अजी
मेरा लागि सम्झनामात्र बाँकी रहेको एउटा नाम हो ‘अजी’। मेरो जन्मसँगै यिनको पनि प्रवेश भएको थियो घरमा। सुत्केरी स्याहार्न र मलाई हेर्न। अजी हजुरआमालाई सम्बोधन गरिने अर्को नाम हो। तर मलाई स्याहार्ने अजीको र मेरो सम्बन्ध रगतको नभएर स्वास्थको थियो। मेरो चेतनाले यिनलाई चिन्ने, ठम्याउने भएपछि थुप्रै पटक म यिनको काखमा पल्टेको याद छ मलाई। मलगायत दाइहरूलाई सञ्चो नहुँदा पनि उनी नै थिइन् पहिलो सहारा। डाक्टर दोस्रोमा पर्दथ्यो। बागबजारमा बस्थिन् अजी। माइतमा। छोराछोरीलाई बिसञ्चो हुँदा आमा सधैं हस्याङफस्याङ गर्दैै पुग्दथिन् अजीको ढोका ढक्ढक्याउन। पूजापाठ नसकी कतै ननिस्कने अजी आमा जतिसुकै हतारिए पनि बिस्तारै आफ्नै तालमा आइपुग्थिन्।
जादु थियो अजीको हातमा। उनको मन्त्रमयी फुकमा शक्ति थियो। दैवी शक्ति भन्थे सबै। रोगले थलिएको बच्चालाई काखमा लिएर उनी नाडी छाम्थिन् र भन्थिन्- ‘यसलाई कसैले बिगार गरेको छ। उनको भनाइमा प्रश्न पनि मि िश्रत हुन्थ्यो- यो केही कुरासँग तर्सिएको थियो ? सातो उडेछ त बच्चाको। अजीको अर्को सामान्यतया सोधिने प्रश्न हुन्थ्यो- यो कतै लडेको थियो ? ’ यति भन्दै अजीले नाडी समाउँदै फुकेपछि बच्चाहरूको दुखाइ कम हुन्थ्यो। उनी हरेक पटक आउँदा आमा बटुकोमा तेल तयार राख्थिन्। तताएर। अजी अलिकता चामल हातमा लिन्थिन् अनि टाउकोदेखि खुट्टासम्म छुवाएर खै के के जप्थिन्। तीन पटकको चक्रपछि ती चामल स-सानो कागजको टुक्रामा पोको पार्थिन्। र कसैले नछुने ठाउँमा राख्न अह्राउँथिन्। मनतातो तेलले गर्ने मालिसले पेटका अन्तरकुन्तर सबै हल्लिन्थे। माथिबाट तल, तलबाट माथि। दायाँबाट बायाँ अनि बायाँबाट दायाँ। मानौं पेटभित्र असरल्ल छरिएका पुर्जाहरू उनी ठाउँमा मिलाउँथिन्। उनी तेलले पेटमा मालिस गर्दा पनि विभिन्न देवी देवताको नाम जप्दै पेटमा फुक्थिन्। मालिससँगै दुखाइ कम हुन्थ्यो। रोग हराउँथ्यो। मालिसको असर थियो कि, मन्त्रको यो मैले कहिल्यै बुझिनँ।
हामीमध्ये कोही बिसञ्चो हुँदा अजीको आगमन दुई तीन दिनसम्म चल्थ्यो। भोलिपल्ट बिहानै आइपुग्थिन् उनी। नबोलाइकनै। अनि पोको पारेर थन्क्याइएका चामल पूजा थालमा राखेर पखाल्दै कौसीबाट बाहिर फर्केर पूजा गर्थिन्। मुठामुठा बाटेका धुप बाल्थिन्। पातसहितको एउटा सिंगो मुला, केही मसिना केराउ पूजाका थालीमा छुटाउन नहुने सामग्री हुन्थे। कहिलेकाहीँ विशेष पूजा गर्थिन् उनी। त्यसका लागि उनलाई अलग्गै स्टोभ, पकाउन चोखो भाँडा चाहिन्थ्यो। मलमलको कपडामा केराउ, आलु, मुलालगायतका के के राखेर मज्जाले पानीमा उमालेर आफैं काटकुट गरेर पूजाका लागि चाहिने सामग्री तयार पार्थिन्। निकै समय लगाएर पूजा गर्थिन् अजी। तयार पारिएको भोग बच्चालाई ढोगाउँथिन्। अनेक भगवान्को नाम लिन्थिन् अनि मन्त्र जप्दै पूजा गर्थिन्।
नेवारी जात व्यवस्थामा अजी कुन जातकी थिइन् मैले कहिल्यै चासो राखिन। तर मैले थाहा पाएदेखि नै उनी सधंै भुइँमा बस्थिन्। टुक्रुक्क। खाएको थाल आफैं माझ्थिन्। उनलाई दिइने खाना चोखो हुनु पर्दथ्यो। कसैले चाखेका वा जथाभावी छोइछाइ गरेका खाना उनको शरीरका लागि ग्राह्य हुँदैनथ्यो। अनेक बिकार देखिन्थ्यो शरीरमा। त्यसैले आमा सधंै सजग हुन्थिन्। आमाको र अजीको सम्बन्ध अजीबको थियो। दुवै एकअर्कालाई सम्मान पनि गर्थे, कचकच पनि गर्थे। निकै पुरानो चिनजानका कारण दुवैले एकअर्काका दुःख देखेका थिए। कति पटकसँगै रोएका थिए। माइत बसेकी अजीले माइतमा भोगेको पीडाले आमालाई पनि दुःखी बनाएको थियो पटकपटक। थुप्रै सन्तानको पीडा भोगेकी आमाको दुःख देखेर अजी पनि आमालाई माया गर्थिन्। घरमा आउँदा आफूले सकेको काममा सहयोग गर्थिन्।
‘अजी’हरू उपत्यकाका विभिन्न ठाउँमा छन्। सायद गाउँतिर पनि होलान्। अर्कै नाउँसहित अर्कै पहिचानसहित।
अजीसँग मान्छेहरू डराउँथे। उनकै टोल छिमेकका मान्छेहरू पनि हत्तपत्त उनीसँग बोल्दैनथे। भन्थे यिनमा दैवीशक्ति छ। जे पनि गर्न सक्छिन्। त्यसैले यिनको संगत कमै मान्छेसँग हुन्थ्यो। तर मलाई अजीसँग कहिल्यै डर लागेन। खुब माया गर्थिन् मलाई उनी। म पनि सम्मान गर्थें। सधैं सही कार्यका लागि भेट्ने मान्छेसँग केको डर। उनलाई केही परे, केही चाहिए मलाई आमाले थाहा नपाउने गरी विस्तारै भन्थिन्। म उनको आवश्यकता पुर्याउन सकभर प्रयास गर्थें। कहिले सक्थेँ, कहिले सकिन्न भन्थेँ। मेरो उमेर बढेसँगै अजीको उमेर ढल्किनु प्राकृतिक थियो। उनी बुढी हुँदै गइन् म युवा। ममा विस्तारै अजीप्रतिको विश्वास हराउँदै र विज्ञान माथिको विश्वास बढ्दै थियो। मेरो युवा चेतनाले भन्न थालेको थियो- ‘फुकेरै रोग निको हुने भए यत्रो चिकित्सा विज्ञानको विकास किन हुन्थ्यो ? चुनौतीहरू बाँकी किन हुन्थ्यो ? यो अन्धविश्वास हो।’ तर अजीप्रति आमाको विश्वास दृढ थियो। किनकि उनैले अनेक गरेर हामी दाजु, भाइलाई तङय्राएकी थिइन्। त्यसैले आमा हामीलाई केही पर्दा उनको ढोका ढकढकाउन पठाई रहन्थिन्। अजीले मलाई मात्रै होइन मेरा छोरी र छोरालाई पनि स्याहारिन्। सावाँभन्दा ब्याज प्यारो भने झैं उनलाई नातिनातिनीहरूसँग निकै लगाव थियो। त्यसैले उमेर ढल्किएकी अजी चार ठाउँमा बसेर थकाइ मार्दै भए पनि आइपुग्थिन् र सुस्केरा हाल्दै भन्थिन्- ‘के गर्नु बाबु बूढी भइयो, अब हिँड्न पनि गाह्रो हुन थालिसक्यो।’ अजीको चर्चा फराकिलो थियो। त्यसैले उनलाई लिन टाढा टाढाबाट मानिसहरू आइपुग्थे। हस्याङफस्याङ गर्दै। आफ्नो बच्चालाई गाह्रो भएपछि अत्तालिनु स्वाभाविकै त हो। पैसाको लोभ थिएन अजिमा। उनले कहिल्यै आफूले गरेको उपचारको मूल्य तोकिनन्। बरु अप्ठ्यारो पर्दा सापटी माग्थिन्। पूजापाठ र फुकफाक गरेरै निको पार्ने पेसा भए पनि अजी डक्टर नदेखाऊ भन्दैनथिन्। आधुनिक चिकित्सा विज्ञानप्रति उनको आस्था बढ्दै थियो। तर परम्परागत रोग निदान प्रक्रिया उनको दैनिकी।
विश्वास भनौं या अन्धविश्वास अजी देखाउने चलन हाम्रो समाजमा अझै कायमै छ। मलाई काखमा लिएर वल्टाइपल्टाई गर्दै तेल दलिदिने अजी सशरीर हामीबीच छैनन्। मलाई हेर्ने अजी अपवाद हुन्। अरू अजी त्यसरी घरघरै धाउँदैनन्। बच्चा लिएर अजीकै घरमा पुग्नु पर्दछ। ‘अजी’हरू उपत्यकाका विभिन्न ठाउँमा छन्। सायद गाउँतिर पनि होलान्। अर्कै नाउँसहित अर्कै पहिचान सहित।
अजीहरूलाई ‘अजिमा’ भनिन्छ सामान्यतया। विकसित र परिवर्तित हुँदै गएको समाजमा चिकित्सा विज्ञानप्रति विश्वास बढ्दो छ। त्यसैले चिकित्सक देखाउने, अस्पताल लाने चलन बढेको छ। सहरमा बाल चिकित्सकहरूको संख्या बढे पनि अजीप्रतिको विश्वास भने घटेको छैन। केटाकेटीहरूलाई बिसञ्चो हुँदा आज पनि अजीमाहरूका घरमा देखाउन आउनेहरूको भीड उत्तिकै भेटिन्छ। विश्वास र अविश्वासभन्दा माथि हुन्छ आफ्नो बच्चाको स्वास्थ। त्यसैले चिकित्सकसँग सँगै अजिमाको आशीर्वाद लिनुलाई अन्यथा ठान्दैनन् अभिभावक। औषधिले होस् वा आशीर्वादले वा मन्त्रले आफ्नो बच्चा निको हुनुभन्दा ठूलो के हुन्छ र अभिभावकका निमित्त। अजी देखाउने, विभिन्न मन्दिरमा पूजा गर्ने, पाठ गराउने चलन समाजमा विद्यमान छ। यो आस्था हो। विश्वास हो। संस्कृति र सम्पदा सबै आस्थाका प्रतीक हुन्। आस्थाले नै समाजलाई संस्कृतिसँग जोडेर राखेको छ।