आध्यात्मिक आँखीझ्याल
‘अध्यात्म’ शब्दलाई ‘धार्मिक’ शब्दको समानान्तर वा पर्यायवाची शब्दका रूपमा बुझिएको पाइन्छ। त्यसमा केही समानार्थिक बुझाइका पक्षहरू होलान्। यद्यपि, यस पंक्तिकारको सामान्य बुझाइमा अध्यात्म शब्दको अर्थ धार्मिक अर्थको सीमाभन्दा पर छ। यस शब्दले कुनै पनि अनुभव जुन बाह्य इन्द्रियहरूको माध्यमबाट प्राप्त हुन्छ, त्यसभन्दा परको अर्थात् बाह्य इन्द्रियजनित अनुभवभन्दा चैतन्यको भित्री तहबाट वा भनौं, हृदयबाट अनुभूत गरिने सत्यलाई बुझाउँछ। त्यस ‘सत्य’लाई अन्य कुनै पनि विचार, प्रभाव, आग्रह, तर्क, परामर्श, अर्ति, उपदेश आदिद्वारा कसैको अपेक्षानुकूल परिवर्तन गर्न सकिन्न। अध्यात्म विचारमा कुनै पनि धर्म, जात, समुदाय, वर्ण, देश, लिंग आदिको विभेद रहँदैन।
यस विचारमा दया, माया, करुणा, क्षमा, प्रेम, सद्भाव, सहिष्णुता, परोपकार, भ्रातृत्व वा भगिनीत्व, समभाव वा समानता जस्ता मानवतावादी दृष्टिकोणहरू सन्निहित छन्। यसमा व्यष्टि नभएर समष्टिप्रतिको दृष्टिकोण राखिन्छ। व्यक्तिप्रति उच्च मानवीय भावनाले व्यवहार गरिन्छ। अन्यका कमीकमजोरी वा कुनै पनि गुणलाई स्वाभाविक रूपमा लिइन्छ। यस्ता सूक्ष्म भावहरूको उत्पत्ति धर्मभन्दा पहिल्यै भएको मान्न सकिन्छ। मानवीय चेतनाको आरम्भसँगै यी गुणहरू पनि हुर्कंदै आए र व्यवहारमा पनि क्रमशः विस्तारित हुँदै आए। सनातन हिन्दु व्यवहारलाई हिन्दु धर्ममा नामकरण गरिएको हो। हिन्दु धर्म मूलतः संस्कृति, संस्कार वा व्यवहारमा आधारित छ। यो आलेख सामान्य बुझाइको निबन्धात्मक प्रस्तुति मात्र हो।
अपरिभाषित रूपमा आध्यात्मिक विचारलाई धर्मभन्दा पहिल्यैदेखि मानव समाजले अपनाउँदै आएको हो। नत्र समाजको विकास कसरी सम्भव भयो त ! यी मानवीय गुणहरूको सामाजिक परिपालनाबिना समाजको उत्थान हुन सक्ने अर्को आधार देखिँदैन। विभिन्न धर्मगुरु वा धार्मिक नायकहरूले आ-आफ्ना विचार, प्रवचन, लेखन, अर्तिउपदेश आदिको माध्यमबाट यी सद्भावयुक्त मानवीय गुणहरूलाई पुनर्जागृत गराउँदै आए उहिल्यैदेखि। धर्म नमान्ने मानिस नास्तिक कहलाइन सक्छ तर आध्यात्मिक नभईकन त उसको अस्तित्व नै हुँदैन। आत्माबाटै स्विकारेर, महसुस गरेर अभिव्यक्त गरिने व्यवहार वा वचनलाई आध्यात्मिक मान्न सकिन्छ। यसनिम्ति कुनै पनि कुराको सीमामा खुम्चिनु पर्दैन।
यो स्वस्फूर्त हुन्छ। विवेक वा चेतनाको भित्री आदेशबाट यो गुण परिचालित हुन्छ। जस्तै, आगोको भुंग्रोेको निकटमा खेल्दै पुगेको बालकलाई देखेर उसलाई त्यसमा पर्नबाट जोगाउनुपर्छ भन्ने चेतना वा कर्तव्यको भावना नै प्राकृतिक भावना हो। त्यसनिम्ति कुनै धर्मको विचार गर्नु पर्दैन। यो मानवीय कर्तव्य र कर्मको निश्छल, स्वस्फूर्त अनुभूत प्रकटीकरण हो। यो औपचारिक वा निर्देशित रूपमा पूरा गरिने कर्तव्यभन्दा मनैबाट निर्देशित भएर गरिने कार्य हो जसको हिसाबकिताब गरेर आफूले दायित्व पूरा गरेको भन्ने रेकर्ड राखिँदैन। राज्यतहबाट गरिने सामाजिक दायित्व वा मानवीय उद्धार, उत्थानका कार्यहरू बडो औपचारिक हुन्छन्। त्यस्ता कार्यहरूमा आत्माको प्रस्फुटनभन्दा नीतिनियमको बोझद्वारा थिचिएको कर्तव्य दृष्टिगत रहन्छ। कुनै पनि सम्पन्न गरिएका कर्महरूमा वा विचारहरूबाट आत्माको ध्वनि प्रकट हुँदैन भने त्यस्ता कर्म वा विचारहरू आवरणसज्जित मात्र रहन्छन्, ती आध्यात्मिक हुन सक्दैनन्। तिनको चिरस्थायित्व पनि रहँदैन। आध्यात्मिक भावना र प्राकृतिक भावनाका बीच निकटता रहन्छ। प्राकृतिक भावना स्वस्फूर्त पैदा हुन्छ। आध्यात्मिक भावना स्वस्फूर्त र सुविचारित दुवै हिसाबले प्रस्फुटित हुन्छ।
‘फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ, मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ’— महाकवि देवकोटा। मानवतावादी वा आध्यात्मिक विचार बुझ्न यसभन्दा सुन्दर परिभाषा अर्को के होला ?
सामान्यतः भौतिकवादको विपरीतार्थक शब्दका रूपमा अध्यात्मवादलाई लिने गरिन्छ। भौतिकवाद भनेको दृश्यवान् जगत् हो। यसको अर्थ र अस्तित्व बहिर्मुखी चेतनासँग बढी सम्बन्धित छ।
नेपाली बृहत् शब्दकोशमा ‘आध्यात्मिक’ शब्दको अर्थ ‘अध्यात्मसित सम्बन्ध राख्ने, अध्यात्मसम्बन्धी, आत्मासम्बन्धी, ब्रह्म वा जीवनसम्बन्धी’ भन्ने दिइएको छ। आध्यात्मिक शब्दको बृहत् अर्थलाई शब्दकोशले कुनै परिभाषा दिएको छैन। अध्यात्म मूल शब्दबाट आध्यात्मिक शब्द बनिन्छ। अध्यात्मको शब्दार्थिक परिसीमालाई आध्यात्मिक शब्दले सीमातित गर्छ, सामान्यीकृत गर्छ। शब्दकोशमा दिइएको अर्थ समानार्थक शब्दावलीमा मात्र खुम्चिएको छ।
अध्यात्म वा आध्यात्मिक शब्दलाई वा यिनका अर्थलाई संकुचित ढंगमा बुझ्ने वा बुझाउने गरिन्छ। यिनका अर्थलाई पूर्णतः बुझ्न जति कठिन छ, बुझाउन पनि त्यत्तिकै दुरुह देखिन्छ। दृश्य, आकार वा स्थूलरूप वस्तुलाई अथ्र्याउन वा त्यसको पूर्णावस्था, विद्यमान स्थितिबारे मूल्यांकन र उत्तरावस्थाको पूर्वानुमान गर्न पनि सकिन्छ। यसैगरी मानिसका व्यावहारिक कर्महरू, सामान्य वैचारिक संश्लेषण, विश्लेषण, व्याख्या वा धारणाहरूलाई परिस्थिति र घटनाक्रमहरूका आधारमा बुझ्न वा बुझाउन एवं त्यसबाट यथार्थको सन्निकट पुग्न पनि सकिन्छ। घटनाहरूबाट निर्मित विचारहरू परिवर्तनशील रहन्छन्, तिनको पुनव्र्याख्या भइरहन्छ। तर अध्यात्म विचारको आरम्भ कुनै स्थूलवस्तु वा घटना-सापेक्ष स्थितिबाट उत्पन्न भएको हुँदैन। यसको बीज मानव विवेकको गर्भमा अंकुरित हुन्छ। र यो निर्बन्ध चैतन्यशक्तिद्वारा उद्भाषित रहन्छ व्यवहार वा विचारमा।
आममानिसका बुझाइहरू सापेक्षिक रूपमा मूलतः घटनाहरूका प्रतिक्रियाका रूपमा अभिव्यक्त रहन्छन्। एउटै घटना वा परिस्थितिप्रतिका प्रतिक्रियाहरू पनि अनेक हुन्छन्। ती प्रतिक्रियाहरूले विचार वा तर्कका रूपमा अन्य मानिसलाई प्रभावित पार्छन्। त्यस्ता विचार वा तर्कहरूले पुनः अरू विचारहरू जन्माउँछन्। यस्तो विचार शृंखलाको परिवर्तनीयता सधैं रहनसक्छ। आध्यात्मिक विचारमा कुनै परिस्थिति वा घटनालाई मानवीय मूल्यको तराजुमा राखेर मूल्यांकन गरिन्छ। यसमा तर्कभन्दा विवेकशीलतालाई केन्द्रमा राखेर हेरिन्छ। विवेकशीलताको मूल्यवत्तालाई समयले पुरानो बनाउँदैन। जस्तै, निःसहाय मानिसलाई तत्काल केही सहयोग गर्नु वा भोकले मरणासन्न मानिसलाई खानेकुरा दिनु विवेकशील सोचाइको कार्यरूप हो। ‘तँ काम गरेर पैसा कमा अनि किनेर खा’ भन्ने तर्क हुनसक्छ। तर्क ठीकै भए पनि भोको मानिसलाई पहिले खानेकुरा दिनु मानवीय मूल्यलाई सम्मान गर्नु हो। आध्यात्मिक विचार र व्यवहार दुवैमा हार्दिक भावानुभूतिको अपेक्षा राखिन्छ।
ईश्वरप्रतिको विश्वासलाई आध्यात्मिक विश्वास भन्ने बुझाइ छ। यस बुझाइमा सत्यता रहे पनि यो मात्र आध्यात्मिक विचार होइन। ईश्वरप्रतिको विश्वासले मानिसलाई कम वा बेसी अनुशासनमा बाँधेर राखेको छ। यस विश्वासले नै मानिसलाई सामान्य मानवोचित गुणका साथ कर्महरूमा आबद्ध रहँदै भावी समयका लागि आशावान् बन्न प्रेरित गरेको छ। यसले मानिसलाई मनुष्यत्वबाट पतन हुन दिएको छैन। जगत्मा सीमान्ततक मानवत्वरहित कुकर्मका अपवादहरू हुँदाहुँदै पनि फेरि पनि आममानिसलाई ईश्वरप्रतिको आध्यात्मिक विश्वासले डग्मगाउन दिएको छैन। आममानिसका लागि सबैभन्दा ठूलो शक्ति र अन्तिम भरोसाको आधार पनि यही हो र यही रहँदै आएको छ।
आध्यात्मिक विश्वास धार्मिक, आस्था र परम्पराबाट निर्मित हुन्छ। आध्यात्मिक विचारको स्रोत चेतना, चिन्तन र बुद्धिद्वारा निर्मित विवेकशीलता नै हो भन्न सकिन्छ। चेतनाले विचार र सजगता पैदा गर्छ। चिन्तनले विचारलाई मन्थन गर्छ। बुद्धिले ठीकबेठीकको मूल्यांकन गर्छ, न्यायको काम गर्छ। यी तीन तत्वको अन्तरघुलनले विवेक निर्माण गर्छ। विवेक अन्तरात्मा वा हृदयको निकट रहन्छ र यो आध्यात्मिक विश्वासभन्दा पनि माथि रहन्छ। आफूलाई जतिसुकै हेला गर्ने सन्तानलाई पनि आमाले माया गर्न छोड्दिनन्, त्यस मातृत्व भावलाई मापन गर्न सकिन्न। यो त विवेकभन्दा पनि माथिको गुण हो। आम रूपमा विवेकशीलता आध्यात्मिक विचारको नाभी अर्थात् केन्द्रीय तत्व हो।
सनातन हिन्दू धर्ममा समस्त प्राणीजगत्कै कल्याणको कामना गरिन्छ। बौद्ध वा अन्य धर्म दर्शनमा पनि मानवमात्रको कल्याणकै सूत्रहरू सन्निहित छन्। सनातन हिन्दू धर्मका जीवनोपयोगी दर्शहरू अनेक छन् जसले मनुष्य जातिलाई नै आध्यात्मिक रूपले चिन्तनशील बन्न प्रेरित गरेका छन्; सर्वेभवन्तु सुखीन सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु मा कश्चित दुःख भाग्जन।
सबै सुखी, निरोगी रहुन्, सबैले राम्रो र सुन्दर मात्र देख्न सकून्, कोही दुःखी नहोऊन् आदि कामना गरिएका सूक्तिहरू अनेक छन्। सनातन धर्मको अर्को शीर्ष महत्वको दार्शनिक आयाम ‘सत्य’ हो। ‘सत्य’का पनि अनेक पक्ष र आयामहरू छन्। सत् वचन, सत् कर्म, सत् संकल्प, सत् दृष्टि आदि जति पनि मानवीय गुणहरू छन्, तिनको सविस्तार चर्चा हिन्दू दार्शनिकहरूले गरेका छन्। हिन्दू धर्मको प्राचीनता संस्कारमा नभएर दर्शनमा आधारित रहेको बुझिन्छ। जीवन र जगत्का प्रति सत्यम् शिवम् सुन्दरम् यसको अभीष्ट हो भन्न सकिन्छ। दर्शनहरू परीक्षणको कसीमा घोटिएर निस्केका सत्यवाणी हुन्। सनातन हिन्दु धर्म यस मानेमा सबैभन्दा समृद्ध छ। सनातन हिन्दु दर्शन आध्यात्मिक विचारद्वारा ओतप्रोत रहेको पाइन्छ। यसअन्तर्गत व्यवहारमा अपनाइएका कर्मकाण्ड एवं संस्कार तथा पद्धतिहरूका बारे छलफल, परिमार्जन वा तिनको परिस्कृतीकरण हुँदै आएको देखिन्छ तर जीवनदर्शनका सूक्तिहरू सार्वभौम रहँदै आएका छन्।
बुद्धका दार्शनिक चिन्तनहरू बुद्धधर्मका आधार बने। सनातन हिन्दू दर्शनका सूक्तिहरूमा सन्निहित जीवनदायी सन्देशहरू र बुद्धधर्ममा सन्निहित उपदेशहरूमा समानता छ। सत्य, शान्ति, दया, करुणा, अहिंसा, प्रेम, सद्विचार, सद्वाणी, सत्कर्म, परोपकार, सदाचार, सद्संकल्प आदि जस्ता उच्चतम् मानवीय गुणहरूलाई व्यावहारिक रूपमा अपनाउन उत्प्रेरित गरे गौतम बुद्धले। उनले अनुशासित वा स्वशासित जीवन मार्गलाई बढी जोड दिए।
हिन्दू अध्यात्म दर्शनका आदि दार्शनिकहरूमा अनेकौं ऋषिमुनिहरूको नाम लिइन्छ। श्रीमद्भागवत् गीता एक विशिष्ट दार्शनिक अभिलेख हो। आदि शंकराचार्य, विवेकानन्द आदि दार्शनिकहरूले विभिन्न कालखण्डमा यस दर्शनलाई सविस्तार व्याख्या गर्दै आए। नेपालमा खप्तड स्वामीले हिन्दू अध्यात्म दर्शनको व्यावहारिक विवेचना गरेका छन्। उनको विचार विज्ञानलाई हिन्दू अध्यात्म दर्शन र विचारको सार मान्न सकिन्छ।
इसाई, इस्लाम एवं अन्य धर्म र पन्थहरूका पनि आआफ्नै आध्यात्मिक विश्वास र तिनका पृष्ठभूमिमा निर्मित विचारहरू छन्। सबैको ध्येय सत्यम् शिवम् सुन्दरम् हो। प्रेम, सद्भाव र शान्ति हो। सबै धर्मका मानवतावादी दर्शनहरूमा प्रायः समानता छ। यद्यपि धर्मका नाउँमा मानव समाज विभाजित छ, संघर्षहरू भएका छन्। अन्ध धार्मिक विश्वासहरू यस विभाजनका कारक हुन्। तर आध्यात्मिक विचारमा मानवता, प्रेम, उदारता, भाइचारा, हार्दिकता, सहिष्णुता, समभाव आदि मात्र सन्निहित छन्। आध्यात्मिक विचारले समाजलाई जोड्छ। जब मानिसलाई विवेकले निर्देशित गर्न थाल्छ, धर्म गौण रहन्छ। त्यही विवेक नै आध्यात्मिक विचार हो। आध्यात्मिक विश्वासकै जराहरूबाट आध्यात्मिक विचार अंकुराउन सक्छ। तर आध्यात्मिक विचारमा धर्मको संकुचन रहन्न।
नेपालमा पनि हिन्दू अध्यात्म विश्वासको अनुशीलन, अध्ययन र अभिलेखन गर्ने र त्यसलाई मानवतावादी दृष्टिले व्याख्या-विश्लेषण गर्न थालिएको छ।
विश्व इतिहासमा आध्यात्मिक चेत र विचारद्वारा समाज र राष्ट्रलाई निर्देशित गर्ने, राष्ट्रसामु उपस्थित संगीन घडीहरूमा निर्णय गर्ने राजनेताहरू कैयौं छन्। तिनले आफ्ना देशवासीबाट तथा विश्वस्तरमै सम्मान पनि पाएका छन्। बीसौं शताब्दीमा त्यस्ता धेरै राजनेता वा मानवतावादी चिन्तक जन्मे।
आध्यात्मिक विश्वासद्वारा निर्देशित विचारद्वारा राजनीतिमा प्रेरित गान्धी एक शीर्ष उदाहरण हुन्। राजनीतिमा वैचारिक दर्शनलाई आत्मसात् गरेर त्यसमा अडिइरहन आध्यात्मिक विश्वास र विचारलाई गान्धीले आन्तरिक ऊर्जाका रूपमा ग्रहण गरे। उनको अहिंसावादी आन्दोलन त्यसै ऊर्जाद्वारा अभिप्रेरित सत्यको प्रयोग थियो।
आध्यात्मिक शक्तिले राजनेताहरूलाई महान् निर्णयका लागि प्रेरित गर्ने गरेको इतिहास छ। राजनीतिमा वा अरू क्षेत्रमा जब बदलाको भावना अन्त्य हुन्छ, तब विवेकको आरम्भ हुन्छ। विवेक र अध्यात्म एकअर्काका पूरकका रूपमा मान्न सकिन्छ। राजनीतिलाई विवेकले डोर्याउने नेता नै राजनेता बन्दछ। दक्षिण अफ्रिकाका रंगभेदविरोधी नेता नेल्सन मण्डेलाले २७ वर्षको कठोर जेलजीवन बिताए। उनले नेतृत्व गरेको एएनसीले रंगभेदवादी गोरा शासकलाई घुँडा टेकायो। जब मण्डेला शक्तिमा आए, उनले गोरा शासकलाई क्षमा दिए, बदलाको भावनाले काम गरेनन्। यो उनको कमजोरी थिएन, वास्तवमै महानता थियो। विवेकको राजनीतिमा मण्डेला विश्वकै लागि एक उदाहरण बने।
नेपालका केही राजनेताद्वारा जीवनको उत्तराद्र्धमा गरिएका केही निर्णयमा उच्च विवेकशीलता प्रयोग भएको पाइन्छ। बीपीले २०३३ सालमा नेपाल फर्केपछि निरंकुश व्यवस्थावादीहरूसँग राजनीतिक रूपमा बदलाको भावना राखेनन्। प्रजातन्त्र प्राप्तिका लागि अहिंसात्मक संघर्षको बाटो अवलम्बन गर्नुका साथै राष्ट्रियतामाथि संकट उत्पन्न भएको विश्लेषण गरी त्यसबाट राष्ट्रको रक्षाका लागि राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरे। जीवनका आखिरी दिनहरूमा उनको कसैसँग पनि राजनीतिक वैरभाव रहेन। उनको जीवनको पछिल्लो राजनीतिक निर्णय राष्ट्रिय भावनाद्वारा अभिसिञ्चित राजनीतिक निष्ठाको परिणाम थियो, आन्तरिक अध्यात्म शक्तिद्वारा अभिप्रेरित राष्ट्रिय चिन्तनको प्रतिविम्बन थियो।
यस्तै सन्तनेता कृष्णप्रसाद भट्टराईले चरम राजनीतिक प्रतिकूलतालाई सहज रूपमा स्वीकार्ने क्षमता देखाए। आफ्नैविरुद्धका कतिपय राजनीतिक गतिविधिमा लाग्नेहरूप्रति उनले बदलाको भावना राखेनन्, बरु क्षमादान दिए। यस्तै राष्ट्रिय राजनीतिमा लौहपुरुष भनेर सम्बोधित राजनेता गणेशमान सिंहद्वारा गरिएको सत्तात्याग एक अभूतपूर्व घटना थियो। सत्ताका लागि भन्दा मूल्यमान्यता, आदर्श र विवेकलाई केन्द्रमा राखेर राजनीति गर्नेहरू अरू पनि कैयौं छन्। ती सम्मानयोग्य छन्।
राजनीतिमा होस् वा अन्य जुनसुकै क्षेत्रमा पनि निष्ठा वा विवेक सर्वोपरि सम्झिइनुपर्ने मानवीय गुणहरू हुन्। निष्ठामा रहने व्यक्तिले विवेक, अध्यात्म वा नैतिक शक्ति प्राप्त गर्छ। उसलाई अन्ततोगत्वा पराजित गर्न कसैले सक्दैन। जब मानिस हृदयले बोल्छ, तर्कहरूको प्रभाव समाप्तप्रायः हुन्छ। ‘फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ, मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ’— महाकवि देवकोटा। मानवतावादी वा आध्यात्मिक विचार बुझ्न यसभन्दा सुन्दर परिभाषा अर्को के होला ?