तीनवटा आकाशे पुल थप्दै महानगर
काठमाडौं : महानगरले यो वर्ष तीनवटा आकाशे पुल बनाउने भएको छ। यस वर्षको योजना अनुरुप अहिले माइतीघरमा पुलको निर्माण सुरु गरेको छ। माइतीघरमा भने यही मंसिरसम्ममा सक्ने गरी निर्माण सुरु गरिएको हो। महानगरले पुल निर्माणका लागि कोसी बिल्डर्स मोरङलाई ठेक्का दिएको छ। कोसी बिल्डर्ससँग ६८ लाख ७३ हजार १ सय ५३ रुपैयाँमा पुल बनाउन सम्झौता गरिएको छ। सम्झौता असारमा नै भए पनि निर्माण थाल्न ढिलाइ भएको छ।
निरन्तरको झरीले काम सुरु गर्न केही ढिलो भएको महानगरका प्रवक्ता ईश्वरीमान डंगोलले जानकारी दिए। ‘सम्झौता असारमा भए पनि वर्षाका कारण केही ढिलो काम सुरु भएको हो’, उनले भने, ‘काम सम्झौता अनुरुप नै सकिनेछ।’
महानगरको पूर्वाधार विभागका अनुसार चाबहिल चोक र जयवागेश्वरीमा पनि यसैवर्ष आकाशे पुल बनाइने भएको छ। ‘अहिले माइतीघरको काम सुरु भएको छ’, विभाग प्रमुख उत्तर रेग्मीले भने, ‘यसै वर्ष चाबहिल र जयवागेश्वरीमा पनि पुल निर्माण गर्दैछौं। त्यसका लागि अहिले बोलपत्र आह्वान गरेका छौं। प्रक्रिया सकिने बित्तिकै काम सुरु हुन्छ।’
महानगरपालिकाले आव ०७४/७५ मा आफ्नो क्षेत्रभित्र १० वटा आकाशे पुल बनाउने योजना अघि सारेको थियो। महानगरले चाबहिल, जयवागेश्वरी, माइतीघर, टेकुलगायतका १० ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना बनाए पनि काम भने भएको थिएन।
महानगरले दसवटा आकाशे पुल निर्माण गर्न १२ करोड रुपैयाँ बजेटसमेत छुट्याएको थियो। काम सुरु गर्न आव ०७४/७५ लाई आधार वर्ष मानेर स्थान छनोट गरेको थियो। महानगरले पहिलो वर्षमा कम्तीमा तीनवटा आकाशे पुल निर्माण गर्नुपर्ने थियो। तर काम सुरु समेत हुन सकेको थिएन। यसको जिम्मेवारी महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागको थियो तर उसले यस वर्ष मात्र काम सुरु गरेको छ।
अहिले सबै ठाउँमा आकाशे पुल नहुँदा बटुवाले सडकबाटै बाटो काट्ने हुनाले पनि ट्राफिक जामको समस्या छ। बटुवालाई पनि आकाशे पुल नहुँदा उत्तिकै समस्या भएको देखिन्छ। सहरका मुख्य चोकमा आकाशे पुलको व्यवस्था भए ट्राफिक जाम र दुर्घटना पनि केही हदसम्म कम हुने बताउँछन् ट्राफिक प्रहरी परिसरका प्रवक्ता एसपी रविकुमार पौडेल। ‘अहिले भएका आकाशे पुल व्यवस्थित गरेर नयाँ थप्दा ट्राफिक जाममा धेरै सहजता आउँछ’, उनले भने, ‘यसले सवारी जामको समस्या मात्र नहटाइ बटुवालाई समेत सुरक्षित बनाउँछ।’