राष्ट्रपति भण्डारी जापान जाँदै

राष्ट्रपति भण्डारी जापान जाँदै

काठमाडौं : म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान जापान जाँदै छिन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । 

जापानी सम्राट् नारुहितोको राज्याभिषेकमा सहभागी हुन भण्डारी जापान जान लागेकी हुन् । समारोह पछि राष्ट्रपतिले जापानका सम्राट श्रीमान् नरुहितोले आयोजना गरेको भोजमा सहभागी हुने छिन्।

जापान भ्रमणमा रहँदा भारतीय राष्ट्रपति रामनाथ कोविन्द र जापानका प्रधानमन्त्री शिन्जो आबेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाली प्रतिनिधिमण्डलको टोली कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपति भण्डारी म्यान्माली समकक्षी विन मिन्तको निमन्त्रणामा बुधबार २७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपिडो पुगेकी हुन्। राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारी, सञ्चारकर्मीलगायत सहभागी छन्।

नेपाल-म्यान्मा पर्यटनमा सहकार्य

नेपाल र म्यान्माबीच पर्यटन र सांस्कृतिक क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको छ। म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र त्यहाँकी स्टेट काउन्सिलर आङ साङ सुचीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

म्यान्माको राजधानी नेपिडोस्थित प्रेसिडेन्सियल हाउसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र त्यहाँका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्यो तिनले हस्ताक्षर गरी समझदारीपत्र आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुचीबीच वार्ता भएको थियो। उनीहरूले द्विपक्षीय सम्बन्ध र महिला नेतृत्वबारे छलफल चलाएका थिए। प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगलाको खाडी प्रयास (बिम्स्टेक) सदस्य मुलुकका नाताले त्यसको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारी र म्यान्माली समकक्षी विनबीच पनि प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको छ। त्यस क्रममा नेपाल र म्यान्माबीच सहकार्यबारे छलफल भएको थियो। लुम्बिनी भ्रमण गर्न म्यान्माका नागरिकलाई प्रोत्साहन प्रस्ताव राष्ट्रपति भण्डारीबाट राखिएको थियो। बिहीबार बिहान राष्ट्रपति भण्डारीलाई म्यान्माको सेनाले सम्मान गारद ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो।

जापानका  सम्राट्​ नारुहितो कस्ता छन् ?
५९ बर्से नारुहितो दोस्रो विश्व युद्धपछि जन्मेका पहिलो सम्राट हुन् । जो पूर्णतया आफ्ना अभिभावक (आमबुवा) को काखमा मात्र हुर्किए।

उनी औपचारिक तवरबाट कुनै पनि विश्वविद्यालयमा अध्ययन गरी स्नातक हुने पनि पहिलो सम्राट बनेका छन्। यसका साथै उनी पहिलो जापानी सम्राट हुनेछन्, जसले विदेशमा उच्च शिक्षा हासिल गरेको छ।

जापानी इतिहासमा करिब २ सय वर्षयता कुनै सम्राटले गद्दी त्यागेको यो पहिलो अवसर हो र नारुहितो त्यसयता गद्दी त्यागपछि पिता जीवितै हुँदा राजगद्दी सम्हाल्ने पहिलो सम्राट बनेका छन् ।

नारुहितो अवकाश लिन लागेका सम्राट अकिहितोका ३ सन्तानमध्ये जेठा हुन्। जापानी राजपरम्पराअनुसार उनी धाईआमा, नर्स र शिक्षकहरूको छत्रछायाँमा हुर्किएनन्।  उनलाई साम्राज्ञी मिचिको आफैंले हुर्काइन्। साम्राज्ञी मिचिको राजपरिवार सर्वसाधारणसँग नजिकिन सामान्य जापानीले जस्तै नारुहितोका लागि आफैं खाजा बनाएर स्कुल पठाउने गर्थिन्।

मध्यकालीन युरोपेली जल यातायात विषयको विद्यार्थीका रूपमा नारुहितोले अक्सफोर्ड विश्वविद्यालयमा २ वर्ष अध्ययन गरेका छन्। उनले अक्सफोर्डमा पढ्दाको समय जीवनकै सबैभन्दा रमाइला क्षण भनेर बताउने गरेका छन्।

परिवारप्रति समर्पित

नारुहितो आफ्नो परिवार र पत्नी मासाकोप्रति अत्यन्त समर्पित छन्। उनले राजदरबारको परम्परा तोडेर कूटनीतिज्ञ मासाको ओवादासँग प्रेम विवाह गरे। अहिले मासाको ५५ वर्षकी भइन्। उनले मासाकोलाई पहिलोपल्ट एउटा कन्सर्टमा देखेका थिए। तर मासाकोले उनका सुरुवाती प्रेम प्रस्ताव धेरैपल्ट अस्वीकार गरिन्। त्यसपछि मात्र उनीहरूबीच निकै वर्ष प्रेम सम्बन्ध रह्यो । जुन अन्ततः दरबारले स्वीकार गरेपछि  दाम्पत्यमा परिणत भयो।

नारुहितो–मासाको बिहेको करिब एक दशकपछि सन् २००३ को अन्त्यतिर मासाको सार्वजनिक कार्यक्रममा देखिन छाडिन् वा सर्वसाधारणको नजरबाट ‘लोप’ भइन्। यसलाई परम्परागत औपचारिक शाही कर्तव्यको बोझ र उनका आकांक्षा तथा व्यक्तिगत जीवनबीच तादाम्यता गर्न नसक्दा उब्जेको ‘एडजस्टमेन्ट डिस्अर्डर’का रूपमा व्याख्या गरियो।

नारुहितो आधुनिक कालमा आफूपछि पुरुष उत्तराधिकारी नभएका पनि पहिलो सम्राट भएका छन्। उनकी एउटी छोरी आइको अर्थात् प्रिन्सेस तोसी छिन्। आइको १७ वर्षकी भइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.