प्रश्न गर्नेको लडाइँ

प्रश्न गर्नेको लडाइँ

तपाईंलाई लाग्दैन- राष्ट्रको विरुद्धमा काम गरिरहेको कुनै समूहले राष्ट्रियताको परिभाषा दिनु कत्तिको उचित हुन्छ ? राष्ट्रियताको अर्थ के हुन्छ ? सत्तामा रहेको समूहको विचार (वा काम) सँग असहमति जनाउँदैमा कसरी देशद्रोहीको संज्ञा पाइन्छ ? स्थापित मूल्य र मान्यतामाथि कसैले पनि आपत्ति जनाउनै किन चाहँदैन ? त्यही जनतालाई देशद्रोहीको संज्ञा दिने सत्ता, उनीहरूकै भोट लिँदा देशद्रोही कसरी भएन ? कि जनता र जनताले हाल्ने भोटमा राष्ट्रियता र अराष्ट्रियताका फरक लेपनहरू लगाइएका छन् ?

भारतीय विद्यार्थी नेता कन्हैया कुमार आफ्नो संस्मरण ‘फ्रम बिहार टु तिहाड’मा यस्ता थुप्रै प्रश्न गर्छन्। बिहारबाट आफ्नो अध्ययनको सिलसिलामा जेएनयूसम्म पुगेका कन्हैया आफ्नो पुस्तकमा बाल्यकालका स्मृतिबाट वर्तमानमा प्रवेश गरेका छन्। यस्तो लाग्छ- यो संस्मरण होइन, कुनै आख्यान हो। थोरै रोमाञ्चकता, थोरै राजनीति, थोरै समाज, थोरै आलोचनात्मक चेत र अलि बढी आफ्नै जीवनसँगको द्वन्द्व।

कन्हैयाको बाल्यकाल नै रोमाञ्चक छ। उनी आफ्नो जन्ममिति र नामलाई लिएर रहस्यको कथा सुसेल्छन्। कृष्ण जन्माष्टमीमा जन्मिएका उनका दाजुको नाम कृष्ण हुँदैन तर जन्ममिति नै थाहा नभएका उनको नाम भने कृष्णकै अर्को नाम ‘कन्हैया’ राखिएको हुन्छ। पछि १५ वर्षमा मात्रै उनले आफ्नो जन्म दिनबारे थाहा पाउँछन्।

संस्मरणमा उनले सुरुआतबाटै बिहारको सामाजिक संरचना र अर्थ राजनीतिलाई उल्लेख गरेका छन्। आफ्नो परिवारको राजनीतिसँगको सम्बन्धदेखि धर्मको कुरा। मानिसको आर्थिक संरचनाले उसले बोक्ने राजनीतिक विचारको जन्म हुन्छ भन्ने कुरा।

गरिबीको अन्धकारबाट गुज्रिएका हुन्छन्, कन्हैया। गाउँको सरकारी स्कुलमा अंग्रेजी पढाइ हुँदैन। तर, आफू प्रथम हुनेको अहमले उनलाई छोपेको हुन्छ। स्कुलबाट रिजल्ट सुनेर आउँदै गर्दा गाउँका कविले उनलाई सोध्छन्, ‘उनन्सत्तरीमा कति हुन्छ ? ’ कन्हैया भन्छन्, ‘सात-नौ।’ ती कविले फेरि सोध्छन्, ‘उनानअसीमा ? ’ कन्हैयाको जवाफ हुन्छ, ‘आठ र नौ।’ तर, आफ्नो जवाफ गतल भएको सावित भएपछि उनको अहम् टुट्छ।

समाजमा गढेर रहेका असमानताहरू उनले नियालिरहेका हुन्छन्। तर, उनलाई त्यो असमानताको ज्ञान बाल्यकालमा त्यत्ति हुँदैन। सरकारी स्कुलमा बिनायुनिफर्म पढिरहेका हुन्छन् उनी। पछि प्राइभेट स्कुलमा पुगेपछि उनले आफ्नो स्तर थाहा पाउँछन्। परिवारमा कालो चिया खाएर दूध किन्ने पैसाले उनलाई स्कुल पढाइएको हुन्छ। हिन्दीबाट एक्कासि अंग्रेजीको पढाइ गर्नुपर्दा उनलाई अप्ठ्यारो हुन्छ। तर, पढाइसँगै उनलाई आफूले देखेभोगेका असमानताप्रति भने असन्तुष्टि जाग्छ।

जसको भोट मान्य हुन्छ, ऊ मान्य हुँदैन। जसको भोट राष्ट्रिय हुन्छ, ऊ राष्ट्रिय हुँदैन।

स्कुलमा प्रेमसम्बन्धमाथि लेखिएका गीत गाउनमा रोक हुँदैन। तर, सँगै पढ्ने छात्र र छात्रा एकसाथ बस्नमा रोक हुन्छ। कन्हैयाले उक्त स्थानमा प्रश्न गर्दै भनेका छन्, ‘मेरो मध्यमवर्गीय परिवार र पढेको सरकारी स्कुलमा भन्दा अहिलेको प्राइभेट स्कुलमा बढी परम्परावादी सोच भएकाहरू छन्।’

बाल्यकालबाटै रहस्यमा उनी हुर्किरहेका हुन्छन्। आफ्नो पहिचानलाई लिएर निकै सोच्छन्। धनी-गरिब, मुस्लिम-हिन्दूलगायतका विविधतालाई लिएर उनको आफ्नो धारणा विकास भइरहेको हुन्छ। आफू हिन्दू भएको कुरा अर्को कक्षाको साथी मुस्लिम भएको थाहा पाएपछि मात्रै जान्दछन्।

कक्षा १० मा हुँदा उनी पुस्तक पसलमा काम गर्न सुरु गर्छन्। परिवारमा आर्थिक संकट परिरहेको बेला आफ्नो लागि आफैं केही गर्छु भन्ने सोच उनमा हुन्छ। बेलाबेलामा पढाइ छाड्ने सोच पनि आउँछ। तर, कक्षा १० को परीक्षाको रिजल्टपछि भने उनी पटना गएर पढ्ने निर्णय गर्छन्। पटनामा पनि आर्थिक संकट उत्तिकै हुन्छ। तर, विस्तारै उनमा राजनीतिक चेत र प्रश्न गर्नुपर्छ भन्ने भावना विकास भइरहेको हुन्छ, जसले उनको जीवनलाई नै नयाँ मोडतिर धकेलिदिन्छ।

चिया पसलदेखि पान पसलसम्मका ठाउँमा हुने राजनीतिक गफमा उनको रुचि बढ्दै जान्छ। इन्जिनियरिङको तयारी गरिरहेका उनी त्यसप्रति वितृष्णा देखाउँछन्। वैदेशिक रोजगारीमा जान तम्सिएका उनी विस्तारै सोच्न थाल्छन्, ‘के मेरो लागि दुबई नै सही हो ? ’ पत्रपत्रिकासँग परिचित हुँदै गएपछि उनले आफू पढ्दै अरूलाई पढाउँदै दैनिकी गुजार्छन्। सरकारी जागिरे हुने सपना देख्छन्। पटनाको पढाइ सकेपछि दिल्ली गएर यूपीएससीको परीक्षा दिने सोच बनाउँछन्।

दिल्लीमा प्रवेश गरेपछि कन्हैयाको राजनीतिक चेतको झन्झन् विकास हुन्छ। उनी राजनीतिक चिन्तकदेखि अनिल रझिमवाले, कृष्ण झाजस्ता लेखकसँग संगत गर्न सुरु गर्छन्। दिल्लीमा रहँदा कमनवेल्थ खेलकुदका लागि वरिपरिको शरणार्थी बस्ती नदेखियोस् भनेर सरकारले ठूल्ठूला होर्डिङ बोर्डहरू टाँगेको हुन्छ। सो सन्दर्भमा कन्हैया लेख्छन्, ‘दिल्लीले आफ्नो असमानताको अनुहारलाई ठूला होर्डिङ बोर्डहरूले छोपिरहेको छ। यस्तो लाग्छ, सरकार असमानता, गरिबीप्रति चिन्तित छैन। चिन्तित छ त मात्र बाहिरी दुनियाँबाट यसलाई लुकाउनमा।’ उनी सय वर्षअगाडि सन् १९११ जर्ज भिले भारतको भ्रमणमा आउँदा भएको यस्तै घटना सम्झन्छन्। शाही अदालतसम्मको उनको यात्रामा त्यो बेला पनि दिल्लीका शरणार्थी बस्तीहरूलाई ठूलाठूला पम्प्लेटहरूले ढाकिएको थियो। इतिहास फेरि दोहोरिएकोमा आफ्नो चिन्ता व्यस्त गर्छन कन्हैया।

त्यसै दौरान कन्हैया जेएनयूमा भर्ना हुन्छन्। लिखित परीक्षा पास भएपछि उनको अगाडि दुईवटा बाटा हुन्छन्- रसियन शास्त्र र अफ्रिकन शास्त्र। कन्हैया अफ्रिकन शास्त्र लिएर अध्ययन सुरु गर्छन्। तर, आफूलई रुचि भने रसियन शास्त्रतर्फ भएको पनि बताउँछन् उनी।

 जेएनयूसँग जम्काभेट

प्रश्नहरू गर्न नसक्नु मानिसको कमजोरीजस्तै हो। कन्हैया यिनै प्रश्नहरूको खोजीमा बाल्यकालबाट भौतारिरहेका हुन्छन्। जेएनयूमा भर्ना भएपछि उनको यात्रा यी प्रश्न पछाडिको राजनीति, हरेकले प्रश्न गर्न नसक्नुको कारण र आममान्छेको कथा बुझ्नमा हुन्छ। उनी लेख्छन्, ‘जेएनयूसँगको पहिलो जम्काभेट कसैले पनि कहिल्यै बिर्सन सक्दैन।’

जेएनयूमा इन्टरभ्युमा आएका छात्रछात्रालाई देखेर कन्हैयामा आश्चर्य जाग्छ। उनीहरूको पहिरन अलग हुन्छ। सापटीमा लिएको बेल्ट र जुत्ता लगाएर गएका कन्हैया अरूले लगाएको सामान्यभन्दा सामान्य पोसाक देखेर अचम्भित हुन्छन्। काँधमा झोला, खुट्टामा चप्पल लगाएकाहरूलाई देखेर उनमा झन्झन् प्रश्नको भोक जाग्छ। इन्टरभ्युपछि उनी झेलमनजिकै रहेको सुल्तेज होस्टलमा बस्न थाल्छन्। जेएनयूको यात्रासँगै उनको जीवनमा पनि नयाँ पत्रहरू खुल्न थाल्छन्, नयाँ कथाहरू लेखिन थाल्छन्।

प्रदर्शनमा केटासँगै केटीको संख्या बराबर हुनु, डावामा खाना मात्रै नभएर राजनीतिप्रतिको चेत र आलोचनात्मक विचार पाक्नु सामान्य हुन्छ जेएनयूमा। यी कुरासँगै घुल्दै घुल्दै गएका कन्हैया आफ्नो कक्षा कोठालाई कक्षा कोठाजस्तो मान्दैनन्, कन्फ्रेन्स रुम भन्छन्। जेएनयूमा पुगेपछिको अनुभवलाई उनी दैनिक नयाँ प्रश्न गर्न सिक्नु भन्छन्। उनी लेख्छन्, ‘सामान्य मान्छेले ताजमहल देख्दा त्यसको सुन्दरता देखेर चकित हुन्छ, सुन्दरताको बयान गर्छ। तर, जेएनयूमा आइसकेपछि उसले ताजमहललाई सुन्दरताभन्दा बढी आममान्छेको पसिना र मेहनतले खडा भएको एउटा विशाल संरचना देख्छ।’

यूपीएसीको परीक्षा नदिने निर्णयपछि कन्हैया आफू अधिकारकर्मी हुने निर्णय गर्छन्। विश्वविद्यालयमा रहेको विद्यार्थी संगठनसँगको संलग्नतासँगै उनी आफू पनि चुनावमा उठ्छन्। जेएनयूमा उनको जित हुन्छ। विजयपछि भारतीय जनता पार्टीले चालेका कदमप्रति कन्हैया आफ्नो संगठनको सहायतामा प्रश्नहरू उठाउँछन्। विश्वविद्यालयमा भएका नियुक्तिसँगै नियन्त्रण गर्न खोजिएको प्रयासप्रति असहमति जनाउँछन्। जुन कारण उनी जेएनयू मात्रै नभएर भारतभर नै चर्चित युवा नेताका रूपमा चिनिँदै जान्छन्। उनको विचारले जेएनयूका रंगीन भित्तासँगै बाहिरी दुनियाँलाई पनि छुन थाल्छ।

त्योभन्दा बढी अफजल गुरुको बर्सिमा भएको कार्यक्रमले उनलाई चर्चा दिन्छ। मोदी सरकारको आँखाको तारो बनेका कन्हैयालाई फसाईन्छ। सन् २००१ मा भारतको संसद्मा भएको हमलाका मुख्य अपराधी भनिएका अफजल गुरुको स्मृतिमा आयोजित कार्यक्रममा लगाइएका नाराले कन्हैयालाई तिहाड जेलको अँध्यारो कठघरासम्म पुर्‍याउँछ। तिहाड जेलमा फाँसीको सजाय दिइएका गुरुलाई राखिएकै सेलमा कन्हैयालाई राखिन्छ।

कार्यक्रममा लगाइएका नाराप्रति कन्हैया जानकार हुँदैनन्। तर, उनलाई त्यसको जिम्मेवार भन्दै देशद्रोहको अभियोगमा मुद्दा चलाइन्छ। जेलमा पन्ध्र दिनसम्म राखिन्छ। अदालतमा जाँदा उनीमाथि हमला हुन्छ। जेलमा रहँदा जेलका कर्मचारीसँग उनको सम्बन्ध बिस्तारै राम्रो हुँदै जान्छ। उनी आफ्ना भोगाइसँगै जेलका कर्मचारीको विचारलाई मन्थन गरिरहन्छन्।

जमानतमा छुटेपछि कन्हैया जेएनयूको छात्र संघको अध्यक्ष मात्रै रहँदैनन्, भारतभरिकै चर्चित विद्यार्थी नेता बन्छन्। सबैको छलफलको विषय उनै हुन्छन्। देशी र विदेशी सञ्चार उनीमाथि केन्द्रित हुन्छ। कन्हैयालाई राष्ट्रविरोधी भनिएकै कारण भारतभरि नै राष्ट्रवादको परिभाषामाथि एकपटक छलफल हुन सुरु गर्छ। उनी पुस्तकको अन्त्यमा प्रश्नहरूको भेल छोड्छन्। सत्ताले प्रश्न गर्नेहरूलाई किन थुन्छ भन्ने प्रश्न गर्छन्। फरक विचार राख्नेलाई राष्ट्रविरोधीको संज्ञा दिनुका पछाडि के राजनीति छ भन्दै सत्तालाई प्रश्न गर्छन्।

समर्थकका लागि निकै चर्चित भएका कन्हैया सत्ताका लागि भने खलनायक भएको प्रस्ट देखिन्छ। उनले आफ्नो पुस्तकमा पनि यी कुरालाई उल्लेख गरेका छन्। आफ्नो विचारले हरेक पटक मोदी सरकारविरुद्ध आवाज उठाइरहेका हुन्छन् उनी। विरोध गरिरहेका हुन्छन् उनी। आश्वासनको आडमा आममान्छेलाई निराशाको पहाडमा थिच्नेहरूप्रति उनको असन्तुष्टि हुन्छ। उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘जातिवादी एजेन्डालाई लिएर उनीहरू आफ्नो अनुहार लुकाएर बनावटी अनुहार देखाइरहेका छन्। हरेक मान्छेमाथि ब्राह्मणवाद थोपरिरहेका छन्।

वैकल्पिक राजनीतिको नयाँ उदयका रूपमा हेरिएका कन्हैयाले २०१९ को भारतीय चुनावमा आफ्नो उम्मेदवारी दिए। उनीसँगै वेगुसरायबाट उठेका भारतीय जनता पार्टीका उमेदवार गिरिराज सिंहले चुनावमा विजय हासिल गरे। त्यो बेला कन्हैयाको कार्यलय रहेको ठाउँमा भारतीय जनता पार्टीका कार्यकर्ताले जबरजस्ती पनि गरेका थिए। निकै सम्भावना बोकेका कन्हैयाले चुनाव हारे पनि मन भने थुप्रैको जिते। एक टीभीका पत्रकार रविश कुमारले उनको गाउँ पुगेर बनाएको भिडियोमा त्यो देख्न सकिन्छ।

सत्तामा जोसुकै होस्, उसले जनताको बारेमा सोच्नु कतव्र्य हुन्छ। भोट पाएर जितेकाहरूले भोटको सम्मान गर्नु आवश्यक हुन्छ। तर, कन्हैयाले भनेजस्तै जसको भोट मान्य हुन्छ, ऊ मान्य हुँदैन। जसको भोट राष्ट्रिय हुन्छ, ऊ राष्ट्रिय हुँदैन। अराष्ट्रिय हुन्छ। इतिहासमाथि प्रश्न गर्दा मुखमा चाबी लगाइन्छ, जबसम्म सत्ता स्वार्थको निम्ति हुन्छ। जेएनयू, बिहार, जीवन र राजनीतिसँगै आममानिसमाथि सत्ताले गर्ने शासनलाई संगृहीत गरिएको कन्हैयाको संस्मरणले एक पटक सोच्न बाध्य बनाउँछ- कमजोरी हामीमा छ कि हामीले छानेर पठाएकोमा ? इतिहासको चेत नहुनुले हामीलाई प्रश्न गर्न दिइरहेको छैन कि के कारणले हामी प्रश्न गर्न सकिरहेका छैनौं ? र सामान्य दैनिकी गुजार्न नसक्ने मान्छेबाट प्रश्नको अपेक्षा कसरी गर्न सक्छौं हामी ? जब सत्तामा भएको मान्छेले नै चाहँदैन कि ऊप्रति कुनै प्रश्न आओस्, तब कसरी प्रश्न उब्जिन्छन् ? प्रश्न गर्ने पुस्तालाई देशद्रोहीको संज्ञा दिएपछि कसरी प्रश्नहरू जन्मिन्छन् ? आखिर अहिलेको राजनीतिक र सामाजिक अवस्थाले नै भोलिको पुस्ताको जन्म गराउँछ, भोलिको पुस्तासँग प्रश्नहरू जन्माउँछ। तर, खान र लाउनमै समस्या भइरहेको पुस्तासँग प्रश्नहरू हुँदैनन्। जब ऊ गाँस, बास र कपासभन्दा माथि उठ्न सक्दैन तब कसरी शासकको गल्तीमाथि प्रश्न उठ्छ ? कसरी शासक सत्तामा बसेर यिनै पुस्तासँग प्रश्नको खडेरीदेखि रगत र पसिनाको कोकाकोला पिउन छोड्छ ?

(प्रसाईं दिल्ली युनिभर्सिटीमा दर्शनशास्त्रमा एमफिल शोधरत छन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.