स्वचालित मार्गबाट विदेशी लगानी
काठमाडौं : सरकारले २५ क्षेत्रमा स्वचालित मार्गबाट विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गर्न लागेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७६ मार्फत २५ क्षेत्रमा स्वचालित मार्गबाट लगानी भित्र्याउन पाउने व्यवस्था गर्न लागेको हो।
स्वचालित मार्गबाट २५ क्षेत्रमा विदेशी लगानी भित्र्याउन पूर्व स्वीकृति लिन नपर्ने व्यवस्था नियमावलीमार्फत गर्न लागिएको छ। मन्त्रालयले हालै तयार पारेको नियमावलीको मस्यौदाको दफा १९ मा यस्तो व्यवस्था गर्न लागेको हो। मस्यौदालाई आगामी साता अन्तिम रुप दिएर स्वीकृतिका लागि मन्त्रिपरिषद् कार्यालय पठाउने तयारी छ। मन्त्रालयले नियमावलीमार्फत एक सय बेडभन्दा बढी क्षमता भएका होटल व्यवसाय (पाँचतारे), अटोमोबाइल उत्पादन तथा एसेम्ब्लिङ गर्ने, कृषि औजार उत्पादन कारखाना, रासायनिक वा जैविक मल उत्पादन, टेक्सटाइल, टेक्नोलोजी पार्क तथा आईटी क्षेत्रमा स्वचालित मार्गबाट विदेशी लगानी भित्र्याउन पाउने व्यवस्था गरेको छ।
मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईकाअनुसार यसबाहेक औद्योगिक व्यवसाय ऐन २०७३ को अनुसूची ५ को क्रम संख्या १६ मा उल्लेखित घर तथा आवास भवन बाहेकका अन्य निर्माण उद्योगमा पनि यो प्रणालीमार्फत वैदेशिक लगानी भित्र्याउँदा पूर्व स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ।
यो व्यवस्थाअनुसार अनुसूची ५ को घर तथा आवास भवनबाहेक थप १७ क्षेत्रमा स्वचालित मार्गबाट वैदेशिक लगानी भित्र्याउन प्रक्रिया पूरा गरेकाले पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ। यसअनुसार सडक–पुल–सुरुङ, रोपवे–रेलवे–ट्राम–ट्रलिबस–केबल कार–मोनोरेल र स्लाइडिङ कार, हवाई मार्ग–विमानस्थल, औद्योगिक संरचना तथा पूर्वाधार कम्प्लेक्स, सभा सम्मेलन केन्द्र, ढल तथा ढल निकास, खानेपानी आपूर्ति तथा वितरण, सिँचाइ पूर्वाधार, खेलकुद गृह–रंगशाला, सवारी पार्किङस्थल–पार्किङ गृह, निर्यात प्रशोधन, विशेष आर्थिक क्षेत्र, कार्गो कम्प्लेक्स, दूषित पानी प्रशोधन केन्द्र, टेलिफोन टावर–अप्टिकल फाइबर नेटवर्क–भू–उपग्रह, भू–उपग्रह प्रशारण केन्द्र, फिल्म सिटी निर्माण–फिल्म स्टुडियो निर्माण र व्यापारिक कम्प्लेक्स छन्।
भट्टराईकाअनुसार नेपालमा पहिलोपटक पूर्व स्वीकृति लिनुनपर्ने गरी स्वचालित मार्गबाट २५ क्षेत्रमा विदेशी लगानी भित्र्याउन पाउने व्यवस्था गर्न लागिएको छ। ‘नियमावलीमार्फत नयाँ व्यवस्था प्रस्ताव गरेका छौं’, प्रवक्ता भट्टराईले भने, ‘अन्य मुलुकमा सबै क्षेत्रमा स्वचालित मार्गमार्फत पूर्व स्वीकृति लिनु नपर्ने गरी विदेशी लगानी भित्र्याउन पाउने व्यवस्था छ। हाम्रोमा पनि यसको सुरुआत गर्न लागेका छौं।’
उनकाअनुसार विदेशी लगानी स्वीकृति गर्ने निकायले विदेशी लगानीका लागि स्वीकृति तथा अन्य प्रक्रिया मान्यता प्राप्त विद्युतीय माध्यम (अनलाइन)बाट सम्पादन गरेपछि २५ प्रकारका क्षेत्रमा विदेशी लगानी भित्र्याउन पूर्व स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ। नियमावलीले विदेशी लगानी प्रक्रियालाई सरल, सहज र स्वचालित बनाउन कानुनअनुसार उद्योग दर्तादेखि स्वीकृति प्रक्रियासम्बन्धी सेवा, उद्योगको प्रकार, उद्योगको प्रकृति वा लगानीको सीमालगायत विषय तोकेर स्वचालित मार्गबाट कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको छ।
भट्टराईले भने, ‘स्वचालित मार्ग स्वीकृति प्रक्रियासम्बन्धी व्यवस्था सरकारले राजपत्रमा सूचना जारी गरी कार्यान्वयनमा ल्याउन सक्ने व्यवस्था गरिएको छ।’ स्वचालित मार्गबाट लगानी गर्दा लगानी गर्न चाहेको उद्योगमा गर्ने लगानी बैंकिङ प्रणालीबाट भित्र्याएर ३० दिनभित्र उद्योग विभाग र राष्ट्र बैंकलाई दिएर निर्माण कार्य सुरु गर्न सकिने मन्त्रालयले जनाएको छ। स्वचालित मार्गबाट सात क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रियामा जानेको हकमा लगानीको परिमाणको सीमा भने तोकिएको छैन।
स्वचालित मार्गबाट लगानी गर्न सकिने उद्योगको सूची भने सरकारले सूचना प्रकासित गरी हेरफेर गर्न सक्ने व्यवस्था नियमावलीमार्फत गरेको छ। लगानी गर्दा विद्युतीय माध्यमबाट विभागलाई जानकारी दिएर उद्योग निर्माण गर्न सक्ने र सबै प्रक्रिया पूरा गरेको ६ महिनाभित्र कम्पनी संस्थापन र उद्योग दर्ताको काम सम्पन्न गरिसक्नुपर्ने व्यवस्था नियमावलीमार्फत गरिएको छ।