यो कस्तो अनुवाद !
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनार्एन् आईसीसी) भाषा साहित्य उपसमितिको तत्वावधानमा यही सेप्टेम्बर १ र २ मा संयुक्त राज्य अमेरिकाको म्यासाच्युसेट्स् राज्यको राजधानी बोस्टन सहरमा प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनको आयोजना गरिएको थियो। नेपालबाहिर, विशेष गरी, उत्तर अमेरिकी क्षेत्र र युरोपका विभिन्न मुलुकमा बसेर नेपाली भाषा र साहित्यको क्षेत्रमा सक्रिय योगदान गरिरहेका नेपाली स्रष्टा र साहित्यप्रेमीहरू उपस्थित रहेको त्यस भेलाको पहिलो दिन एउटा बृहत् कवि सम्मेलन भएको थियो।
दोस्रो दिन सम्मेलनको मूल कार्यक्रमका रूपमा नेपाली भाषा र साहित्यसँग सम्बन्धित विविध विषयमाथि विमर्श गराइएको थियो। बोस्टनवासी नेपालीले केही समयअघि मात्र खरिद गरेको आफ्नै स्वाामित्वको सामुदायिक भवनमा गरिएको सो साहित्यिक कार्यक्रम संयुक्त राज्य अमेरिकाको न्यु इङ्ल्यान्ड क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि एउटा ऐतिहासिक घटना बन्न पुगेको थियो।
गैरआवासीय नेपाली संघले आयोजना गरेको त्यो पहिलो अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा भाग लिनका लागि कार्यक्रमका संयोजक गोविन्दप्रसाद गौतम (रुस)ले मलाई सम्मेलनका स्थानीय संयोजक बोस्टन निवासी साहित्यकार महेश्वर पन्तमार्फत निमन्त्रणा पत्र पठाएका थिए। त्यस सम्मेलनमा मूलतः मलाई नेपाली कविताको क्षेत्रमा लामो समयदेखि सक्रिय एक कविका रूपमा निम्त्याइएको थियो तापनि आयोजकहरूले मेरो उपस्थितिको थप उपयोग गर्ने विचारले हुनुपर्छ, त्यस अवसरमा ‘नेपाली साहित्यमा अनुवाद’ विषयमा एउटा कार्यपत्र प्रस्तुत गर्ने थप जिम्मेवारी पनि ममाथि सुम्पेका थिए। उनीहरूले मलाई नेपालीका साथै अंग्रेजीमा पनि लेख्ने लेखक र अनुवादका क्षेत्रमा पनि धेरथोर काम गरेको व्यक्ति मानेर त्यो थप जिम्मेवारी दिएको अनुमान गर्न सकिन्छ।
एनार्एन् आईसीसीको आयोजनामा हुने त्यस अन्तर्राष्ट्रिय साहित्यिक भेलामा ‘नेपाली भाषामा अनुवाद’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नका लागि मलाई गरिएको त्यो अनुरोध स्वीकार गर्ने कि नगर्र्ने भन्ने विषयलाई लिएर सुरुमा म अलिकति द्विविधाग्रस्त थिएँ। मेरो मनमा द्विविधा उत्पन्न हुनुका केही प्रस्ट कारण थिए। तीमध्ये मुख्य थियो— नेपाली साहित्यमा अनुवादको अत्यन्तै दरिद्र स्थिति। आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषाका महाकवि महर्षि वाल्मीकिले लेखेको रामकथा ‘रामायण’को नेपाली रूपान्तरण गरेर बलियो जग बसाएको नेपाली साहित्यले करिब दुई सय वर्षको छोटो इतिहासमा जुन संख्यात्मक र गुणात्मक उपलब्धि हासिल गरेको छ, त्यसलाई सन्तोषजनक मान्न सकिन्छ। तर त्यसको तुलनामा स्तरीय अनुवादका माध्यमबाट नेपाली साहित्यलाई विश्वका अन्य भाषाका पाठकहरूसमक्ष पुर्याउने वा अन्य भाषाका उत्कृष्ट कृतिहरूलाई नेपाली भाषामा उपलब्ध गराउने काम भने बिल्कुलै नगण्य मात्रामा मात्र भएको पाइन्छ। अनुवाद गरिने भाषामा पनि अंग्रेजीको लगभग एकाधिकार देखिन्छ।
यस संग्रहमा प्रयोग भएको अंग्रेजी कति खराब छ भन्ने कुराको अनुमान सवा दुई पेजको भूमिकामा मात्रै एक दर्जन जति गल्ती देखेर लगाउन सकिन्छ।
अंग्रेजीमै पनि अनूदित नेपाली पुस्तकहरूको संख्या धेरै ठूलो छैन। यो एउटा यस्तो तथ्य हो जसलाई लिएर नेपाली साहित्यका पाठक शुभचिन्तकहरू चिन्तित नै हुनुपर्छ भन्नेचाहिँ मलाई लाग्दैन। तर भएका अनुवादहरूमध्ये पनि अधिकांशतः एउटा साहित्यिक कृतिको कलात्मक भाषिक रूपान्तरणका लागि आवश्यक पर्ने शिल्प र कल्पनाशीलताका दृष्टिले अत्यन्तै फितलो हुनु भने निश्चय नै पनि अत्यन्त गम्भीर विषय हो। नेपाली साहित्यमा अनुवादका विषयमा जिज्ञासा राखेर खोजबिन गर्ने क्रममा मैले अंग्रेजीमा अनुवाद गरिएका जति पनि पुस्तकहरू पढेँ, तिनको स्तर देखेर म स्तब्ध हुन पुगेँ। मैले पढेका सबैजसो अनुवाद साहित्यिक अनुवाद नै थिएनन्। तिनले अंग्रेजी पाठकहरूसमक्ष नेपाली साहित्यका ती महत्वपूर्ण कृतिहरूको मौलिक स्वाद नबिग्रिने गरी प्रस्तुत गर्ने सीप देखाउनै सकेका थिएनन्। तिनले त एकै पटक नेपाली र अंग्रेजी दुवै भाषामाथि निर्मम बलात्कार गरेका थिए। कतिपय अनुवाद त अंग्रेजी व्याकरणका सामान्य नियमका दृष्टिले समेत त्रुटिपूर्ण पाइएका थिए।
नेपाली साहित्यलाई अंग्रेजीका माध्यमबाट विशाल पाठक समूहसम्म पुर्याउन गम्भीर र स्तरीय प्रयास हुँदै नभएको भन्नु पनि अतिशयोक्ति नै हुन्छ। पुरानो जमानामा आफ्नो कामलाई पूरा गम्भीरताका साथ लिने व्यावसायिक कौशलसमेत भएका केही व्यक्ति सायद स्वान्त सुखायः अनुवादको क्षेत्रमा देखा परेका थिए। तर तिनको संख्या सानो थियो र तिनलाई स्रोत र साधन भएका यसै क्षेत्रमा काम गर्न भनेर खोलिएका पूर्ण वा अर्धसरकारी संस्थाहरूले कुनै पनि प्रकारको सहयोग र प्रोत्साहन नदिएका कारणले तिनको त्यो एकलव्य प्रयत्नले खासै उपलब्धि हासिल गर्न सकेको थिएन। त्यसपछि पनि झिनो स्तरमै भए पनि अनुवादको परम्परालाई धान्ने प्रयास त भएको देखिन्छ। तर पछिल्ला चार पाँच दशकमा भएको अनुवादको अधिकांश काम स्तरीयताका दृष्टिले अत्यन्त कमजोर भएकाले त्याज्य देखिन्छ। कुनै पनि साहित्यिक कृतिका लागि कलाविहीन र त्रुटिपूर्ण अनुवादभन्दा नगरिएको अनुवाद धेरै राम्रो हुन्छ।
साहित्यिक कृतिको अनुवाद भनेको त्यसको भाषान्तरको कुरो मात्र होइन, त्यो त वास्तवमा मौलिक रचनाकै स्तरको गम्भीर सिर्जनात्मक काम हो भन्ने कुराप्रति नेपाली साहित्यको अनुवाद कर्ममा पूरै दमखमका साथ लागिपरेको दाबी गर्ने अधिकांश मानिसको ध्यान पुगेको पटक्कै देखिँदैन। अन्य भाषाबाट नेपालीमा अनूदित कृतिहरू पढ्नै नसकिने गरी खराब हुने कुरा सामान्य नै भइहाल्यो, नेपाली साहित्यका उत्कृष्ट कृतिहरूको अंग्रेजी लगायत अन्य भाषामा गरिने रूपान्तरणको स्तर त झनै कहालीलाग्दो देखिन्छ। राम्रो अनुवादले कृतिको एउटा पाठकलाई मौलिक भाषाको पठनलाई बिर्साउने गरी मन्त्रमुग्ध बनाउन सक्छ भने खराब अनुवादले मौलिक भाषामा उभारमा आएको त्यस कृतिको सौन्दर्यलाई नै नष्ट गरिदिन्छ। अंग्रेजीमा अनुवाद भएका कतिपय नेपाली क्लासिकहरूको अनुवादको स्तर अत्यन्तै कमजोर भएर ती कृतिहरूको यस्तै फजिती भएको अनुभव सेयर गर्नुपर्दा मलाई दुःख लागेको छ।
यस्तै अनुभवहरूका आधारमा टेकेर मैले कुनै पनि साहित्यिक कृतिको खराब अनुवाद गरेर नेपाली भाषाको फजिती गर्नुभन्दा तिनको अनुवाद नै नगर्नु बेस हुन्छ भन्दै आएको हुँ। कुनै पनि साहित्यिक कृतिको सिर्जनात्मक लालित्य र त्यो जुन भाषामा लेखिएको छ त्यस मौलिक भाषाको सौन्दर्यमाथि अत्याचार गर्ने छुट कुनै पनि कथित अनुवादकले पाउन सक्दैन भन्ने कुरामा म दृढ छु। साहित्यिक कृतिको अनुवाद गर्न चाहने कुनै पनि व्यक्तिमा मौलिक सर्जकको जत्तिकै कल्पनाशीलता हुन जरुरी हुन्छ।
त्यसका साथसाथै एक अनुवादकमा कृतिको मौलिक तथा अनुवाद गरिने भाषा दुवैको तहसम्म पुग्ने सिर्जनात्मक क्षमता पनि हुन आवश्यक हुन्छ। आफैं पनि राम्रो सर्जक नभई कुनै पनि व्यक्ति सफल अनुवादक हुनै सक्दैन भन्ने अर्को एउटा भनाइमा म पनि पूरै सहमत छु। मौलिक सोच र सिर्जनात्मक दृष्टिकोण शून्य भएका कारणले अंग्रेजी र नेपाली दुवै भाषाको राम्रो जानकारी हुँदाहुँदै पनि कतिपय अनुवादकले गरेका कतिपय पुस्तकका रूपान्तरण पढ्नै नसकिने गरी खराब देखिएका छन्।
बोस्टन सम्मेलनमा नेपाली साहित्यमा अनुवाद विषयमा बोल्ने क्रममा वास्तविकताले धकेलेर बाध्यतावश यस्तै अप्रिय कुराहरूको चर्चा गरिरहेको मेरो हातमा त्यसै अवसरमा विमोचन गरिएको उत्तरी अमेरिकी क्षेत्रमा बसोबास गर्ने २१ जना नेपाली कथाकारका एक एकवटा अंग्रेजीमा अनूदित कथाहरूको संग्रह ‘डिस्ट्यान्ट सन्रेज्’ पर्यो। एनार्एन् आईसीसी, भाषा साहित्य उपसमिति, उत्तर अमेरिकाद्वारा प्रकाशित, महेश पौडेलबाट सम्पादित र अनुप जोशी, पवन पोखरेल, पुष्पराज पोखरेल, महेश पौडेल, जीवन कार्की, मणि नेपाल पनेरू, मोहन सिटौला, मञ्जु श्री थापा, सुन्दर जोशीद्वारा अनूदित त्यो संग्रहको अनुवादको स्तर देखेर मेरो होश उड्यो, म हतप्रभ भएँ।
आप्रवासी नेपालीहरूको विश्वव्यापी संगठनले संयोजन गरेर प्रकाशमा ल्याएको एउटा प्रतिनिधिमूलक ग्रन्थमा त्यस्तो साह्रै निम्छरो अंग्रेजी अनुवाद हुनु भनेको लज्जाको विषय मात्र हो कि क्षोभको पनि हो भन्ने कुरा खुट्याउन नसकेर बिलखबन्द पनि परेको छु। ती कथाहरू पढ्दा अनुवादकहरूमध्ये केहीका लागि अंग्रेजी भाषा समस्या बनेको थियो भन्ने प्रस्ट थाहा हुन्छ भने मोहन सिटौला, मञ्जु श्री थापा अथवा मणि नेपाली पनेरू आदिका लागि नेपाली भाषाको विशेषता र सौन्दर्यको तहसम्म पुग्न असम्भव भएको थियो भन्ने सजिलै बुझ्न सकिन्छ। यस संग्रहमा प्रयोग भएको अंग्रेजी कति खराब छ भन्ने कुराको अनुमान त्यसको सवा दुई पेजको भूमिकामा मात्रै एक दर्जन जति गल्ती देखेर लगाउन सकिन्छ।