४८ वर्षदेखि सिन्धुलीका १ हजार परिवार लालपूर्जाविहिन
भिमान (सिन्धुली) : सिन्धुलीको कमलामाई नगरपालिका–९ का १ हजार ३३ परिवार ४८ वर्षदेखि लालपूर्जाविहिन छन्। जिल्लाको दोस्रो ठूलो व्यापारीक केन्द्र भीमान बजारका ८५ प्रतिशत जग्गाको लालपूर्जा नभएको पाइएको छ। उक्त वडाका वडाध्यक्ष देवराज पौडेलका अनुसार भीमान बजारका साथै पन्नेसी, सुकेखोला, बथानचौडी, कोरुङखोला, हमाहलगायत आधा दर्जन बस्तीमा बसोबास गर्नेको लालपूर्जा छैन।
२४ दशमलव २२ वर्गकिलोमिटर क्षेत्रफल भएको वडामा करिब १३ सय घरधुरी छन्। उक्त वडामा ४ हजार ९ सय ३४ जनसंख्या छ। त्यसमध्ये ८५ प्रतिशत ऐलानी जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका छन्। यो तत्कालीन समयमा कमलामाई नगरपालिका गठन नहुँदाको सिंगो भीमान गाविस हो। २०५३ सालमा तत्कालीन शिद्देश्वर र भीमान गाविसलाई एकै ठाउँमा गाभेर कमलामाई नगरपालिका बनाइएको हो। भीमान बजारमा मात्र झण्डै चार सयबढी ठूला पक्की घर निर्माण भइसकेका छन्।
करोडौं रुपैयाँको लागतमा बनाएका आवास स्थानीयले आफ्नो भन्न पाएका छैनन्। त्यो जग्गा कसरी लिए र उनीहरु बस्ने आधार र अधिकार के हो भन्ने कुराको पनि खोजी भएको छैन। ‘२०२८ सालको नापीमा छुटेपछि वडाको आधा दर्जन बढी बस्ती लालपूर्जाविहिन भएको हो’, अध्यक्ष पौडेलले, ‘त्यति बेला जिल्लाको दुर्गम क्षेत्र थियो। जग्गाको महत्व पनि थिएन। जग्गा दर्ता गराउँदा तिरो तिर्नु पर्ने डरले जग्गा धनीले आफ्नो जग्गा नापी नगराएको हुन सक्छ। अहिले जिल्लाकै दोस्रो ठुलो ब्यापारीक केन्द्र बनेको छ। तर लालपूर्जा छैन।’
करिब १३ सय घरधुरी रहेको वडाका १ हजार ३३ परिवारले आफु बसोबास गर्दै आएको घर जग्गा नापी गरिदिन वडा कार्यालयमा निवेदन दिएको वडा सचिव मुकेश तामाङले जानकारी दिए। २०२८ सालमा नापी टोली आउँदा कमला नदी किनारको खेत नपाएका स्थानीय २०४१ र २०५१ सालको बाढीले कमला नदी किनारका खेत बगाएपछि अहिले वडाको अधिकांस बस्ती लालपूर्जा नभएको ठाउँमा सरेका थिए।
नापी, नक्सा र लालपूर्जा भएका खेत कमला नदीले बगाएर बगरमा परिणत भएको छ। यहाँको चुरेबाट बगेर आउने खहरे कमला नदीमा मिसिएर धेरै खेती योग्य जमिन कटान गरेको छ। यसले पनि भीमानवासीलाई लालपूर्जाविहिन बनाएको स्थानीय वासिन्दा तथा शिक्षक शालिग्रामप्रसाद पौडेलले बताए। भिमान बजार हुँदै अधिकांस बस्ती छोएर बनेपा बर्दिवास विपी राजमार्ग बनेको छ। सडक खुल्नुअघि सिन्धुलीबाट कमलाखोंच क्षेत्र प्रबेश गर्ने नाका भीमान बजार भएकाले यहाँ पहिले देखिनै व्यापारीक चहलपहल थियो। ‘वर्षौदेखि घर गृहस्थी गरेर बस्नेलाई समस्या भएन तर, घर जग्गा विक्री गर्न र व्यापार व्यवसायीका लागि लालपूर्जा नहुँदा समस्या भएको छ’, पौडेलले भने।
स्थानीय जानकार आशिष कार्कीका अनुसार तत्कालीन समयमा नापी हुँदा बजार मुनिको जग्गालाई मात्र सिमाना बनाएर डिभर्केशन (पोल गाड्ने) गरिएको थियो। वन कार्यालयले उक्त बस्ती बसेको जग्गा गाउँ पञ्चायतको हुने व्यवस्था गरेको थियो। बर्षौंदेखि घर जग्गाको नापी नक्सा नहुँदा सरकारले बस्ती उठाउने होकी भन्ने चिन्ताले दिनरात सताउने गरेको स्थानीयको भनाइ छ। भीमानबासीलाई सुकुम्बासी समस्या समाधान आयोगले लालपूर्जा वितरणका लागि पहल गरे पनि दिन भने सकेको छैन।