‘कर तिर्ने दायित्व घरधनीकै हो’
काठमाडौं : काठमाडौंको इन्द्रचोक नजिक व्यापार गर्छन् हरिराम श्रेष्ठ। पसल सुरु गरेको करिब १० वर्ष भयो। घरधनीलाई मासिक ६० हजार भाडा बुझाउँछन्। घरधनीले बहाल कर बुझाउनुपर्ने हो। तर, उनका घरबेटीले तिर्दैनन्। आफैं तिर्छन्। ‘घरबहाल तिरेपछि कर तिर्ने दायित्व घरधनीको हो,’ उनी भन्छन्, ‘तर के गर्नु तिर्दैनन्। आफंैले तिर्नुपर्छ।’ नतिरी धर छैन। उनको पसल पानमा दर्ता छ।
कारोबार गर्न बहाल कर बुझाएको रसिद चाहिन्छ। ‘भाडा खानेले बुझाउँदैनन्। नबुझाउँदा आफ्नो कारोबार रोकिन्छ,’ उनले भने, ‘साहुसँग सम्झौता गर्न खोज्दा बरु निक्लेर जान भन्छन्।’
पुतलीसडकका रविन गौतमले घरबेटीसँग सम्झौता गरेका छन्। तर, सम्झौताअनुरूप व्यावहारिक रूपमा काम नहुने उनले बताए। ‘सम्झौता नै फर्जी हुन्छ,’ उनले भने, ‘सम्झौतामा ५ हजार भाडा देखाइएको छ।’ तर, उनी १० हजार भाडा तिर्छन्। ‘बहाल कर घरधनीले तिर्नुपर्ने हो तर आफैं बुझाउँछु’, उनले भने, ‘यो सबै कुरा वडा कार्यालयलाई पनि थाहा छ,’ उनले भने। उनीहरूले घरबेटीबाट कर उठाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। आफूजस्तै अधिकांश भाडावाल दोहोरो मारमा परेको उनले गुनासो गरे।
धेरैले कर तिर्दैननमहानगरका अधिकांश घरले संस्था, व्यापारी, डेरावाल गरी ३ किसिमबाट बहालमा लगाएका छन्। संस्थागत र व्यापारीलाई लगाएको बहालकर तिर्ने गरे पनि डेरामा बस्नका लागि लगाइएको भाडाबापत रकमको कर अधिकांश घरधनीले तिरेका छैनन्।
०६८ सालको जनगणनाअनुसार काठमाडौं महानगर–३० मा ६ हजार ८ सय घर छन्। वडा कार्यलयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ सय २५ जनाले बहाल कर तिरेका छन्। कार्यालयका कर्मचारी धु्रव भट्टका अनुसार अधिकांश घरले घर बहालमा लगाएका छन्। तर, आधाले पनि कर तिर्दैनन्। ‘बहाल कर सबैले तिर्दैनन्,’ उनले भने, ‘तिर्नेमा पनि व्यापारी र संस्थालाई भाडा लगाएको मात्र बुझाउँछन्।’
वडा कार्यालय २९ मा ७ हजार हाराहारी घर संख्या छ। गत आर्थिक वर्षमा यस वडामा २३ सय २९ जनाले मात्र बहाल कर बुझाए। बुझाउनेमा सबै संस्थागत र व्यापारिक प्रयोजनका भाडा लगाउनेहरू छन्। महानगरका अधिकांश वडामा घरबेटीले बस्ने कोठा वा फ्ल्याट भाडामा लगाएबापत कर बुझाउँदैनन्। बरु बहाल कर बढेको छ भन्दै डेरावालासँग बर्सेनि भाडा बढाउँछन्। बहालकर बुझाउनुपर्ने अनिवार्य कानुन नभएकाले धेरैले नबुझाउने गरेको वडा कार्यालय २९ का सचिव सुवोद खड्काले बताए। ‘सचिव खड्काले भने, ‘आपूmखुसी आएर बहाल कर बुझाउनुपर्ने हो। तर, घरबेटीले कतिसम्म गर्छन् भने भाडा लगाएको घरमा पनि भाडा लगाएको छैन भनी जनप्रतिनिधिलाई सही गराएर ल्याउँछन्।’ तर, आम्दानी देखाउनुपरे कतिपय साहु बहाल कर बुझाउन वडा कार्यालय जान्छन्। छोराछोरी विदेश पठाउन वा बैंकबाट ऋण लिन आम्दानीको स्रोत देखाउनुपर्छ। यस्तो अवस्थामा एउटा कोठा भाडामा लगाएको समेत देखाउँदै कर तिर्न आउने गरेको सचिव खड्काले जानकारी दिए।
सामान्यतया घरधनी र भाडावालबीच सम्झौता गरेर भाडामा बस्नुपर्ने प्रावधान छ। ‘कर बुझाउनुपर्छ भनेर भाडावालसँग कसैले पनि सम्झौता गर्न मान्दैनन्,’ उनले भने, ‘हामीकहाँ आउने अधिकांश व्यापारीले नै घरबेटीको भाडा बुझाइदिने गरेका छन्।’
मापदण्ड छैन
महानगरसँग कहाँ–कति बहाल कर उठाउने मापदण्ड छैन। भाडा कहाँ कतिको दर छ भन्ने रेकर्ड पनि छैन। महानगरले तोकेको पनि छैन। बहाल कर १० प्रतिशत बुझाउने ऐनमा व्यवस्था छ। तर, कतिको १० प्रतिशत ? कतिमा बहाल लगाएको त्यसको १० प्रतिशत कति हो। कसले कतिमा भाडा लगाएको छ, महानगरसँग रेकर्ड नै छैन। घरधनीलाई कर तिराउने प्रावधान पनि महानगरसँग छैन। अधिकांशले न्यूनतम पाँच हजारमा भाडा लगाएको भनी बहाल कर बुझाउने गरेका छन्।
कालोपुल–मैतीदेवी आसपास न्यूनतम एउटा सटरको ५ देखि १५ हजारसम्म भाडा छ। पुतलीसडक आसपास १० देखि ३० हजारसम्म छ। त्यस्तै, असन आसपासमा ५० हजारदेखि २ लाखसम्म भाडा छ। तर, सबैले न्यूनतम ५ हजारमा भाडा दिएको भन्दै कर बुझाउने गरेका छन्। कालोपुलका रविन गौतम १० हजारमा भाडा तिर्छन्। तर, कर आफैंले बुझाउनुपर्ने भएपछि न्यूनतम ५ हजार देखाएर कर तिर्ने गरेको उनले बताए। वडा २९ का कर्मचारी धु्रव भट्टले बहाल करमा स्वघोषित प्रणाली रहेको बताए। स्वघोषित प्रणालीमा आफ्नो दाबीअनुसार कर तिर्ने व्यवस्था छ।
कर तिर्ने बानी बसाल्न आफ्नो दाबीबमोजिम बहाल कर लिने गरेको महानगर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले बताए। उनले भने, ‘सबैलाई कर तिर्न उत्प्रेरित गर्न स्वघोषित प्रणाली राखेका हौँ।’ बहाल करलाई पनि मापदण्ड बनाएर उठाउने योजना रहेको उनले बताए। आगामी आर्थिक वर्षदेखि क्षेत्रगत रूपमा सम्पत्ति करजस्तो दर तोकेर उठाउने उनको भनाइ छ।
बहाल करकै राजस्व धेरै
महानगरले ०७५/७६ मा ९ अर्ब, ६४ करोड, २४ लाख ८० हजार राजस्व उठाएको छ। सम्पत्ति बहाल करबाट मात्रै १ अर्ब ३३ करोड ७७ लाख १२ हजार ६ सय ९९ रूपैयाँ उठेको महानगरले जनाएको छ। महानगरले सम्पत्ति, बहाल, मनोरञ्जन, विज्ञापन, सवारी, व्यवसाय, शुल्क, दस्तुर, दण्ड जरिवाना, मालपोत घरजग्गालगायत क्षेत्रबाट कर उठाउने गरेको छ।