विश्वका कम्युनिस्ट टर्कीमा
काठमाडौं : विश्वका कम्युनिस्ट पार्टीका प्रतिनिधि २१ औँ बैठकका लागि टर्कीमा भेला भएका छन्। टर्कीको इज्मिरमा आयोजित विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको बैठकमा नेपाल कम्युनिस्ट पार्टीले पनि सहभागिता जनाएको छ।
नेकपाले आ–आफ्ना देशका मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिस्ट पार्टीलाई लोकप्रिय ,जनमुखी र बलियो बनाउन सक्दा मात्र परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएको छ।
नेकपाका तर्फबाट केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाले यसैमा जोड दिएका कारण लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रूपमा स्थापित भएको बताए।
६० देशका ७५ कम्युनिस्ट पार्टीहरूको सहभागिता रहेको उक्त बैठक टर्की र ग्रीसका कम्युनिस्ट पार्टीले संयुक्त आयोजना गरेका हुन्। विश्वका सबै खालका कम्युनिस्ट पार्टीहरूको साझा मञ्चका रूपमा रहेको कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी)नामक उक्त मञ्च सन् १९९८ बाट हरेक वर्ष आयोजना हुँदै आएको छ।
सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिस्ट इन्टरनेशनल’ स्थापना भएको सय वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मूल नारा ‘कम्युनिस्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौं वार्षिकोत्सव, शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ। शुक्रबार सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ।