए। स्थापनाको चार वर्षमै गाभर भ्याली ब्रान्ड बन्यो। सरकारले पनि देशका एक सयवटा पर्यटकीय गन्तव्यमा गाभर भ्यालीलाई सूचीकृत गरेको छ।
गाभर २०३२ सालदेखि २०३५ सालसम्म रारा राष्ट्रिय निकुञ्ज बनाउने क्रममा मुगाली जनतालाई स्थानान्तरण गरेर बस्ती बसाइएको ठाउँ हो। अधिया जोत्न २०४० सालदेखि थारू बस्न थाले। चार सय घरधुरीमा थारूका ३० घर मात्र थारूका छन्। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो। बर्दिया राष्ट्रिय निकुञ्ज सीमामा छ। चुरे पहाडको फेदी हो। अरू ठाउँका होमस्टेभन्दा गाभर भ्याली निकै फरक छ। जहाँ तराईका थारूदेखि हिमाली क्षेत्रका मुगाली परिकारको स्वाद एकै ठाउँमा पाइन्छ।
थारूका ढिक्री, गँगटा, घोंघी, सिध्रा, हिमाली कोदो, फापर र सिमीलगायत परिकार एकै ठाउँमा पाइन्छ। यस्तो विशेषता जहाँकहीँ पाउन मुस्किल छ। थारू र मुगाली संस्कृति, खानपान केही मिल्दैन। न थारू र मुगालीको भाषा मिल्छ, न संस्कृति, न त परम्परा। रहनसहन केही मिल्दैन। यही चुनौती हो। तर दुई संस्कृति पाहुनालाई अनौठो लाग्छ। रमाउँछन्। कोहलपुर चौराहादेखि सात किलोमिटर उत्तरमा रत्न राजमार्गदेखि पूर्वमा नजिकै छ, यो होमस्टे। कर्णाली प्रदेशबाट तराई झरेकाको पहिलो रोजाइ हुन्छ।
‘गाभर भ्याली होमस्टेले समुदायको जीविकोपार्जन मात्र होइन स्थानीयवासीले आयआर्जन गर्र्न सक्नुपर्छ। होमस्टेलाई व्यावसायिक बनाउनुपर्छ। होमस्टेको कार्यविधिको मर्म छोड्नु हुन्न’ भन्ने मान्यतालाई आत्मसात् गरेको छ। होमस्टे भन्दा सुधारिएको झट्ट हेर्दा रिसोर्टजस्तो देखिन्छ। गार्डेन व्यवस्थापन, बच्चाका लागि पिङ, बोटबिरुवा र पूmलबारी हराभरा बनाइएको छ। आरामदायी कोठा छन्। विदेशी पर्यटकका लागि कब्बोर्ड शौचालय बनेका छन्। दिउँसो कटेज चल्छन्। ‘हामी परम्परागतमा केही सुधारिएको संरचनामा छौं तर सामुदायिक हितमा काम गर्छौं’, कृष्ण स्वीकार्छन्, ‘होटल कटेज र रिसोर्टले आम्दानी गर्छ। सबै उसैको हुन्छ। हाम्रो आम्दानी कोअपरेटिभ जस्तो हुन्छ। पाहुना बाँडफाँट गरेर राख्छौं। मूल्यमा एकरूपता छ। खानाका परिकारको मापदण्ड एउटै छ। गुणस्तर उस्तै छ। एउटा घरमात्र मोटाउँदैन। आम्दानी समुदायमा फैलिँदै जान्छ। सबैको काम र ध्यान सेवा गर्ने हो। पर्यापर्यटण प्रवद्र्धन साझा अभियान हो।’
होमस्टेमा समुदायको लगानी तीन करोडको भएको छ। घर, भान्सा, कटेज र गोलघर बनाएका छन्। १० वटा घरमा होमस्टे बनाइएको छ। ८० जना बास बस्न सक्ने क्षमता छ। छेउमै दुईवटा निजी कटेज नै बनिसकेका छन्। तीनवटा त निजी होमस्टे पनि थपिएका छन्। यही वर्षभित्र पाँचवटा होमस्टे थप गर्ने योजना छ।
गाभरमा घरधुरीले होमस्टेलाई मियो मानेका छन्। होमस्टेकै कारण गाउँका समुदायको आयआर्जनमा टेवा पुगेको छ। छेउमै अस्ट्रिज फार्म सञ्चालन गरिएको छ। च्याउ खेती, बाख्रापालन, कुखुरापालन र खरायोपालन भइरहेका छन्। कृषि हबका रूपमा पनि विकास भइरहेको छ। गाउँका अन्नपात, तरकारी, कुखुरा, खसी होमस्टेमा खपत हुन्छन्। दाताले बाख्राको खोर बनाउन सहयोग गरेका छन्। समुदायबाट नेचर गाइड र चालक उत्पादन भएका छन्।
जिल्लामा सामुदायिक होमस्टेको अवधारणा ल्याउने कृष्ण कमैयाका छोरा थिए। दाङको साबिक गोलटाकुरी गाविस-५ (हाल दंगीशरण नगरपालिका)मा रामदास र सीतापति चौधरीका चार भाइ छोरामध्ये ५ फागुन २०४० सालका कान्छा थिए, उनी। बाबु कमैया बस्थे। उनका जेठो दाइ हिमलाल र माइलो गणेशलाल पनि कमैया बसेर बाबुको बिँडो धान्दै थिए। उनी जन्मेकै साल बाँकेको साविक चिसापानी गाविस-९ गाभर (हाल बैजनाथ १ गाभरभ्याली) मा उनको परिवार बसाइँ सर्यो। उनका बाबु अर्काको जग्गा अधियाँमा जोत्न थाले। कृष्णलाई पढ्न पठाए। २०५८ सालमा एसएलसी उत्तीर्ण भएका कृष्णले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट आईकम र बीबीएस गरे। कम्प्युटर सिके। त्यहीँ कार्यालय सहयोगी हुँदै कम्प्युटर शिक्षक बने। ०६२ सालपछि नेपालगन्जका मिडियामा प्राविधिकका रूपमा काम गर्न थाले। कालपृष्ठ दैनिकमा कम्प्युटर अपरेटर, भेरी एफएम र भेरी आवाज एफएममा प्राविधिक भएर काम गर्न थाले। रेडियोमा थारू भाषाको समाचार र कार्यक्रम चलाउन थाले। अहिले पनि दैनिक नेपालगन्ज पत्रिकामा वातावरण र जैविक विविधताका विषयमा कलम चलाउँछन्।
गाभर भ्याली होमस्टेबाट क्षणिक लाभ लिने सोचमा छैन। स्वदेशी विदेशी पर्यटकको आकर्षणका लागि गाभर भ्यालीमा दिगो विकासका काम हुँदैछन्। २० बिघा क्षेत्रफलमा लायन्स पार्क छ। बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी सुरु भइसकेको छ।
निकुञ्जमा २१ वटा बाघ छन्। बाघ अवलोकन गर्ने राम्रो थलो बन्दैछ। मध्यवर्ती क्षेत्रका जैविक विविधताको संरक्षण गर्नेे काम थालिएका छन्। आठौं राष्ट्रिय खेलकुदका अवसरमा रानीवन सामुदायिक वनमा अन्तर्राष्ट्रिय स्तरको क्रसकन्ट्री विधाको साइक्लिङ ट्रेल बनाइएको छ। थारू संंग्रहालय छ। एक सय २५ हेक्टरको पारिजात बगान छ। सुन्दर च्यामा भ्याली छ। भ्यु टावर र ठाउँठाउँमा मचानमा बसेर चित्तल, बँदेललगायत वन्यजन्तु अवलोकन गर्न सकिन्छ। गाभर वन्यजन्तु प्रभावित क्षेत्र हो। कृष्ण भन्छन्, ‘हामी बाघ पर्यटन प्रवद्र्धन गर्न चाहन्छौं। जिम्मेवार बाघ पर्यटन सम्भव छ।’
संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले चौधरीलाई प्रथा श्री शिखर पदक द्वितीय हालै प्रदान गरेको छ।