१२ औं राष्ट्रिय जनगणनाको तयारी : माघमा नमुना जनगणना
काठमाडौं : प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको क्रममा १२ औं जनगणना हुने भएको छ। केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी १२ औं जनगणनाको समय तालिका, लोगो र मूलनारा सार्वजनिक गरेको छ।
आगामी २०७८ को जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म जनगणना गर्ने जानकारी विभागले दिएको छ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेकाअनुसार १२ औं राष्ट्रिय जनगणनामा प्रदेश गणना अधिकारी, जिल्ला गणना अधिकारी, कार्यालय सहायक, लेखा, कार्यालय सहयोगी, स्थानीय जनगणना अधिकारी अधिकृत, सुपरिवेक्षक र गणक गरी कुल ५४ हजार चार सय १३ जना परिचालन गर्ने भएको छ।
विभागले जनगणनाको समयमा नेपाली नागरिकलाई सकेसम्म आ–आफ्नै घरमा रहन आग्रह गरेको छ। जनगणनाका लागि ३६ करोड २७ लाख रुपैयाँ बिनियोजन गरिएको छ।
विभागले २०६८ मा भएको पछिल्लो अर्थात् ११ औं जनगणनाजस्तै घरघर पुगेर सम्पूर्ण नेपालको पूर्ण लगत लिने काम गर्ने जानकारी दिएको छ। नेपालमा पहिलो पटक १९६८ मा पहिलो पटक जनगणना भएको थियो।
माघमा नमुना जनगणना
विभागले १२ औं जनगणनालाई पूर्ण रुपमा सफल पार्न त्यसपछि नमूना जनगणना गर्न लागेको छ। नमूना जनगणना आगामी माघ १ गतेदेखि चैत ३० गतेसम्म गर्न लागिएको छ।
प्रत्येक प्रदेशको दुई जिल्ला गरी १४ जिल्लाको ५५ वटा वडामा नमूना जनगणना गर्न लागिएको हो।
प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडौं, गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ को रुपन्देही र प्युठान, सुदुरपश्चिम प्रदेशको कैलाली र दार्चुला तथा कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा नमुना जनगणना गर्न लागिएको छ।
विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने,‘नमुना जनगणना गर्दा हुने कठिनाई, प्राविधिक समस्या र अन्य प्रकारको समस्याहरुबाट पाठ सिकेर १२ औं जनगणनाको लागि आवश्यक तयारी गर्नेछौं।’
नमुना जनगणनाको लागि सुपरीवेक्षक १५, गणक ६० र अन्य ४७ गरी कूल एक सय २२ जना परिचालन गरिनेछ। नमुना जनगणनाको लागि एक करोड १७ लाख रुपैयाँ बिनियोजन गरिएको छ।