सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाडेको छ। पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यालय दोलखा पुगेपछि गुरुङ आइतबार नै अदालतमा उपस्थित भएका थिए।
ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित भएर बयान दिएपछि उनलाई अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।सांसद गुरुङले यो राजनीतिक मुद्दा भएको बताएका छन्। गुरुङमाथि २०७४ को स्थानीय चुनाव लगत्तै दोलखाका वीरध्वज खड्कामाथि गौशालामा आक्रमण गरेको आरोप छ।
आक्रमणमा उनको संलग्नता रहेको भन्दै खड्काले महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। गुरुङ प्रतिनिधिसभाको चुनावमा दोलखाबाट निर्वाचित सांसद् हुन्।