ना(अ)हम् ब्रह्मास्मि

ना(अ)हम् ब्रह्मास्मि

(नोट  यो शैलेन्द्र अधिकारीको उपन्यास ‘निर्वेद’माथिको शतप्रतिशत समीक्षा÷समालोचना होइन। यो पुस्तकको समीक्षा गर्ने बहानामा गरिएको व्यक्तिको समीक्षा हो।)

टीयू घण्टाघरको छेउबाट फुत्त निस्किएर पछाडितिरको बाटो हँदै बेलाबखत एउटा यस्तो आकृति हिँडिरहेको हुन्छ, जसको टाउकोलाई सुल्ट्याउँदा पनि र उल्ट्याउँदा पनि उस्तै देखिन्छ। ऊ मसान होइन, ऊ कुनै भूत वा पिचास होइन। ऊ हो, भर्खरै उपन्यास बजारमा ल्याएको शैलेन्द्र अधिकारी। मायावी संसारका केही रसरङलाई बिर्सिदिने हो भने तपाईं उक्त आकृतिलाई पहिलो किताब लेखेको शैलेन्द्र अधिकारी पनि भन्न सक्नुहुन्छ।

संसारको सबैभन्दा गाह्रो काममध्ये एउटा काम हो, कसैको टाउकाको कपाल गन्ने काम। तर यो हक भने शैलेन्द्र अधिकारीमा लागू हुँदैन। भर्खर नर्सरी पढेकी छोरीले पनि उनकै टाउकाको कपाल गनेर गन्ती सिकिरहेकी छिन्। अर्को सत्य, अबको केही वर्षमा छोरीले जानेको गन्तीभन्दा कपालको संख्या कम हुन्छ। किनकि, उनले टाउकाको कपालबाट एक एक रौं निकालेर आफ्नो किताब बनाइसकेका छन्। एउटा कपाल दिमागबाट निकाले भने दुईवटा दिलबाट हाल्छन्। यो किताबमा मात्र होइन उनको जिन्दगीमा पनि लागू हुन्छ।

हु द हेल इज शैलेन्द्र अधिकारी ?

शैलेन्द्र अधिकारी सहरको त्यस्तो चर्चित नाम होइन, तर गुमनाम पनि होइन। मायावी दुनियाँमा उनलाई धेरैले चिन्छन् तर उनको लेखकीय स्पष्ट परिचय आजसम्म बनिसकेको छैन। उनी सहरको प्रख्यात कलेजहरूमा पढाउँछन्। लेक्चर हुन्। पीएचडी गर्दै छन्। छिटै डाक्टर पनि हुन्छन्। प्रेमिकाका प्रेमी, श्रीमतीका श्रीमान्, छोरीका बा र बा आमाका छोराभन्दा बढी भरोसा हुन्।

दाइ भाउजू सिंगापुरमा बस्नुहुन्छ, दिदीभिनाजु पेरिसमा होटेल चलाइरहनु भएको छ। उनी नेपाल बसेर बिरामी आमाको दुखेको जोर्नी मल्हम लगाएर चलाइरहेका छन्। मलाई उनी देख्नसाथ मुनब्बर रानाको एउटा शेर याद आइहाल्छ।

किसी को घर मिला हिस्से में या कोही दुकाँ आई

मैं घर में सब से छोटा था मेरे हिस्से में माँ आई

अदालतको पेन्सन निस्की सक्नुभएका बा गाउँमा बाटोको प्रमुख हुनुहुन्छ। विकासवादी जनताले जग्गासम्म पनि दिन नमानेपछि उहाँ आफ्नै घरको पर्खाल भत्काएर बाटो बनाउन सुरु गर्दै हुनुहुन्छ। त्यही पर्खालबाट निस्किएको इमानदारी र नैतिकताको एक एक इँटा टिपेर छोरो यता सहरमा अक्षरको पर्खाल बनाइरहेका छन्। छोराले बनाएको पर्खाल बाले भत्काएको गाउँको पर्खाल जत्तिको सुन्दर बन्यो कि बनेन त्यो त समयले बताउने नै छ। उनको किताबमा सौन्दर्यको म जिम्मा लिन सक्दिनँ तर इमानदारी भने जरुर भेटिन्छ।

एकदिन उनको पात्र किताब छोडेर दुनियाँमा आयो भने मधुरस पान गर्दै जरुर भन्नेछ ‘हु द हेल इज शैलेन्द्र अधिकारी ? ’, म मुसुक्क हाँसेर भन्नेछु ‘हि इज ब्लडी इनोसेन्ट’।

प्रि-निर्वेद गन्थन मन्थन

कीर्तिपुर नगरीको लोकप्रिय मधुशालामा आज हामी दुई जना मात्र छौं मैले साबिकको प्रश्न राखेँ, ‘दाइ किताबलाई लेखिरहनुभएको छ कि किताबले लेखिरहेको छ ? ’ तर आज उनी अरूबेला जस्तो फिस्स हाँस्ने मुडमा छैनन्।

हातले हातजस्तै टाउको सुम्सुम्याउँदै आँखीभौंलाई हल्का उचाल्दै उनले भने, ‘मलाई कहिलेकाहीँ लाग्छ, यी घाटहरू वाचाल भइदिएका भए क्या गजब हुन्थ्यो ! यिनीहरूलाई हरेकको पीडा, आँसु र चीत्कारको कथा थाहा हुन्थ्यो। आँसुको मूल्य यिनीहरूले बुझ्थे कि बुझ्दैनथे होला ? दिनहुँ आफ्नै छातीमा राखेर सयौंलाई जलाउँदा यिनीहरू स्वयम्को छाती कत्तिको पोल्दो हो ? सन्तान खोसिएकी आमाको आँसु, सिन्दूर खोसिएकी युवतीको वेदनालाई यसले सँगालेर राख्दो हो कि नराख्दो हो ?

साँच्चै घाटको मौनताको भाषा निकै कडा हुनुपर्छ !’

मैले बुझेँ, उनी भर्खर घाटसँग संवाद गरेर आएका छन्। ‘राम ! राम !! कति गाह्रो कुरा हो दाजु ? नेपालीमा उल्था गर्दिनुस् न’। मैले हातले चिउँडो अड्याएर भनेँ। उनी यो पालि सिरियस छन्। उत्तर दिएनन्। मैले प्वाक्क थपी हालेँ ‘दाइ नगरकोटीको लाइनमा हो ? ’ अब उनको मुख खुल्यो। ‘होइन भाइ, म मेरै लाइनमा हो। म वेदान्त दर्शनलाई कथामा निर्माण गर्न लागिरहेको छु। जोगी नभई जोगीको कथा लेख्न चाहन्छु। जिन्दगी र मृत्युको बीचमा एउटा धागो छ। म त्यसको कथा लेख्न चाहन्छु।’ अब चाहिँ मैले पनि गम खाएँ।

दाजुले घुटुक्क मधुरसको घुट्की लिइसकेपछि झ्याप्प आँखा चिम्लिए। म भने घाँटीको बाटो हुँदै भित्रसम्म गइरहेको मधुरस हेरेर अनुभव गरिरहेको थिएँ।

‘भाइ ! लेख्न गाह्रो छ यार।’ उनले सुस्केरा काढे।

‘दाइ ! सजिलो त के छ र दुनियाँमा ? ’ मैले थपेँ।

‘सास फेर्न।’ दाइले हाँसेर भने।

मैले भनेँ, ‘होइन यहाँ ९९ प्रतिशत मान्छे त सास फेर्नै गाह्रो भएर मरिरहेका छन्।’

चस्माको तल बनेको खाली चरबाट आँखाले जुल्क्याउँदै दाइले भने, ‘भाइ सास फेर्न गाह्रो भए पिसाब फेर्न चाहिँ सजिलो होला।’ मैले भनेँ ‘एउटा मात्र ट्वाइलेट र कन्स्टिपेसनको बिरामी साथी भएको होस्टेलमा बस्नेलाई सोध्नुस्।’

हामी निचोडमा पुग्यौं सजिलो भन्ने संसारमा केही छैन।

बाँच्न सजिलो छैन, मर्न झन् गाह्रो छ। जीवनको पथ स्वनिर्मित हुनुपर्छ। अर्काले निर्माण गरेको बाटोबाट निर्वाण प्राप्त हँदैन। यही नै उनको उपन्यासको मुटु हो।

मायावी संसार

करिब चार वर्ष अगाडिको कुरा हो। सहरकै एउटा चिया पसलमा चिया सुरुप्प पार्दै कवि रावतले सोध्यो, ‘भाइ ! के छ हौ गजलको खबरखाबर ? ’

मैले भनेँ, ‘म अर्काको किताब नपढी ज्ञानी हुन सक्दिनँ त्यसकारण मैले त त्यतातिर छोडेँ हो दाजु।’ उसले भन्यो ल भाइ पनि मायावी संसारबाट निस्केछ।

कुनै जमाना हामी सबै मायावी संसारका जनता थियौं। त्यो बेला मायावी संसार भाग—१ र मायावी संसार भाग— २ थियो। अहिले के छ मलाई थाहा छैन। हामी मायावी संसार— १ का हर्ताकर्ता थियौँ। शैलेन्द्र दाइ मायावी संसार भाग— २ का चल्तापुर्जा थिए। अहिले पनि छन चाहिँ छन् क्यारे तर सेरेमोनियल मात्र। अहिले बेलाबखत गाना बजाना र रोनाधोनाको साक्षी बस्नेबाहेक अरू काम छैन।

त्यही बेला यिनको किताब निस्कियो १०१ बहरहरू समावेश भएको गजल संग्रह। उनले त्यो किताब यसरी लुकाए कि चटपट खाँदा कसैले देख्छ भनेर आजसम्म कवाडीमा समेत बेचेका छैनन्। त्यो बेलाका बहर सायद अहिलेसम्म गोरु भइसके होलान्। मलाई यिनले त्यो परिवेश पछि बुझेको एउटा कुराले असाध्यै दिल छुन्छ। एक दिन रसैरसमा दाइले भने ‘भाइ यो बहर छन्द बनाएर बन्ने कुरा होइन रहेछ, मैले कयौं बहर बनाएँ भनेर ऊ बेला कत्रो गर्व गरेँ तर त्यो त अरू कसैले बनाइसकेको कुरा पो रहेछ।’

कुरा सरल भए पनि यहाँ मैले गम्भीर विषय पाएँ। ल अफ इनर्जी। ‘इनर्जी न बनाउन सकिन्छ न बिगार्न नै, मात्र रूप परिवर्तन गर्न सकिन्छ।’ कतै लेखन पनि यही त होइन ? यही संसारकै कुरा पढेर मात्र भर्सन चेन्ज गर्न सकिन्छ तर मुख्य भर्स चेन्ज गर्न सकिँदैन।

यहीनेर उनीमाथि प्रश्न छ। आखिर दर्शन लेख्ने भए दर्शनका किताब पढ्दा भइगयो नि किन फोटोकपी पढ्नुपर्‍यो त ?

उनले यसको उत्तर किताबमा दिएका छन्।

निर्वैदिक जोगी संवाद

पाण्डुलिपि पढेकै दिनदेखि म सधैं गम खान्थेँ। शैलेन्द्र अधिकारी जस्तो मान्छेले निर्वेद जस्तो उपन्यास कसरी लेख्न सके ? उनको फेसबुकको स्ट्याटस पढ्यो भने त उनलाई वेश्यालयबाट पनि धपाउँछन्। उनले जोगीसँग संवाद गरेर कसरी सिंगो उपन्यास तयार पारे ? पछि बुझ्दै गएँ, जोगी हुनु र जोगीको बारेमा लेख्नु बिल्कुल फरक कुरा हो।

उनको उपन्यास मूलतः वेदान्त दर्शनको जगमा बगेको कथा हो। विश्वविद्यालयमा रिसर्च गरिरहेको एउटा ठिटो जोगी नबनी जोगी बुझ्न चाहन्छ। जब उसले स्वामी अस्वामीहरूको संगत गर्दै जान्छ, धेरै कुरा थाहा पाउँछ। ऊ गुको संगत गर्दै गर्दै हरिद्वार पुग्छ। अघिल्लो दिन गुरुलाई आँखा अगाडि देखेको उसले भोलिपल्ट केवल चप्पल मात्र देख्छ। उसले देखेको चप्पल नै जीवनको एउटा यथार्थ दर्शन बन्छ। मतलब गुरु चप्पलमा विलिन हुन्छन्। अनि सुरु हुन्छ गुरुका जीवनका आरोह र अवरोह। माया, मोह, लोभ, क्रोध आदि इत्यादि।

मैले भन्न मिल्ने यत्ति हो। बाँकी तपाईंहरू जस्तो विद्वान् मान्छेले किताब किनेर पढिहाल्नु हुन्छ। कतै केही बुझ्नु भएन भने रूपक ‘मायावी’ अलंकारसँग सम्पर्क गर्नुहोला। जो शैलेन्द्र अधिकारीले उपन्यासमा बुझाउन नसकेको कुरा छ भने दर्शनमा बुझाउँछन्।

शैलेन्द्रले पशुपतिका धेरै जोगीहरूसँग संवाद गरेका छन्। कहिले यौनको प्रश्न सोधे, कहिले वैराग्यको प्रश्न सोधे त कहिले मृत्युको। एकपटक त जोगीले खेदेर एकैचोटी गौशाला आएर सास फेरे। किन जोगी बन्नु भयो भनेर सोध्ने क्रममा एउटा जोगीले भनेछ, ‘नपुंसक छु, समाजमा आत्मप्रतिष्ठा जोगाउन जोगी भएँ।’ जोगीलाई प्रतिष्ठाको मोह ? उनी रन्थनिएर आएर मलाई फोन गरे- भाइ धेरै भो नि नबसेको, आज मधुरस पान गरौं।

मलाई खड्किएको चाहिँ उनले जोगीसँग जति संवाद गरे त्यति संवाद किताबसँग गरेनन्। आत्तिए ! हीरा पनि प्रसोधन गर्ने बेला आत्तियो भने कोइला बनेर निस्किन्छ। कति जोडिनु पर्ने ठाउँहरू टुटे, कति टुट्नु पर्ने ठाउँहरू जोडिए।

अरू त सबै उस्तै हो, म पनि अँध्यारो मन नपराउने मान्छे।

म ब्रह्मा होइन

चर्चित सिरिज सेकरेट गेम्सको दोस्रो खण्डमा गनेस गाइतोण्डेले गुरुजीलाई मार्ने बेला एउटा लामो संवाद दोहोर्‍याउँछ, ‘में ब्रह्म की धूल हूँ, में सबसे प्रेम करता हूँ , में किसी से प्रेम नहीं करता हूँ, में अघोरी हूँ, में मुर्दा खाकर जीवित रह सकता हँ, मेनें बार बार आफ्ना माँबापपुत्रका बद किया हैं, दानबका पुत्र, अधर्मका पिता ...... में परम हँ में अणु हूँ, में ब्रह्म हूँ, सिर्फ में हीँ ब्रह्म हूँ।’

मैले यो हेरिरहँदा निर्वेदको केही प्रसंग दाँजिरहेको थिएँ। निर्वेद भन्छ ब्रह्म हुनु भनेको राक्षस पनि हुनु हो। ब्रह्म हुनु भनेको आफ्नै हत्या गर्न सक्ने हुनु हो, अर्कालाई असह्य दुःख दिन सक्ने हुनु हो। कतिको राम्रो त कतिको नराम्रो सोच्न सक्ने हुनु हो। यदि यो संसार ईश्वरकै कारण चलेको छ भने ऊ जति पापी कोही पनि छैन। त्यसकारण उनलाई यो ईश्वरको रोल मान्छेले गरेको पटक्कै मन पर्दैन। ईश्वरको रोल कि ईश्वरलाई नै ठीक छ कि यो रोल ढुंगालाई ठीक छ जसको हृदय हुँदैन।

ना(अ)हम् ब्रह्मास्मि अर्थात् म ब्रह्मा होइन। म ब्रह्मा हुन सक्दिनँ। तपाईं ब्रह्मा हुन सक्नु हँदैन।

मान्छेलाई मान्छे नै हुन दिनुहोस् नत्र भगवान्ले निर्वेद लेख्न सक्दैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.