विगारियो विश्व सम्पदाको स्वरुप, निरीक्षण गर्न युनेस्को मिसन नेपालमा
काठमाडौ : काठमाडौं उपत्यकामा सातवटा सम्पदाहरु विश्व सम्पदा सूचीमा सूचिकृत छन्। ०७२ को भूकम्पपछि यी सबै सम्पदामा धेरथोर क्षति पुगेको छ। काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्रमा रहेका सम्पदा पुनर्निर्माणकै क्रममा छन्। तर प्राचीन पद्धतिलाई भने पूरै वेवास्ता गरिएको छ।
यी सम्पदा क्षेत्रमा हाल बालुवा र सिमेन्टको संरचना बन्न थालेका छन्। सरकारको वेवास्ता र पुरातत्व विभागको लापरबाहीका कारण सम्पदा क्षेत्र कंक्रिटमय बन्न थालेका हुन्। सम्पदा क्षेत्रमा भइरहेको कामको निरीक्षण गर्न भन्दै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) मिसन नेपालमा छ। नेपालका विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाको अडिटर अध्ययनका लागि मिसन नेपाल आएको हो।
मिसन अन्तर्गत नेपाल आएका डा.गामिनी विजिसुरिया र क्याथरिन फोर्कले एक हप्ता नेपालमा बसेर विश्व सम्पदा सूचीमा परेका यहाँका हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार,चागुनारायण मन्दिर, बौद्धनाथ क्षेत्र, स्वयम्भूनाथ र पशुपति क्षेत्रमा निरीक्षण गरेका छन्।
निरीक्षणमा आएको युनेस्कोको ‘रियाक्टिभ मोनिटरिङ मिसन’ले भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रका सम्पदा पुनस्थापना र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिएको छ। शनिबार बौद्ध, पशुपतिनाथ र भक्तपुर दरबार क्षेत्रको निरीक्षण गरेको युनेस्कोको टोलीलाई प्रदेश नम्बर ३ का सांसद राजेश शाक्यले पुनर्निर्माणको कार्य मापदण्ड अनुसार नै भइरहेको जानकारी गराएका छन्।
सम्पदाको आफैंले अवलोकन गरेको मिसनका तर्फबाट पुनर्निर्माण कार्यको अभिलेखिकरण राख्न र पुनर्निर्माणको गुणस्तरमा ध्यान दिन नेपाललाई सुझाइएको छ। भूकम्पपछि काठमाडौं उपत्यकामा सम्पदा पुनर्निमार्णको काम सन्तोषजनक छैन। उपत्यकाका अधिकांश सम्पदा क्षेत्रको पुनर्निर्माणले गति लिन सकेका छैनन्। सम्पदा निर्माणलाई ठेक्कामा लगाउँदा सम्पदा क्षेत्र सपिङ कम्प्लेक्स जस्तै बनेको छ।
भत्काएर अलपत्र छाेडिएकाे पशुपति क्षेत्रकाे भान्सा घरकाे भवन । तस्बिर : सपना महर्जन
हनुमानढोका दरबार क्षेत्रमा महर्जन कम्प्लेक्सको निर्माण, पशुपति श्लेश्मान्तक वनमा निर्माण भएको सडक, विश्वरुप मन्दिर पुनर्निर्माणका क्रममा कंक्रिटको प्रयोग, वन फाँडेर बनाइएको मृगस्थली, वनकालीको कंक्रिटमय पार्क सम्पदाको संरक्षणमा पेचिलो प्रश्न बन्दै आएको छ। पशुपतिनाथका भण्डारी केदारमान भण्डारीले पशुपति क्षेत्रमा विकासको नाममा ५० प्रतिशत वन फडानी भएको बताए। ‘भूकम्पपछि धमाधम वन मासिन थालिएको छ,’ उनले भने, ‘आधुनिक पार्क निर्माणले पशुपतिका कतिपय पूजा आरधनासमेत रोकिएका छन्।’
यस्तै समस्या अन्य सम्पदा क्षेत्रमा पनि छ। चागुनारायण क्षेत्रको अस्तव्यस्तता, स्वयम्भूनाथ मन्दिर वरपर बनेका कंक्रिटका संरचना, बौद्धनाथ स्तुपमा ठोकिएको किल्लाका विषयमासमेत पछिल्लो समय आलोचना भइरहेको छ। युनेस्कोको ४४ औं बैठकमा काठमाडौं उपत्यकाका सम्पदा खतरामा पर्ने आधारहरू खडा भएको प्रष्ट बुझिन्छ। यसअघि युनेस्कोको ४३ औं सेसनमा काठमाडौं उपत्यकामा रहेका ७ ओटा विश्व सम्पदा सूचीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अघि सारिएको थियो। तर नेपालमा पुनर्निर्माण जारी रहेको भन्दै तत्काल खतराको सूचीमा नराख्न नेपालको तर्फबाट लबिङ भयो।
अजरबैजानमा भएको उक्त बैठकले नभन्दै युनेस्कोको तर्फबाट एक वर्षको लागि नेपालका सम्पदालाई खतराको सूचीमा नराख्ने निर्णय गर्यो। सोही बैठकमा युनेस्कोको अडिट मिसनले नेपाल आएर दिने प्रतिवेदनलाई आधार मानेर यहाँका सम्पदालाई खतराको सूचीमा राख्ने कि नराख्ने निर्णय गरिनेसमेत जानकारी गराएको थियो।
नेपालले सम्पदाको संरक्षणमा तदारुकता नदेखाएकै कारण ती सम्पदाहरु खतराको सूचीमा पर्नसक्ने भन्दै युनेस्कोले बारम्बार चेतावनी दिँदै आएको छ। २००३ मा नेपालका सम्पदा खतराको सूचीमा परिसकेको छ। पछि २००७ मा नेपाल खतराको सूचीबाट बाहिर निस्कियो। हाल पुनः सम्पदालाई आँच आउने निर्माण कार्य भइरहेका छन्। यसले नेपाल फेरि खतराको सूचीमा पर्ने निश्चित बनेको छ। तर नेपाल सरकारले यस विषयलाई गम्भीर रूपमा लिएको छैन। युनेस्कोलाई कामचलाउ प्रतिवेदन दिएर चेतावनीबाट बच्ने कार्य पनि गर्दै आएको छ।
सम्पदा क्षेत्रमा संरचना निर्माण गरिरहेकाहरुले पुरातत्वको अनुमति र निरीक्षणमा नै काम गरेको बताउँदै आएको छ। नेपाल सरकार, पुरातत्व र नगरपालिकाबाटै बिहार, गुम्बामा सिमेन्टको प्रयोग गर्न अनुमति लिएको आर्किटेक राजेश श्रेष्ठले बताए। स्वयम्भू परिसरमा सिमेन्टले बनेको बिहारको बारेमा बताउँदै श्रेष्ठले भने, ‘अहिले निर्माण प्रक्रिया गलत भएकोमा विरोध भए पनि सबै कार्य सम्बन्धित निकायको अनुमतिमा भएको हो।’
भूकम्पबाट काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रका १४० वटा सम्पदामा क्षति पुगेको थियो। हालसम्म ९० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएका छन् भने अन्यको पुनर्निर्माण जारी छ। पुननिर्माण भइरहेका अधिकांश संरचना मापदण्ड विपरित छन्।
भूकम्पले भत्काएको स्वयम्भू क्षेत्रको बिहार । जसलाई ढलान गरेर धमाधम निर्माण गरिएको छ । तस्बिर : सपना महर्जन