मिडिया १-० बालबालिका
दुई वर्ष पनि नपुगेकी एक बालिका दरबारमार्गको एक रेस्टुराँमा केही युवाको तानातानमा परिरहेकी थिइन्। ‘खोइ, यतातिर हेर त’, एक महिलाले जबरजस्ती ती बालिकासँग गाला जोडी फोटो खिचिन्। छेउका युवक झन् के कम ! ‘नानु, ल जिब्रो निकाल त’ भन्दै मोबाइल ठड्याइहाले।
ती बालिका इन्स्टाग्रामकी लोकप्रिय सेलिब्रिटी हुन्। हजारौंले तिनका नाममा बनाइएको अकाउन्ट फलो गरेका छन् जसबाट दिनहँ रमाइला क्याप्सन लेखेका तस्बिर अपलोड हुन्छन्। अझ, आफ्ना बा-आमाका व्यवसायका लागि मोडलसमेत हुन्।
आफ्ना त्यति धेरै ‘फ्यान’ छन् भन्ने तथ्यबाट ती पूर्व मिस नेपालपुत्री अनभिज्ञ छिन्। धनाढ्य व्यवसायी पिताले युट्युबमा राख्ने आफू सम्बन्धी भिडियोका हजारौं दर्शक छन् भन्ने पनि तिनलाई ज्ञात छैन। त्यसैले त छेउका युवाले जबरजस्ती फोटो खिच्न खोज्दा अन्य सेलिब्रिटीजस्तै तिनका मोबाइलतिर होइन, हातमा भएको चुइँचुइँ गर्ने खेलौनामाथि तिनको ध्यान केन्द्रित थियो।
अभिभावकले बनाइदिएको इन्स्टाग्राम अकाउन्टको लोकप्रियताका कारण उत्पन्न भएको यस्तो अपत्यारिलो ‘स्टारडम’ले सार्वजनिक स्थानमा ती बालिका बालिका नै रहन पाउँदिनन्।
यसरी आई आपूmसँग झ्याम्मिने समूहको आकर्षणको केन्द्र बनेकी ती बालिकाले फोटो खिच्न नमान्दा रुष्ट भएको देखाउँदै तिनकी आमा ‘बऽऽऽऽड’ भन्छिन्। ती युवासँग छोरीले सेल्फी खिच्न मानोस् भनी हातको खेलौना खोसिदिन्छिन्। ती बालिकालाई मात्र त्यो खेलौना चाहिएको थियो। त्यही पनि नहँदा चिच्याउँदै रहेको परसम्म सुनिन्छ।
यी सब घटनालाई केही साम्य बनाउन ती पूर्व मिस नेपाल आमा फोटो खिच्न आउने युवालाई भन्छिन्, ‘हेर्नु न। आज के भयो ! अरू बेला यस्तो थिइन यो। सरी ल।’
समग्रमा भन्नुपर्दा आफ्नी छोरीले गरेको ‘दुव्र्यवहार’का लागि तिनले माफी मागिन्। ती युवाको मुख खिस्स परिसकेको थियो।
ती बालिका आफ्नो इच्छाले सेलिब्रिटी भएकी होइनन्, त्यसैले सार्वजनिक छविबारे सोच्दिनन्, सोच्न सक्दिनन् भन्ने तथ्य पचाउन ती युवालाई किन गाह्रो ? बच्चालाई बच्चा नै रहन दिन ती अभिभावकलाई किन यति गाह्रो ?
यस्तै एक दिन झम्सीखेलको एक कफीसपमा आफ्ना छोरासित देखा परिन् अर्की मिस नेपाल। केही युवा तीसँग सेल्फी खिच्न झुम्मिहाले। पहिलेकी बालिका मात्र होइन, यी बालक पनि उत्तिकै लोकप्रिय छन्। ती बालिकाको जस्तै यिनको छुट्टै इन्स्टाग्राम अकाउन्ट त छैन। तर, तीन लाखभन्दा धेरै फलोअर्स भएकी यिनकी आमाले पोस्ट गर्ने यिनका हरेक क्रियाकलापका फोटो र भिडियोका कारण यी चर्चित छन्। धेरैलाई थाहा छ यिनी कति बजे उठ्छन्, कति बजे सुत्छन्, खाना कति बजे खान्छन्, के खान रुचाउँछन्, रुचाउँदैनन्। के गर्दा यिनलाई झर्को लाग्छ, के गर्दा यी रमाउँछन्, कुन कार्टुन हेर्दा खुसी हुन्छन्, कुन कार्टुन हेर्दा विरक्तिन्छन्, कम्तीमा तीन लाख इन्स्टाग्राम प्रयोगकर्ताले दिनहँ थाहा पाउँछन्। अझ हँदाहँदा यिनलाई कसरी नुहाइदिने गरेको छ, नुहाइदिँदा यिनले कस्तो रङको कट्टु लगाउँछन् (वा लगाउँदैनन्) भन्ने पनि यिनकी आमाको इन्स्टाग्राम स्टोरी देख्ने सबलाई थाहा छ।
गल्ती कसको ? हाम्रो। हामी सबैको। किनभने, हामी नै सञ्चार हौं।
तीन लाख सानो संख्या होइन। तिनै तीन लाखमध्ये थिए सायद सेल्फी खिच्न आउने ती युवा पनि।
‘ह्या ! जो पनि मसँगै फोटो खिच्न आउँछ’, प्रतिक्रियास्वरूप ती बालकले बोलेको यो वाक्य तिनकी आमाले सुनिन् मात्र, त्यसको गम्भीरता विचार गरिनन्।
‘बाबु, यता क्यामरातिर हेरेर सबैलाई हाई भन्देऊ न’, इन्स्टाग्राममा पोस्ट गरिएको एक भिडियोमा यिनकी आमा भन्छिन्। आफ्नै सुरमा खेलिरहेका ती बालकलाई क्यामराको मतलब छैन, न त थाहा छ कसलाई हाई भन्नुपर्ने हो। ‘सरी गाइज्, मेरो छोरा आजकल अलि अटेरी हुन थालेको छ’, आमा भिडियोमै भन्छिन्।
काठमाडौंमा आयोजित कुनै एक कार्यक्रमको भिडियो युट्युबमा अपलोड गरिएको थियो जसमा तिनै मिस नेपालले बालबालिकाको मानसिक स्वास्थ्यमाथि टिप्पणी गरेको सुन्न सकिन्छ। सन्तानका लागि राम्रो वातावरण सिर्जना गर्न अभिभावकले कस्तो वातावरण सिर्जना गर्नुपर्छ भन्ने सुझाव दिन्छिन् उनी।
त्यो भिडियोमा तिनले बोलेका प्रत्येक वाक्य, अन्य अभिभावकलाई दिएका प्रत्येक सुझाव मलाई कृत्रिम लाग्छन्।
केही वर्षअघिसम्म ती बालकलाई घरका कसैले नुहाइदिरहेका भिडियो धेरै आउँथे तिनकी आमाको इन्स्टाग्राम स्टोरीमा। कट्टु नलगाई यताउता कुदिरहेका भिडियो त कति हो कति !
‘समाज कति उदार हँदै छ भन्ने कुराको प्रमाण हो यो’, एक अनलाइन फोरमले यसै विषयलाई केन्द्रमा राखी गरेको छलफलमा यस्तो प्रतिक्रिया पनि आयो। प्रतिक्रियाकै भीडमा अर्को प्रतिक्रिया यस्तो छ, ‘हामी सबै नांगै जन्मिएका हौं। हाम्रा शरीरमा के-के अंग छन्, सबैलाई थाहा छ। लुकाउनु पर्ने आवश्यकता नै छैन।’ अहिले आपूmमाथि परनिर्भर आफ्ना सन्तानका नांगा फोटो अपलोड गर्न पाउनुपर्छ भन्दै यसरी वकालत गर्नेले भोलि आपूm सन्तानमाथि निर्भर हुनु पर्दा तिनै सन्तानले तिनका वस्त्रहीन फोटो अपलोड गरे यही उत्तर पुनः दोहोर्याउन सक्लान् ?
अहिले सबैभन्दा ठूलो खतरा अनेक पिडोफाइल वेबसाइटमा प्रकाशित हुने सामग्री हुन्। ती सबलाई यस्ता फोटो र भिडियो हामी जानीनजानी हाम्रा सामाजिक सञ्जालमार्फत दिइरहेका छौं। अस्ट्रेलियास्थित न्यु चिल्ड्रेन्ज इ-सेफ्टी कमिस्नरले दिएको वक्तव्य हेर्ने हो भने यस्ता वेबसाइटमा प्रकाशित आधाभन्दा बढी सामग्री फेसबुक तथा इन्स्टाग्रामबाट लिइएका हुन्। हप्ता दिनमै यिनको दर्शकको संख्या १७ लाख हाराहारी पुग्ने गरेको छ।
सीधै भन्नुपर्दा आफ्ना छोराछोरीका आङमा कपडा नहँदा फोटो, भिडियो खिचेर अनावश्यक रूपमा सामाजिक सञ्जालमा राख्ने अभिभावक नै हुन् त्यस्ता वेबसाइटमा प्रकाशित हुने सामग्रीका ‘सप्लायर’।
०००
यस्ता उदाहरण हामीवरिपरि थुप्रै छन्। कतिका नालीबेली केही महिनाअघि पहिलोपोस्टका लागि गरेको रिपोर्टिङमा स्वेच्छा राउतले केलाएकी थिइन्।
‘छोराछोरी ‘भाइरल’ बनाउने मानसिकता : कति सही, कति गलत ? ’ शीर्षकको त्यस लेखमा छोरीले तोतेबोलीमा रङ, कलाकार, राजनीतिज्ञका तस्बिर चिनेका साना-साना भिडियो हँदै बिहान सबेरै अर्धनिद्रामा बोलेका वाक्यदेखि लिएर छोरीको बुझाइको क्षमताभन्दा बाहिरका शब्द, वाक्य जबरजस्ती बोल्न लगाउने बाबुका क्रियाकलाप नजिकैबाट नियालेकी लेखक प्रश्न गर्छिन्, ‘बुबाले यत्रो मेहनत गरेर, आग्रह गरेर, पोस्ट बुस्ट गरेर, नकारात्मक कमेन्ट गर्नेलाई व्यंग्य गरेर पाएको पहिचान छोरीलाई भोलि मन परेन भने ? वा उनलाई यसले खुसी बनाएन भने ? ’
इन्स्टाग्रामभन्दा ठूलो आतंक त अहिले टिकटकको छ। बोली पनि राम्रोसँग नफुटेका बच्चाका ओठमा नसुहाउँदो तरिकाले लिपस्टिक लगाइदिएर र कपडाको एक टुक्रा साडीजसरी बेरिदिएर बनाएका यस्ता भिडियोमा अनेकथरी डाइलग बोल्न, गीत गाउन लगाउने अनि ‘आहा ! कति क्युट’, ‘कस्तो ट्यालेन्टेड’ जस्ता प्रतिक्रिया बटुल्ने अभिभावक बालबालिकाका लागि खतरा हुन्।
हामीले कुनै पनि सञ्जालमा अपलोड गर्ने आफू सम्बन्धी सामग्री तथा जानकारी अरूका निम्ति स्रोत हुन् हाम्रो व्यक्तित्व मानचित्रण गर्नका लागि। केही समयअघिसम्म साइबर सुरक्षालाई गम्भीरताका साथ नलिने कम्पनीले मात्र आफ्ना प्रयोगकर्ताका जानकारी चोर्ने, सार्वजनिक गर्ने गर्छन् भन्ने भ्रम पछिल्लो समय बिस्तारै तोडिँदै आएको छ।
इमेल सेवा प्रदायक, विभिन्न विद्युतीय भुक्तानी माध्यमका हाम्रा जानकारी बाहिरिइरहेका छन्। कति त कम्पनी स्वयंले नै हाम्रो स्वीकृतिबिना अन्य ‘थर्ड पार्टी’लाई हाम्रो प्रयोगकर्ताका जानकारी बेचिरहेका छन्।
लाखौं फेसबुक प्रयोगकर्ताका तथ्य-विवरण संकलन गरी कुनै कम्पनीले संयुक्त राज्य अमेरिकाजस्ता शक्तिशाली मुलुकमा हुने निर्वाचनलाई समेत प्रभाव पार्न सक्छ। त्यस्तो अवस्थामा हामीले अपलोड गर्ने गरेका हाम्रा बालबालिकाका फोटो तथा भिडियोमार्फत उनीहरूको व्यक्तित्व मानचित्रण गर्नु कुनै गाह्रो काम होइन। र, त्यो भइरहेको पनि छ।
यी सबै पद्धतिको वर्गीकरण ‘साइकोग्राफिक्स’अन्तर्गत गरिएको छ। त्यसैले आफ्ना सन्तानका दैनन्दिनका क्रियाकलाप, व्यक्तिगत रुचि, जीवनशैली सार्वजनिक गरिरहेका अभिभावक यसका सम्भावित जोखिमलाई लिएर सचेत हुनुपर्ने बेला आएको छ।
हो, हामीलाई थाहा छ तपाईंका छोराछोरी ‘क्युट’ छन्, तिनका ससाना क्रियाकलापले पनि तपाईंलाई आनन्दित तुल्याउँछन्। तर, त्यसलाई त्यतिमै सीमित रहन दिनुस्। आफ्नै सन्तानलाई व्यक्तित्व विवरण संकलन गरी डेटा माइनिङ गर्ने ठूला कम्पनीका साना हिस्सा बन्न दिँदा तिनको जीवन कति असुरक्षित छ भनी सबैले बुझ्ने समय आएको छ अहिले।
काठमाडौंको वसन्तपुर वरपर थर्मस र केही ग्लास बोकी चिया बेच्न हिँड्छिन् एक बालिका। त्यसो त चौधभन्दा मुनिका अरू बालबालिका पनि उनीजस्तै चिया बेच्छन्। तर, यी बालिका अरूभन्दा भिन्न छिन्। आफ्ना साथीभाइको समूहकी ‘सेलिब्रिटी’ हुन् उनी।
केही वर्षअघि त्यही बाटो हिँड्दै गरेका एक मान्छेले उनको फोटो खिची फेसबुकमा अपलोड गरे। तरकारीवाली पनि त्यसताका चर्चामा थिइन्। सामाजिक सञ्जालमा वाला र वालीहरूको प्रतिस्पर्धा चलिरहेका बेला पाकिस्तानका एक युवाले नीलो आँखा, हल्का जँगा भएका चिया बनाउने मान्छेको फोटो खिची फेसबुकमा अपलोड गरेका थिए। ‘चियावाला’ भनी चिनिन तिनलाई समय लागेन। ‘हामी पनि के कम’ भन्दै नेपालका केही युवाले वसन्तपुरमा चिया बेचिरहेकी ती बालिकाको फोटो अपलोड गरे र नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकमा ती बालिका केही समयमै ‘चियावाली’का नामले प्रख्यात भइन्।
अहिले पनि वसन्तपुर दरबार क्षेत्रतिर जाँदा त्यस घटनाको प्रभाव देख्न सकिन्छ-अन्य बालबालिकाबाट चिया किन्ने ग्राहकको संख्या र ‘चियावाली’का बाट किन्नेको संख्यामा कति ठूलो अन्तर छ। र, फेरिएको छ उनको व्यवहार पनि।
‘हामी तिमीसँग फोटो खिच्न सक्छौं ? ’ कुनै साँझ थर्मस र ग्लास बोकी चिया बेच्न भ्याइनभ्याइ यताउता कुदिरहेकी ती बालिकासँग म र मेरा साथी प्रश्न गर्छौं। आफू निकै चर्चित रहेको ज्ञात उनलाई थियो। त्यो उनको अनुहारको भावबाटै झल्किन्थ्यो।
‘फ्रीमा त हँदैन। कि चिया खानुपर्छ, कि त अलिकति पैसा दिनुपर्छ’, उनले उत्तर दिइन्।
उनको माग जायज लाग्ने पनि होलान्। त्यसो त उनीसँग फोटो खिच्छु भनी अनुमति माग्ने म नै यहाँ मिडियाले बालबालिकाको जिन्दगीमा कस्तो नकारात्मक असर पारिरहेको छ भनी लेखिरहेको छु। गल्ती ती बालिकाको होइन, मजस्ता मान्छेको हो। तर, त्यस घटनाले मलाई मिडियाले एक बालिकाको जिन्दगीमाथि पारेको यस्तो असरसँग साक्षात्कार गर्ने अवसर पनि दियो।
नयाँ कथा केही नभएको, पुरानै वाक्कलाग्दा कथाशैली दोहोर्याउँदै पछाडिको अनुक्रम मात्र फेरेर नाम यथावत् राखी पाँच चलचित्रसम्म बनाइएको ‘नाइँ नभन्नु ल’ले थुप्रै बालकलाकार नेपाली सिनेमा क्षेत्रमा भित्यायो। आठ-नौ वर्षका मात्र देखाइएका ती बालबालिकालाई बोलाइएका डाइलग याद गरौं, तिनका उमेरकाले कल्पनासम्म गर्न नसक्ने खालका छन्। एकअर्काप्रति प्रेम व्यक्त गर्दा तिनलाई गर्न लगाइएको संवाद प्राकृतिक लाग्दैनन्। अझ, ती फिल्मका प्रोमोसनका क्रममा ती बच्चासँग लिइएका अन्तर्वार्ताका भिडियो हेरौं। अनि, सबैमा दोहोरिने प्रश्न ‘तपाईंहरू बोइफ्रेन्ड-गर्लफ्रेन्ड हो ? हो भने बिहे कहिले गर्ने ? ’ जस्ता प्रश्नमा गमौं। उत्तर दिँदा लजाएका तिनका अनुहार हेरौं। तीबीच गहिरो प्रेम रहेको भन्दै जबरजस्ती प्रतिस्थापित गर्न खोज्ने अन्तर्वार्ता लिने शैली पनि ध्यान दिऔं।
एक त चलचित्रमै ती बालबालिकाको चित्रण उपयुक्त ढंगले गरिएको छैन। त्यसमाथि अन्तर्वार्ता लिनेका यी अनेक काइदा। कसैले कमाउने माध्यम बनाइरहेको छ ती बालबालिकालाई र हामी सब रमाइलो मानी हेरिरहेका छौं- नपत्याए गई ती युट्युब भिडियोमा आएका प्रतिक्रिया हेर्नुस्।
अभिभावकद्वय बलिउड कलाकार रहेका एक बालक हिन्दी मिडियाका प्रिय छन्। उनका घरअगाडि कुनै न कुनै सञ्चारमाध्यमका पत्रकार चौबीसै घन्टा तैनाथ रहन्छन्। अभिभावक वा धाईसँग निस्कन नपाउँदै दर्जनौं क्यामरा उनीतर्फ तेर्सिन्छन्। तीन वर्ष लाग्दै गरेका यी बालकका क्रियाकलाप रेकर्ड गरेर क्षणभरमै युट्युबमा राखिन्छन्। उनले स्पष्ट उच्चारण गर्नसक्ने केही शब्दबारे मात्र नभएर उनको पहिरनबारे पनि ठूलो समुदाय जानकार छ।
केही समयअघिसम्म सानो भीडमात्र देख्दा पनि डाँको छोडेर रुने ती बालकले अचेल ती क्यामरा आपूmतर्पm केन्द्रित हँदा हात हल्लाउन सिकेका छन्, मुखाकृति कस्तो पार्ने सिकेका छन्। तोतेबोलीमै ‘हाई’, ‘हेल्लो’ फर्काउन थालेका छन्। गसिप मात्र छाप्ने केही पत्रिकाले ‘स्टाइलिस’ पुरुषको सूची निकाल्दा उनको नाम अधिकांशमा अटाउने गरेको छ।
रजतपटको यो संसार के हो भन्ने थाहा नभए पनि बा-आमाको सामाजिक छविका कारण यी बालक सबैको आकर्षणका केन्द्र बन्दै गए।
चाँडै स्टार भए यी, पर्याप्त समय बालकै रहन पाएनन्।
‘छाडा बोल्ने फुच्चे’ भनी युट्युबमा कहिल्यै खोज्नुभएको छ ? छैन भने खोज्नुस्। अनि, हेर्नुहोस्। अनि हेर्नुहोस् ‘भोलि म स्कुल जान्नँ। भोलि मेरो पेट दुख्छ’ भन्ने बच्चाको भिडियो पनि। पहिलो भिडियोमा एक बालक आफ्ना घरका ठूला सदस्यलाई मुख छाड्छन्। तिनले प्रयोग गरेका कति शब्दको अर्थ थाहा पाउनै केही समय लाग्यो मलाई। अर्थ थाहा पाएपछि कति दिन मथिंगल हल्लियो। तर, तिनका परिवारले सायद त्यस्तो सोचेनन्। त्यसैले त तिनले बोलेका प्रत्येक शब्दमा हाँस्दै तिनलाई थप बोल्न प्रेरित गरिरहेका थिए पछाडिबाट। अनि, भिडियो खिचेर अपलोड गर्नसमेत भ्याए।
दोस्रो बालक भोलिपल्ट स्कुल जान नमानेर बहाना बनाइरहेका हुन्छन्। उनलाई गाली गर्दै, रुवाउँदै भिडियो खिचिरहेका उनका पिता (सायद) त्यो भिडियो अपलोड गर्छन्। एकले मात्र नपुगेर दुईवटा, एक-दुई दिनको फरकमा। बालकलाई स्कुल जान किन मन लागिरहेको छैन भन्नेतर्पm भन्दा पनि भिडियोमा कति लाइक्स आए, कतिले हेरे भन्नेतर्पm ती पिताको ध्यान केन्द्रित भएको अनुमान लगाउन गाह्रो हुन्न।
‘एकदेखि सयसम्म भन् त’, ती पिता अह्राउँछन्। ‘भन्दाभन्दै बिहान हुन्छ’, बच्चा रुँदै भन्छ। जोकोहीले सजिलै अनुमान लगाउन सक्छ, तिनलाई आउँदैन। यसको अर्थ, तिनलाई गणना सिकाउनु परिवारको दायित्व हो। तर, उनीहरू भने सारा संसारलाई हँसाउन आफ्नो बच्चाको सहारा लिइरहेका देखिन्छन्।
हामी संवेदनाहीन दर्शक भने रमाइलो मान्दै त्यस्ता भिडियो सेयर गर्छौं, हाँस्दै थपडी मार्छौं।
‘मैले तिम्रो ह्यालोविनको सबै चकलेट खाइदिएँ’ भन्दै छोराछोरीलाई अत्याई तिनको भाव रेकर्ड गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने अभिभावक पनि बच्चाका बैरी हुन्। तिनको मज्जा लिँदै हेर्ने हामी त शत्रु हौं नै।
सञ्चारमाध्यम सूचना प्रवाह गर्ने माध्यमबाट कसरी कसैको व्यक्तिगत जीवन, अझ कसैको सन्तानप्रति कति त्रूmर हुनसक्छ भन्ने कुराको उदाहरणका रूपमा हालैको एक घटनालाई लिन सकिन्छ।
भारतीय सिनेजगत्का प्रसिद्ध निर्माता तथा निर्देशक अनुराग कश्यप हालै ट्विटरबाट बाहिरिए। विभिन्न राजनीतिक विषयलाई लिएर ट्विटरमा टीकाटिप्पणी गरिरहने उनी यसरी एकाएक बाहिरिनुको कारण थियो- उनका टिप्पणीलाई लिएर उनका बाआमा तथा छोरीलाई धम्की आउनु। आफूले केही धारणा व्यक्त गर्दा छोरीलाई बलात्कारको धम्की आउने गरेका विषयमा उनले पहिले पनि ट्विट गरेका थिए। र, अति भएपछि आफ्ना कारण परिवारका अन्य सदस्य, अझ विशेषगरी छोरीलाई समस्या नपरोस् भनी आफू बाहिरिएको स्पष्टोक्ति दिए।
आममानिसका लागि सञ्चार सर्वसुलभ भइदिँदा आफ्नो व्यक्तिगत जीवनमा पर्ने असर कति जोखिपूर्ण हुन्छ भन्ने तथ्यको सामना गरिरहेका छन् कश्यप। उनका हकमा त यी सब धम्कीका लागि उनी जिम्मेवार पनि छैनन्।
यसमा गल्ती कसको ? हाम्रो। हामी सबैको। किनभने, हामी नै सञ्चार हौं।
@LuitelBibhu पोन्डीचेरी विश्वविद्यालयमा दक्षिण एसियाली अध्ययनकी विद्यार्थी हुन्।